~रमण घिमिरे~
आँधी-हुरी झेलुँजस्तो
आगोसँगै खेलुँजास्तो
बस्तीबाट निस्किएर
एकान्तमा कराऊँजस्तो
के-के हुन्छ अचेल मलाई
सारा रहर पुरुँजस्तो
आफन्तको आँसु पुछ्न
घरी-घरी मरुँजस्तो ।
पहिले रुन मन लाग्थ्यो
अचेल आँसु फुट्न छाड्यो
देशै रुन थालेपछि
अब कोही दुख्न छाड्यो
पहाड-हिमाल ढालुँजस्तो ।
डरै लाग्न छाड्यो अचेल
भीरबाटै हाम फालूँझैँ
बाको बूढो खुकुरीमा
फेरि पाइन चढाऊँझैँ
सारा बन्धन छप्काऊँजस्तो
यी तगारा छिनाऊँजस्तो
बस्तीबाट निस्किएर
एकान्तमा कराऊँजस्तो ।
(स्रोत : नेपालीकविता डट कम)