~सकुन्तला जोशी~
पहाडमा
दुःखको खुब असिना छेल्दै
फाटेको टोपीले पसिना पुछ्दै
हिउँद लाग्यो,
पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा
हजुरबा सधैं
एकनाश एकतमाश समयको प्रवाहसँगै
दुःखलाई रोपे
गोडमेल गरे
फुलाए-फलाए
उनको हत्केला र थाप्लाको खलिहानमा
फलेका अन्नपात खाँदै हामी
हुर्कियौं बढ्यौं र एक दिन
सुखको शहर खोज्दै परदेशीयौं
हामीले गाउँ छोड्दा
दुःखको खलिहानमा छरिएका अन्नका गेडाहरु
बटुल्दै थिए उनी
हामी शहरीया भयौं
सुकिलो, महंगो अत्तरले महकिदौं शहरका सभ्य नागरिक भयौं
यत्तिबेला, सत्ताको दाबेदार भद्र महाशयहरुको लर्डाईंमा
च्यापिएर शहर नाकाबन्दीमा परेको छ
धेरैवर्षपछि आज संझिरहेछु,
के हाम्रा लागि उसरी नै खलिहानमा
टिपनटापन गरिरहेका होलान् हजुरबा ?
-पाँचथर, हाल: भैरहवा
(स्रोत : नेपालीकविता डट कम)