कथा : अन्तिम भेट

~शिशिर पराजुली~Shishir Parajuli

फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । हतार भएको बेला बाइकमा जान पाइनँ । घर बाहिर निस्केर ट्याक्सी खोजेँ । एकैछिनमा एउटा ट्याक्सी भेटेँ । भाडामा किच किच नगरी सिधै टिचिंग हस्पिटल तर्फ ट्याक्सी लग्न भनेँ । बाटो भरि दिमागमा अनेक थरि सोच हरु आए । करिब २० मिनेटमा मा हस्पिटल पुगेँ ।

हस्पिटल पुगेर अघि आएको फोन सम्झिएँ ।

“इमर्जेन्सी कक्षमा जिया भर्ना भएकी छे । छिटो टिचिंग हस्पिटल आइ हाल।” यत्ति आवाज आएर फोन काटिएको थियो अघि । के भयो, कसरि भयो मलाई केहि थाहा थिएन । म त जिया इमर्जेन्सीमा छे भन्ने कुरा सुन्ने बित्तिकै हस्पिटल तर्फ हानिएको थिएँ । हस्पिटल पुगेर अघि फोन आएको नम्बरमा कल गरेँ । ति फोन गर्ने महिला मलाइ लिन आइ । ति महिला अरु कोहि नभएर जियाकै मिल्ने साथि रहिछ । उ बाट थाहा भयो कि जिया ले बिष खाएको कारण हस्पिटलमा भर्ना भएकी रहिछ । कारण बारे सबै जना अन्जान थिए । म उसको साथि संग उ भर्ना भएको कक्षमा गएँ । म घोसे मुन्टो लगाएर त्यस कोठामा छिरेँ । बेडमा मेरी जिन्दगी पल्टिरहेकी रहिछ । भारि मन लिएर उ नजिक गएँ । उ मृत्यु संग लड्दै थिइ, लडाईको कारण फेरी उ आफै थिइ । मेरा आँखाबाट असारे झरी जसरि नै एकनासले आँशु बर्सिन थाल्यो ।

कृत्रिम अक्सिजनको सिलिन्डरबाट निस्किएको पाइप उसको नाक र मुख छोप्ने एउटा माक्समा जोडिएको थियो र हातमा रगतको र सल्यान पानीको सियो घुसाइदिएका थिए | उसको हालत अत्यन्तै दयनीय थियो | म उसको नजिक गएर हात समातेँ | उसको हात समाते संगै मेरो मनमा पुराना यादहरु ताजा हुन थाले | उसको र मेरो अहिले कुनै सम्बन्ध थिएन | म उसको पूर्वप्रेमी थिएँ | केहि महिना अगाडी उ आफैँले मबाट टाढिने बिचार गरेकी थिइ | कस्तो अचम्मको कुरा छ है? जब उ मसंगै थिइ मैले उसको कहिल्यै मतलब नै गरिन भनेर उसले सोच्ने गर्थी | जब उ टाढा गइ त्यसपछि थाहा पाए कि उसको मतलब त मैले सधै गरेको थिएँ तर उसलाई नगुमाउने कुरा मा म यत्ति बिस्वस्त थिएँ कि म यहि सोचाइमा अन्धो भएको रहेछु | मलाई त्यति बेला के थाहा कि कुनै दिन यस्तो पनि हुन सक्छ भन्ने | उ म बाट टाढा भए पनि मैले उसैलाई माया गर्थेँ | उसलाई भुल्नु र उसलाई घृणा गर्नु मेरा लागि असम्भव कुरा थिए |

उसको अनुहार हेर्दा मलाई उसको दुबै गालामा पर्ने डिम्पलको याद आयो | बिगत केहि महिना देखि म चिसो भुइँमा उसको तस्बिर लिएर बस्ने गर्थे | उ बाट टाढा भए देखि त म पागल जस्तै भएको थिएँ | मोबाइलमा फेक कलमा उसको नाम सेभ गर्ने गर्थे | जब एक्लै हुन्थे अनि म त्यहि फोनमा एक्लै बोल्न थाल्थे | उसको मुस्कुराएको तस्बिर हेरेर खुशी हुन्थे | उसको अनुहार हेर्दा मलाई पुराना यादले झलझली सताई रहेको थियो | उसंग हुँदाका ति मिठा पलहरु सम्झिदै थिए | उ भने गहिरो निद्रामा छे जस्तो लाग्थ्यो | उ मेरो साथमा हुँदा म पनि यसरि नै गहिरो निद्रामा सुत्ने गर्थे तर उ टाढिए देखि मेरो निद्रा नै सुतिसकेको थियो | उसले आँखा खोल्छे कि भन्ने आशा मा म बसिरहेको थिएँ तर उसले आँखा खोल्दै खोलिन | आजकल मैले गर्ने सबै कार्यहरु उसंगै जोडिन पुग्थे | चाहे म गित सुनु अथवा कतै बाहिर निस्कुँ | कुनै केटि देख्ने बित्तिकै मलाई उसको यादले सताई हाल्थ्यो | कतै घुम्न जाउँ, त्यहाँ पनि उसको याद आइ हाल्थ्यो | उसले मेरो साथ छोडे पनि उसको यादले मेरो साथ छोडेको थिएन | तर उसले भने अहिले आएर संसार लाइ नै छोड्ने निस्कर्षमा पुगेकी रहिछ | आखिर उ किन यस्तो कदम चाल्न विवश भइ भनेर धेरै सोचे तर केहि ठोस कुरा पाउन सकिन |

