~डा. मधु “माधुर्य”~
देश ‘प्रजातन्त्र’ भनेर रोईरहेछ
म पनि त्यो बिजोग देखेरै रोईरहेछु
र मलाई प्रजातन्त्र चाहिँदैन
शहीदका अलपत्र सपना छोप्न
एकसरो कात्रो भए पुग्छ अब
टुहुराका भोका पेट र नाङ्गो आङ छेक्न
अलिकाति फाँडो र टालो भए पुग्छ
रहर आकांक्षाको डढेलो निभाउन
एक मुठी गंगाजल भए पुग्छ अब
मलाई प्रजातन्त्र चाहिँदैन
गरिबी र दुस्ख जलाउँन ठूलो घाट भए पुग्छ
सुपथ मूल्यमा पसीना बेचिने हाट भए पुग्छ
यहि माटोमा सुन फलाउँने हात भए पुग्छ
मृग झैँ उफ्रन पाउँने खुट्टा भए पुग्छ
देशको खुन र घुस नछिर्ने घाँटी भए पुग्छ
देशकोलागि मुटु–माटोको गाँठी भए पुग्छ
मलाई प्रजातन्त्र चाहिँदैन
गाउँ वेँसीको मेलामा दज्युभाइको भेला
दिदिबहिनी नाच्लान–गाउलान तीजको बेला
परेवा उड्लान आकाशमा
केही हल कलम कागजी रोपाईँमा
ब्रम्हले देखेका कुरा फुर्लान जीब्रामा
मेला र भेलामा नरोक्नु पाईलाहरू
नखसाउँनु अचानामथि परेवाहरू
यथार्थ को–यो भनेर कलम नभाँच्नु
परेवा उड्यो भनेर आकाश नभत्काउँनु
सोझो निर्दोषी जीब्रो नकाट्नु
बस् यति भए पुग्छ
मलाई प्रजातन्त्र चाहिँदैन
रङ्गिचङ्गि फूलहरू बराबरी फुल्लान
कुल्चिएका मन पनि खुशी खोज्दै उठ्लान
निर्जिब बनाइएका ओँठहरू सल्बलाउन थाल्लान
नहोस् स्पर्स नङ्ग्राहरूको–
फूलका पात–हाँगा र कोपिलासँग
शुभ्र र कोमल हिमालसँग !
मनको मझेरिबाटै चोरिएको–
एक भकारी हर्ष,
ओँठबाटै लुटिएको–
एक डालो मुस्कानस्
फिर्ता दिए पुग्छ
मलाई प्रजातन्त्र चाहिँदैन
विक्षिप्त त्रिशुल भाङ भाला
र विषालु गोमन पनि चाहिँदैन
महङ्गो स्वदेशी पसीना ठग्ने–
सस्तो सेकेण्डह्याण्ड पजेरो चाहिँदैन
जनताको आकांक्षालाई ‘क्राइष्ट’ टाँग्ने
कुर्सी र पदको ‘क्रस’ पनि चाहिँदैन
महङ्गा बम, बारुद, गोली होइन
शान्तिको एक चिम्टी विगुती भए पुग्छ
मलाई प्रजातन्त्र चाहिँदैन
(स्रोत : नेपालीकविता डट कम)