~मालिकराम ‘वियोगी’~
धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले घुस्रीपिस्री बस्नु उनीहरूको बाध्यता भएको छ । चौँतीस मामा सेक्युरिटी काम गर्छन्, हस्ते भान्जा कन्स्ट्रक्सनमा । एउटा कोठामा बसेको भन्नुमात्र छ, मामाभान्जाको भेट कहिलेकहीँको छुट्टीमाबाहेक हत्तपत्त हुँदैन ।
आज उनीहरूको छट्टी एकै दिन परेछ । धेरै दिनको व्यस्त जीवनपछिको यो छुट्टीले दुवैलाई खुशी तुल्याउछ । दुवै गफमा मस्त छन् । धनसेर भन्छ, “धेरै दिनपछि हाम्रो बिदा सँगै परेछ । अनि भान्जाको खबर के छ त ?”
“खास खबर त केही छैन मामा । काममा गयो आयो ।” हस्ते धुने लुगाहरू बाल्टीमा राख्छ । कोठाका सामान मिलाउँछ । कोठाको सामान्य सरसफाइ गरिरहन्छ । यताउता गर्दै नै ऊ बोल्छ, “आज संयोगले हाम्रो बिदा सँगै परेछ ।”
“जागिर त त्यै पहिलाकै होला ?” बियर चुरुप्प पार्दै धनसेर बोल्छ, “कि अर्को …?”
“अहिलेसम्म त त्यहीँ छ मामा । सकिनै लागेको छ ।” घोडा रेसका टिकटहरू सम्हाल्दै हस्ते बोल्छ ।
“घोडा रेस कतिको मर्दै छ ?” टिकटतिर हेर्दै धनसर बाेल्छ ।
“केको पर्नु नि मामा । खरानी भइसकेको बेला हिजो बल्लबल्ल अलिकति परेछ ।” सबै काम ठप्प रोकेर हस्ते बोल्छ ।
“कति परेछ भान्जा ?” जिज्ञाशु हुँदै धनसेर बोल्छ ।
“१ वर्षमा १४ हजार जति हारेको थिएँ, सावाँ आएर दुई चार हजार मरेछ मामा ।” हस्तेको अनुहार उज्यालिन्छ र मधुरो बन्छ, “भाग्यमै नभएपछि के गर्नु नि मामा, टियर्समा १ लाख ५० हजार थियो नि ! दुईटा मात्र पर्यो । त्यो त कुइनेला र कुइनेला प्लेस मात्र हो ।”
“हो र भान्जा ? एउटाले गर्दा त्यत्रो खतम भए छ, हो कि ?” आश्चर्य प्रकट गर्दै बियरको एक घुड्को निल्छ । अनि सम्झाउन थाल्छ, “अब मर्दैन भान्जा । यतिमै खेल्न छाडिदेउ । अब यतिमै सन्तोष गर । पहिला कति लाहुरेहरू खाली हात फर्केथे घोडा रेसले गर्दा । यसमा मार्नेभन्दा हार्ने धेरै हुन्छन् । एक दुईजनाले मात्र मार्ने हो । त्यस्तो दुःखले कमाएको पैसा एकै छाक हुन्छ ।”
नेपालबाट आएपछि हस्तेले घोडा रेस सिक्या । उसलाइ लाग्र्या कि काम गर र कहिले पैसा कमाउने । बरु घोडा रेसबाट बाजी जितेर चाँडै घर फर्कने । उसले रातारात धनी हुने सपना देख्यो । हस्ते भन्छ, “होइन मामा, एउटा लाहरुे त अन्तिममा बाजी जितेर घर फर्केको थियो रे ! मेरो पनि त्यसरी नै घर फर्कने विचार छ ।”
“बेस्ट अफ लक ।” धनसेर उसलाई आशिर्वाद दिन्छ ।
“मामाल त पहिल्यै काफि पैसा कमाइसक्नु भएको होला । त्यसले गाउँघरमा के के गर्नु भो ? अबकोले के गर्ने विचार छ, को नि ?” हस्ते प्रश्न गर्छ धनसेरलाई ।
“खोइ भान्जा जति कमाए पनि पैसाले नपुग्दो रहेछ । २१ वर्षभन्दा बढी नोकरी गरेर पेन्सिन गइयो । समाज सेवा गरियो, मोजमस्तीमा डुबियो । सबै सकियो । अहिले यी फेरि त्यही दुःख भोग्दै छु । बसिखान बेला काममा गयो, आयो, खायो, सुत्यो, उठ्यो फेरि कामतिरै लाग्यो । अब चाहिँ दुई चार वर्ष दुःख गरेर कमाएको पैसाले जीवनको अन्तिम खण्ड सुखले बिताउँने विचार छ ।” धनसेरले अन्तिम इच्छा बताउँछ ।
हस्ते सोध्छ, “कसरी मामा ?”
