कविता : मिलनको आह्वान

~राजु परियार~

डराउन पर्दैन
नडराई आउ तिमी
संकिर्णताका पर्खालहरु
भत्काएर आउ
म पनि आउछु
असमानताका कांडे तारहरु चुडालेर
तिम्रो र मेरो मिलनले
समाजलाई नौलो उर्जा दिनेछ
त्यसैले हाम्रो मिलन अपरिहार्य छ ।

समाजले के भन्ला नभन
मन, मुटु, भावना र विचार एक भए पछि
कोही बाधक बन्ने छैन
हाम्रो साहस अगाडी
हामी बुज्रुक बन्ने छौं
अझै अलमलमा परे ।

समाज आफै परिवर्तन हुने छैन
तिमी र म जस्तैले थालनी नगरे
समय पनि त आफै आउने छैन
तिमी र म जस्तैले नल्याए सम्म ।

तिमी र म भएर
संकिर्णताको दलदलमा
भासिएको समाजलाई
माथी उकास्नु छ,
समानता र न्यायले हेर्ने
आँखा दिनु छ,
अघि बढिरहेको समयको
कथा सुन्न सक्ने
अभाव र पिडाले छटपटिएको
ब्यथा सुन्न सक्ने
श्रवणशक्ति प्रदान गर्नु छ ।

तिमी र म भएर
स्वतन्त्रता, दुःख दर्द ओकल्ने
आवाज दिनु छ
पासविक र संकिर्णता नामेट भएको
मानविय, स्वच्छ र सफा मन दिनु छ ।

तिम्रो र मेरो मिलन
उदाहरणीय बन्नेछ
मान्छेले सिक्ने छन्
धेरै कुरा
अनि तिमी र म भएर
सिकाउनु छ धेरै कुरा
त्यसैले अब चाँडै
तिम्रो र मेरो मिलन हुनुपर्छ ।

– राजु परियार, भोजपुर

(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.