~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
उहिले-उहिलेको कथा हो यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ-आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो हरियो थियो र त्यसभित्रका सबै केराउ पनि हरियै । त्यसो भएकाले ती केराउहरू ठान्थे – “आखिर यो संसार सिङ्गै नै हरियै हुनुपर्छ ।” हुन पनि तिनका वरिपरि, चारै दिशाका भित्ताहरू र आफूसमेत हरियै थिए, अनि सिङ्गै संसार नै हरियै हुनुपर्छ भनेर निनीहरूले किन नसोचुन् तर संसारमा दिउँसो घाम लाग्थ्यो भने राती अँध्यारो हुन्थ्यो । कहिलेकाहीँ पानी पर्थ्यो । दिनपछि रात आउने क्रम चली नै रहेको थियो । यसरी घामपानी हुँदै र दिनरात बित्दै गएपछि त्यो कोसो बिस्तारै पहेँलिदै गयो र त्यसभित्रका केराउहरू पनि अलिअलि गर्दै पहेँलापहेँला हुन थाले । त्यसपछि भने तिनीहरूले यसो विचार गरे, “अहो यो संसार हरियै मात्र रहनछ बाबै ! रङ्गीचङ्गी पो रहेछ ।” बाहिर साँच्चै कस्तो होला ? हेर्ने खुलदुली लागिरहेको थियो तिनीहरूका मनमा । तर तिनीहरू भने कोसाभित्र बन्द थिए ।
एक दिन तिनीहरूले खस्य्राकखुस्रुक आवाज सुने । भएको के रहेछ भने एक जना केटाले बोटबाट त्यस कोसालाई टिपेर आफ्ना बगलीमा हालेको थियो । घरमा पुग्नेबित्तिकै उसले त्यस कोसालाई छोडायो । त्यस बेला केटो दंग परेर भन्यो, “अब म यिनलाई मेरा बन्दुकका गोली बनाउँछु ।” नभन्दलै केटाले ती गेडाहरूलाई एकएक गर्दै आफ्नो खेलाँची बन्दुकभित्र हाल्दै हान्न थाल्यो ।
त्यसबेला पहिलो गेडाले घमन्डी पारामा यसो भन्यो, “म यो विशाल संसार हेर्न वेगका साथ लम्कनेछु, मलाई कस्ले उछिन्न सक्छ ? लौ त ! दोस्राले फुर्ती गरेर भन्यो, “म त उ त्यो तेजिलो सूर्यसम्म नै पुग्छु ।” तेस्राले र चौथाले भने, “जहाँ पुरयाइन्छ त्यहीँ पल्टेर सुत्छु, सके गुडौँला पनि ।”
पाँचौँ गेडाले नम्रताका साथ भन्यो – “हेरुँ, जहाँसम्म जान सकिन्छ त्यहाँसम्म पुगुँला ।” उसका शब्दमा घमन्डको कुनै गन्ध थिएन, तर कुनै न कुनै लक्ष्यसम्म पुग्ने अठोट भने प्रस्ट थियो । यसरी त्यस पाँचौँ गेडालाई केटाका बन्दुकले परको यौटा झुप्राको खुला झ्यालभित्र पुर्यायो । झ्यालभित्रको चौकोसमुनि ओछ्याइएको काठ पुरानो र मक्किएको थियो अनि बेलाबखत पर्ने गरेका पानीका छिटाहरूले गर्दा त्यहाँ ढुसी पनि परेको थियो । त्यो गेडो ठीक त्यही मक्किएको र ढुसी परेको काठमाथि थपक्क बस्न पुग्यो । ढुसीले पनि त्यसलाई बिस्तारै छोपिदियो ।
त्यस झुप्राका कोठामा एक जना गरिब बुढीआमै र उसकी बिरामी छोरी बस्थे । उनी ठूलाघरहरूमा चुलो बाल्ने र भाँडा माझ्ने काम गर्थिन् । तर उनले पाउने ज्यालाबाट उनीहरू दुई जनाको जीवन धान्न पनि मुस्किल थियो । छोरी बिरामी थिइन् र उनी राम्ररी ओखतीमूलो गर्न पनि सक्दिनथिन् । बर्सौँदेखि ओछ्यान परेकी छोरी उठ्न र हिँडडुल गर्नसम्म पनि नसक्ने भइसकेकी थिइन् । अति दुब्ली र पातली छोरी ओछ्यानमै टाँसिएकीजस्ती देखिन्थिन् । बुढी आमै प्रत्येक दिन बाहिर काममा जाँदा छोरीलाई हेरेर मनमनै यसो भन्थिन्- “यौटी छोरीलाई उहिल्यै द्यौताले आफ्ना भागकी भनी खोसेर लगिसकेका छन्, यिनलाई पनि मेरा भागमा छाड्ने छाँट छैन । यी छोरी मसँग बस्नाको साटो बरु मलाई एक्लै छाडी आफ्नी बहिनीसँग बस्न जाने पो हुन कि ।” यति भनेर उनी लामो सुस्केरा हाल्थिन् ।