“पहिला दुःख गरेँ, कमाएँ, खाएँ, सकेँ । अब कमाएको पैसा त्यसरी मोजमस्तीमा उडाउँदिनँ । अब आठ दश वर्ष निकै दुःख गर्छु । काठमाडौंमा पाँच छ आनाको घडेरी किन्छु । एक दुई तल्ले घर बनाउँछु । बुढेसकालको जीवन आरामले बिताउँछु । एउटा उद्देश्य नलिई केही गर्न नसकिँदो रहेछ भान्जा ।” धनसेरले आफ्नो सबै उद्देश्य हस्तेलाई बताउँछ ।
“भेरी गुड आइडिया । तपाईंको कामना पुगोस् ।” शुभकामना व्यक्त गर्छ हस्ते ।
“मलाई भेरी गुड भनेर पुग्दैन भान्जा, तिमीले पनि मेरोजस्तै उद्देश्य र विचार लिनु पर्छ । मैले त भोगेर भन्दै छु । यो भावनाको कुरो होइन ।” हस्तेको अपरिपक्व, आलाकाँचो विचार बदल्ने आसय धनसेरमा हुन्छ । उसले सम्झाउने हरदम प्रयास गर्छ ।
“म ट्राई गर्छु मामा ।” धनसेरको मन रखनीमा ऊ बोल्छ ।
“ट्राईमात्र होइन भान्जा, गरिहाल । भोलि पछुताउनु पर्ला ।” आदेशै दिन्छ धनसेर ।
उत्तरमा हस्त उसको आँखामा हेरिपठाउँछ । कही क्षणपछि प्रसङ्ग बदल्दै अनुरोधको भाकामा ऊ बोल्छ, “अल्छि मान्नु हुँदैन भने २१ वर्षे लाहुरे जीवनको अविस्मरणीय घटना र क्षणहरू बताइदिनुहोस् न मामा ।”
धनसर लामो सास फेर्छ । हस्तको आँखामा हेर्छ । विश्वासहीन हासो हास्छ । उसलाई कसरी विश्वास लागोस् र हस्तेजस्तो जुवाड आलाकाँचो केटोले उसको लाहुरे घटना ध्यान दिएर सुनोस् । उसको त्यो आग्रह एउटा ठट्टा जस्तो लाग्छ । अट्टहास हासोमा बोल्छ, “भान्जालाई लाहुरेहरूको विगत सुन्ने समय छ र ? फेरि कसरी बेला न कुबेला यो रहर आयो भान्जालाई ?”
