कविता : शहर

~दाजु गुरुङ~Daju Gurung

शहर न तिमी जस्तो छ
न म जस्तो छ
तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ?

बैसले उन्मुक्त कुनै षोडसी
टपमा नुहाउनु बसेजस्तो छ शहर
ललाटमा वर्षेको पानीका वुँदहरु
उन्नत अवयहरुलाई घात गर्दै
नाभिस्थलबाट जलासयमा समाहित हुँदा
अलि कति लाजले
अलि कति चिसोपनले
खुम्चिँदै चिसिँदै बैंसालु अवयहरुमा व्बादलका घुम्टो तानेर
हावासँग आँखमिचौली खेलिरहेछ शहर ।
नीलो तलाउको किस्तीमाथि
बाटाहरुको जाली रुमालले यौवन ढाकेर
कुनै परी जल–क्र्रिडामा बसेको जस्तो छ शहर
र त शहरको उन्मुक्त अदाकारितामा र वैभवतामा
बैंसहरु शहर हानिएकाछन्
षोडसी शहरको मादकतामा, मायवी जालमा
धेरै सपनाहरु शहर भासिएकाछन्
अन्त्यहीन जाली रुमाले बाटाहरुमा
मान्छेहरु शहर पस्ने बाटा खोजिरहेछ
दिगभ्रमित बनाउने भ्रमित बाटाहरु
वैंस बोकेर हिँडेका पाइतलाहरु सुलसुलती निलिरहेछ
तर मौन छ, मायवी शहर, आफ्नै मायवी जालमा मस्त छ ।

ठूलो पहाडको चट्टानको फेदीमा
समयानुकुल रङ्ग बदलेर
अजङ्गको अजिङ्गर लम्पसार परेर बसेजस्तो छ शहर
निरीह चल्लोहरुलाई वाँजले उडाएजस्तै
अनगिन्ती सपनाहरुलाई उडाइदिने शिकारी वाँजजस्तो छ शहर
अहोरात्र जाग्राम रहेर
धुरीमा बसी ऐंठन गर्ने हुचिलजस्तो छ शहर
बाटाहरुको चक्रव्यूहमा अल्झिएर
आफैले आफूलाई हराइदिने
माझीहरुको महाजालजस्तो छ शहर
र त यो जालैजालको शहरमा
कोही शहर खोज्दाखोज्दै हराएका छन्
कोही बाटाहरु खोज्दाखोज्दै हराएकाछन्
कोही सपना बुन्दाबुन्दै हराएकाछन्
कतै हराउने र खोज्नेको सँगम हो कि शहर !
कोही हराइरहेछ, कोही खोजिरहेछन्
तर मौन छ, शहर हराउने र खोज्नेको तमसा मस्त छ ।

कोरली पोथी
अण्डा कोरलेर बसेको जस्तो छ शहर
ढुङ्गा गोडेर
कंक्रिट फलाउने तातो भट्टीजस्तो छ शहर
बेमौसमी फसल फल्ने
फसलैफसलको पसलजस्तो छ शहर
हरेक वस्तुको विनियम दर तोक्ने
मूल्य र मान्यताहरु तराजुमा जोख्ने
खुल्ला र थोकमा बिक्री गर्ने बजारजस्तो छ शहर
र त मूल्य र मान्यताहरु बोल कबोलमा
सपनाहरु उधारोमा, इच्छाहरु बन्दकिमा छन्
सबैसबै सर्सतमा उनिएकोछन्,
शहर न बोल्छ, न हाँस्छ
न कसैको वास्ता छ, न कसैले वास्ता गर्छ
यो बे–वास्ताको र मनहीनताको
ढुङ्गढुङ्गती गन्हाउने मूर्दाहरुको बस्तीजस्तो छ शहर
अनि झिसमिसमा ऋण उठाउन हिँडेको हर्के साहूजस्तो छ शहर ।

यसैले त –
शहर न तिमी जस्तो छ
न म जस्तो छ
कसरी भनूँ शहर को जस्तो छ ??

दाजु गुरुङ , हङकङ

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.