एक दिन बिहान झ्यालबाट कोठाभित्र घाम पस्यो र बिरामी छोरीले झ्यालतिर हेरिन् । उनलाई अचम्म लाग्यो किनभने उनले झ्यालको मक्किएको र ढुसी परेको काठमाथि हरियो देखिने कुनै कुरो देखिन् । उनको मनमा त्यो के रहेछ भनी हेर्ने उत्सुकता जाग्यो । आमा बाहिर जान लाग्नुभएको बेला उनले आमासित भनिन्- “आमा, त्यो झ्यालमा हरियो देखिने के हो हँ ?” आमाले नजिकै गएर हेरिन् र भनिन्, “ए त्यो त टुसो हो कहाँबाट आएछ लौ ! तिमीलाई नै भनेर कसैले यस टुसालाई यहाँ उम्रन लगाएछ कि क्या !” साँच्चै बुढीआमैकी बिरामी छोरीले त्यस बेलादेखि बारम्बार आफ्नो मुन्टो झ्यालतिर फर्काउने गर्न थालिन् ।
हेर्दाहेर्दै त्यो टुसो अलिअलि गर्दै बढ्न थाल्यो र हावामा फरफर गरी हल्लिन पनि थाल्यो । यो कुरा ओछ्यान परेकी बिरामी छोरीले बिछ्यौनाबाटै देखिन् । उनी बिस्तारै उठेर टुसालाई हेर्न भनी झ्यालसम्म आफै हिँडिन । यो देखेर बुढीआमै असाध्य खुसी भइन् । उनले हुर्किरहेको त्यस टुसालाई भर दिन एउटा थाँक्रो गाडिन् र लहरालाई चढ्न सजिलो होस् भनेर झ्यालमाथिको किलामा बाँधेर तन्काइदिइन् । त्यसपछि उनले छोरीलाई भनिन् नानी,- “यो टुसो त तिम्रै लागि यहाँ उम्रेको रहेछ, कस्तो अचम्म ! अब यहाँ एउटा करेसाबारी पनि भयो ! हेर, अब तिमी एक्ली छैनौ ।”
थाँक्राको भर लिएर हलक्क हुर्किदै बढिरहेको लहरालाई हेर्दै बिरामी छोरी कोठामा टहल्न पो थालिन् । उनलाई लाथ्यो वास्तवमा छोरी राम्री हुँदै छिन् ।
केहि दिनपछि बोटमा फूलहरू फुल्न थाले । अलिअलि रातो रंग पोतिएका जस्ता फूलका पातहरू हेर्दै छोरी औधी रमाइन् । बूढीआमै पनि फूलहरू देख्नेबित्तिकै कराइन्- “नानी लौ, अब त यसमा फूल पनि फुल्न थाले, यो त केराउको बोट रहेछ । तिमी त अब सन्चो पनि भयौ । यो केराउको बोट यहाँ तिमीलाई सन्चो पार्न भनेर आइपुगेको रहेछ क्यारे !”
छोरीले भनिन्- “हो आमा, म अहिले निको भइसकेकी जस्ती छु । मलाई राम्रो भएको छ । अब म बिरामी छैन ।” आमाछोरी दुवैले बोटलाई माया र कृतज्ञताका भाव ब्यक्त गर्दै हेर्न थाले । छोरीले फूलका नरम पत्रहरूलाई बिस्तारै छोएर हेरिन् ।
अँ, अरु केराउ कहाँ पुगे त ?
“मलाई कसले उछिन्न सक्छ ?” भनी घमन्ड गर्ने केराउ छानामुनिको डुँडमा खस्यो र त्यसपछि त्यो एउटा परेवाको गाँडमा सुरक्षित हुन पुग्यो । दुई अल्छी केराउहरू पनि पुग्न त टाढैसम्म पुगे तर परेवाका चारामै फेरिए ।
तेजिलो सूर्यसम्म पुग्छु भनी फुर्ती गर्नेचाहिँ एउटा गहिरो पोखरीमा खस्यो । त्यहाँ उ चलहल नगरीकनै एकै ठाउँमा बसिरह्यो किनभने पोखरीको पानीले त्यसलाई यताउति चल्नै नदिई समातिराख्यो । केही समयपछि ऊ ढाडिएर धम्मरधुस बन्यो ।
तर ऊ अझै भन्दैछ- “मेरा पाँच दाजुभाइमा सबैभन्दा राम्रो र गतिलो त मै भएको छु ।”
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)