“लाहुरे जीवन दुःखदायी र दर्दनाक हुन्छ रे ! मैले मामाहरूबाट सुनेँ कि कहिलेकहीँ बाहेक लाहुरे जीवन कहिल्यै सहज र सरल हुँदैन । कहिलाई ट्रेनिङ, कहिले लडाईँ, कहिले के , कहिले के । सधैं व्यस्त, सधैं खतरा । त्यसैले मलाई तपाईँको अतित जान्न चाहेको ।”
उसले धनसेरलाई हेर्छ । धनसेर अलि असहज र अनौठो किसिमले उसलाई हेर्छ । ऊ आफ्नो अतिततिर घोत्लिन थाल्छ । केहीबेरको मौनतापछि ऊ अतितका मीठा नमीठा घटनाहरू रोचक र आकर्षक ढंगले प्रस्तुत गर्न थाल्छ, “सन् ६०-६१ तिर म लाहुरे भएर मलया गएँ । ट्रेनिङ सकियो । त्यसपछि कठिनको जीवन बित्यो । त्यसबेला मलयाका कम्युनिष्टहरू देशको शासन लिन चाहन्थे । उनीहरूको हामीप्रतिको आक्रमण निकै डरलाग्दो थियो । मलयाको विशाल जङ्गलभित्र उनीहरूका बसाइ थियो । कहिले कहीँ बाहिर आएर हाम्रो बिजोग बनाउँथे । हामी पनि विशाल जंगलभित्र जानु पर्थ्यो । हप्तौं, महिनौं जंगल जंगल बस्नु पथ्र्यो । न खान पाइन्थ्यो, न सुत्न । एकातिर कम्युनिष्टहरूको आक्रमण, अर्कोतिर बाघ, भालु र सर्पको डर । कति साथी त हेर्दा हेर्दै लड्थे । कोही फिर्थे कोही माथि पुग्थे । पहिलाभ्पहिला त कम्यनिष्ट भन्नु मान्छे होइन, जनावर लाग्थ्यो । सिनियरहरूले भन्ने गर्थे, “उनीहरू झ्याप्प आउँछन् आँखाको झिमिकमा सबलाई फाँडेर बेपता हुन्छन् । उनीहरू त अचम्मको मान्छे हुन्छन् । साधारण मान्छे भए त्यति छिटो के गर्थ्यो ।” त्यसबेला हाम्रो मनमा ठुलो डर पैदा हुन्थ्यो । मनमनै सम्झन्थ्यौं, त्यो अजीवको मान्छे कस्ता होलान् । पछि आमनेभ्सामने भइयो, लडाइँ गरियो । मान्छे त मरन्च्याँसे, लिखुरे, लुते, भाटे देखिन्थे तर बहुत छिटो, छरितो र ज्याद्रो । उनीहरू देखा परेपछि एक सासमा कुनै न कुनै घटना घटाएरै छाड्ने । हाम्रो हातहतियार, लडाइँका सामान अनगिन्ती थिए । तर ती हाम्रा सामान उनीहरूको रण कौशलता र विशाल जंगलका कारण बेकम्मा थिए । साँच्चै भान्जा ती कम्युनिष्टहरू साह्रै खतरा थिए । हाम्रो जति हातहतियार भए संसार जित्थे होलान् । अहिले हाम्रो देशका माउवादी त्यस्तै त होला नि होइन र ?”
भय र त्रासपूर्ण मानसिकतालाई अलि रोचकता प्रदान गर्न हस्तेले प्रशंग मोड्छ, “अनि मामा रमाइलो पनि त गर्नु भयो होला नि ?”