मेरा आँशु अझै रोकिएका थिएनन् अनि न त याद हरु नै | हुन त अरु दिन पनि मेरो हालत यस्तै त थियो | उसको यादमा कत्ति रोएँ , कत्ति आँशु भदौरे भेल जसरि बगे त्यसको त कुनै लेखा जोखा नै छैन | सबै कुरा हिजो कै हुन् जस्तो लाग्थ्यो | कसरि यत्ति समय बितेछ पत्तै भएन | मैले उसको हात समाएको हिजो जस्तै लाग्छ | हात समातेर उसको आँखामा आँखा राखेर हेरेको पनि हिजो जस्तै लाग्छ | यसरि हात समात्दा उसले लजाएर “छोड न मेरो हात फेरी कसैले देख्छ |” भनेको पनि हिजो जस्तै लाग्छ | सबै कुरा हिजो भए जस्तै लाग्छ | उसले यस्तो भन्दा “मलाई माया गर्छौ होइन,फेरी के को डर |” भनेर मैले भनेको पनि हिजो जस्तै लाग्छ | उ संग हुदा म अत्यन्तै खुसि हुन्थे | तर कसको नजर लाग्यो कुन्नि मेरो खुशीमा, मेरो खुशी म बाट छिनिएकी थिइ |

यस्तै कुरा सोची रहदा अचानक एउटा मेसिनबाट आवाज आउन थाल्यो | तल माथी गरिरहेका केहि धर्का हरु बिस्तारै स्केलले तानेको लकिर जस्तै हुदै थिए | मैले चाल पाइहालेँ के गरु र कसो गरु भयो |
“डक्टर, डक्टर” बेसरी चिच्याउन थालेँ म |

हल्लाखोर मच्चियो | कोलाहलको वातावरण भयो | डाक्टर हरु कोठामा छिरे | नर्सहरुको पनि एउटा हुल कोठामा छिर्यो | कोठा भरि हल्ला खल्ला मच्चियो | म त्यहि बंग्लंगै ढले |

मेरो होस खुल्दा म एउटा बेडमा थिए, हस्पिटलमा | यता उति हेरेको जिया लाइ कुनै बेडमा देखिन | अनि म आफ्नो बेड बाट उठेर डाक्टर हरु संग पुगेँ | उनीहरुलाई जियाको बारे सोधेँ | डक्टरले उसको बडी हिजो बिहानै लागिएको र बेलुका पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइएको बतायो |
म दुइ दिन देखि बेहोस रहेछु |

यो सुनेर म छाँगा बाट खसे जस्तै भए | रोएँ, कराएँ, चिच्याएँ तर मेरो चिच्याहट सुन्ने कोहि भएन | उ यस संसारलाई छोडेर गइ सकेकी थिइ | उसलाई यस संसार बाट किन छिनियो? किन एस्तो सजाए पाउदै थिए म ? येस्तै प्रश्न हरुले मलाइ घेरी रहेको थियो | उसलाई मैले त अब कसरि भुल्न सक्छु र? मेरो यो सानो मुटुका लागि यो पिडा धेरै ठुलो थियो | अत्यन्तै असह्य पिडा भोगेको थिए | यस्तो पिडा खप्न सक्ने साहस म मा थिएन त्यहि पनि जसो तसो गरेर उसको यादलाई प्रेरणा बनाएर अघि बढ्न थाले | मेरो खुशी त छिनिएको थियो तर पनि कहिल्यै हार मानिन | उसलाई यस दुनियाबाट धेरै टाढा तानिएको थियो जुन सत्य संग हार मान्नु को विकल्प मसंग थिएन | उसंग मेरो अन्तिम भेट उसले अन्तिम सास लिँदै गर्दा भयो |

समाप्त !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.