कविता : पितृ- आलोक

~सोमनाथ सुवेदी~

छातीमा जून टाँसिएको
आकाश देखाएर
मेरी हजुरआमाले
मलाई स्वर्ग चिनाउनुभयो !

सुकिलो जून देख्ता आकाशमा
लोभिएर त्यसैत्यसै
म जूनलाई बोलाउँथे
बसेर हजुरआमाको काखमा
रिसाउँथे कहिले
आँगनमा नआउने जूनसित
हाँसेर थोते हाँसो
समाएर मेरा साना औँला
देखाएर आकाशको सफा जून
मेरी हजुरआमाले
मलाई देउतीमाता चिनाउनुभयो ।

आकाशबत्ती बालेर हजुरआमा
उज्यालो पठाइदिनुहुन्थ्यो आकाशमा
थाली लिएर हातमा
पूजा गर्नुहुन्थ्यो देउतीमाताको
जब बादलले पुरिन्थ्यो आकाश
धूवाँमा गुम्सिएको दुम्सीझैँ
बिचरा देउतीमाता !
गुम्सिनुहुन्थ्यो आकाशमा
सुम्सुम्याउँदै
मेरो बालक अनुहार
आकाशकी देउती छोप्ने
बादल देखाएर
मेरी हजुरआमाले
मलाई राक्षस चिनाउनु भयो ।

बसाएर बूढो काखमा
चुसाउँदै सुकिसकेको लाम्टो
आकाशबाट
खस्तै गरेको तारा देखाएर
मेरी हजुरआमाले
मलाई पापको कथा सुनाउनु भयो …….
धर्म छाडे भने,
देउता पनि खस्छन् स्वर्गबाट !!

– भोजपुर, नेपाल

(स्रोत : मधुपर्क २०६७ फागुन – गोविन्द गोठाले विशेष)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.