कविता : क्षितिजमा अस्ताउन लागेका रहेछन्

~इश्वरवल्लभ~

सृष्टि सुरु भएपछि यता धेरिसुकै अरु पनि भै सकेका रहेछन्
रंगले भिजेका अनुहार पाखालिइसकेछन्
तैपनि न मैले मौरीका गॅुडहरु नै देखें,
न त गुम्बजहरु नै देखें,
त्यसैले म भन्न थालिरहेको छु अचेल,
धेरै गोरेटाहरु अँध्यारोमा हराउन थालेका रहेछन्,
धेरै घामहरु क्षितिजमा अस्ताउन लागेका रहेछन्
अनेकौं रेखाहरु नखिंचिदै अथवा नलेखिंदै क्यानभासमा
बिलाउन खोजेका रहेछन्

म अस्ताउँदै गरेका घामहरुलाई केही भन्दिनँ,
बिलाउन लागेका ती चित्रहरुलाई पनि केहि भन्दिनँ
म अब सच्याउँदिन यो खुम्चिएको,मैलो पुरानो आकाशलाई
बोलाउँदिन ती आवाजहरुलाई,

कहिले यस्तो पनि लाग्न थालेको छ
मेरो खुट्टानिर लुटुपुटिंदै बोलाइरहन्छ मेरा यात्राहरुले
मेरा लक्ष्यहरु मेरो सिलहटदेखिन् तर्सेर भाग्न थालेका छन्
म त कस्तो रहेछु जसलाई पनि तर्साउने रुख जस्तो भएको रहेछु,
मेरा सिंगा आँखाहरुले खालि हेरि मात्र रहँदा रहेछन्,
देख्दा रहेनछन्,
बरु यसो भनौं कि यी आँखा होइनन्
मेरा मासुसित टाँसिएको दुइओटा मस्कल मात्र हुन्,
स्वयम्भूको त्यो हेरिरहने आँखा भने पनि हुन्छ,
अथवा तलेजुलाई काटिइसकेको राँगाको टाउकामा
गएर हेरे हुन्छ
यी त्यस्तै भोग दिइसकेका आँखा हुन्,
तिमीले पत्याएनौं म धेरै दिनदेखिन् कराउँदैछु
मेरो आँखा हेर्छ मात्र देख्दैन भनेर
तिमीले वास्ता गरेनौ म धेरै दिनदेखिन् चिच्याउँदैछु
म मूर्ति उभिएको हुँ,मानिस उभिएको होइन भनेर
तिमीले बोल्दै बोलेनौ म धेरै दिनदेखिन् भन्दै छु
म साज मात्र हुँ स्वर होइन भनेर,

फगत् , म यति जान्दछु
तिमीले चिन्दै चिनेनौ, म धेरै दिनदेखिन्
तिम्रो सामु नै उभिंदै छु
अनि सोधेनौ पनि म को हुँ भनेर |

(स्रोत: कविता सङ्ग्रह “आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्”बाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.