~गोविन्दराज विनोदी~
छन्द : शार्दूलविक्रीडित
भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर
केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर
छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव
कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब
ज्यादै क्रूर भई स्वयं शिशिरले डङ्का बजाए पनि
सारा वृक्ष-लता अनावृत गरी नाङ्गा बनाए पनि
चढ्छन् आखिरमा वसन्तऋतुका नौला यहाँ पल्लव
कल्ले सक्तछ रोक्न यो प्रकृतिको संसृष्टिको गौरव
आई रात घनान्धकार छरियोस् बाटै हराओस् तर
च्याती रात फिँजारिदिन्छ रविले प्रातःप्रभा सुन्दर
रातैका पनि गर्भमा दिनहरू हुन्छन् उज्याला जहाँ
कल्ले सक्तछ रोक्न यो समयको सङ्क्रान्तिलाई नयाँ
चाहन्नन् अवशेष बोक्न युगका नौला सितारा जब
सत्ता ढल्दछ,ढल्दछन् मनुजका प्राचीन आस्था सब
बन्दा संरचना नवीन सहसा हट्छन् पुराना स्वतः
कल्ले सक्तछ रोक्न अग्रगतिका यी पाइला उन्नत
फाली द्वेष अहं, प्रबुद्ध मनको त्यो दीप बालेपछि
मिल्छन् आखिर विश्वबन्धु ननिका पर्खाल ढालेपछि
यौटै बन्दछ विश्व यो घर नयाँ भन्ने तराना बुनी
लेखेँ यो कविता नयाँ हृदयको आवाज आफ्नै सुनी ।।
– गैँडाकोट, नवलपरासी