नराश मुहारलाई परिवर्तन गर्दै धनसेर बोल्छ, “रमाइलो त भान्जा जहाँ पनि एउटै हो । तरुनीको खेती नै विश्व व्यापार हो भन्दा फरक नपर्ला । तरुनीहरू संसारभरि नै पाइन्छ । मरिन्छ कि बाचिन्छ भन्न लाहुरेहरूको मानसिक रोग हो । अलि फुर्सत पायो कि मोजमस्तीमा मस्त भइहालिन्छ । साह्रै रमाइलो गरियो भान्जा ।”
४-५ वर्षको सँगै बसाइपछि धनसेर र हस्ते छुट्टै बस्छन् । त्यसपछि भेट कम हुन्छ । तर फोनमा कहिलेकहीँ दुईबीच कुरो हुन्छ । समय बित्दै जान्छ । धनसेरको सपना साकार हुँदै जान्छ । उसले काठमाडौंमा पाँच आनाको एउटा घडेरी किन्छ । केही वर्षपछि दुई तल्ले घर बनाउँछ । अर्को एउटा तल्ला थप्ने प्रयासमा हुन्छ ।
हस्ते त्यस्तैगरि घोडा रेसमा तल्लिन हुन्छ । उसले भनेजस्तो बाजी जित्न सकेको हुँदैन । एक रेसमा ३÷४ हजार बाजी थाप्छ, हार्छ, मुर्मुरिन्छ, पर्छ ताउछ, छटपटाउँछ, निधार ठोक्छ, भाग्यलाइ सराप्छ । त्यो हारे पछि कहिल्यै नखेल्ने वाचा गर्छ । थोरैबाट सञ्चित गरेर धेरै बनाउँने विचार गर्छ । तर अर्को रेस आएपछि ती वाचा, विचार, सब भुल्छ अनि फेरि बाजी थाप्छ । सँगैको हङकङ प्रवेशको ७ वर्षमा धनसेरले दुई तल्ले घर बनाइसकेको हुन्छ । तर विचरा हस्तेले केही गरेको हुदैन । बरु ऊ ऋणमा डुबेको हुन्छ । घोडामा हारेको एकमुष्ट रकम हिसाब गर्छ । लगभग ५ लाख हङकङ डलर हारिसकेको हुन्छ । उसलाई यो कुलतले मात्र गाँजेको हुदैन । फुटबल, मार्कसिक्स, म्यारिजको कुलतले पनि उसलाई गाँजेको हुन्छ । ऊ सिर्फ यी कुलत पूर्तिको लागि मात्र काम गरिरहेको हुन्छ ।
धनसेर र हस्तेको कौलुनपार्कमा भेट हुन्छ । रुखको शीतलमा हावा खाँदै गफ गरिरहेका हुन्छन् । धनसेर भन्छ, “हैन हौ भान्जा आराम छ ।”
“आरामै छु मामा । अनि मामाको नि ?” नमस्तेको आदनप्रदानपछि हस्तेले जवाफ फर्काउँछ ।
“मेरो पनि खबर राम्रै छ । अनि घोडा रेस खेलिन्दै छ कि छाडियो ? कतै ठूलो रकम त परेको छैन ?” धनसेरको जिज्ञाशा हस्तेको घोडा रेसमै हुन्छ ।
“कहाँ हुनु नि मामा । आज पर्ला, भोलि पर्ला भन्दाभन्दै कहिल्यै परेन । एकपटक सिस्क्स अप झण्डै परेको थियो । १२ लाख ज्याकपोट थियो । ६ अंक मिल्न पर्नेमा ५ अंक मात्र मिल्यो । अन्तिमको एक अंक नआएकोले १२ लाख ३५ हजार खेरो गयो । ७ वर्षमा हङकङ डलर ५ लाखभन्दा बढी हारिसकिएछ । अब चाहिँ हतास लाग्न थाल्यो ।” धनसेरको जिज्ञाशा कम गर्ने आसयले हस्तेले यस्तो उतर दिन्छ ।
“राम ! राम ! राम ! भान्जा ।” लामो सास तानेर धनसेर बोल्न थाल्छ, “५ लाख हारिसक्यौ । ५ लाख हङकङ डलरको नेपाली कति हुन्छ । ९ ले मात्र पनि ४५ लाख हुन्छ । कहिलेकहीं त १० पुग्छ । त्यसबेला त ५० लाख । हेर त भान्जा, मैले आनाको ३ लाख ५० हजारले पाँच आना जग्गा लिएको थिएँ । अहिले त्यहाँ १० लाख आना छ जुन पाँच आनाको ५० लाख हुन्छ । अहिले त्यहाँ दुई तल्ले घर बनाएको छु । बनाइसकेको छैन ८० लाख दिन आएका छन् । तर म त्यो घर बेच्न चाहन्नँ । म चाहन्छु कि अब दुई तीन वर्ष काम गरेर जीवनको अन्तिम क्षण त्यहीं बिताउनेछु । यदि मैले भनेको मानिदिएर भान्जाल त्यो सबै पैसा काठमाडौंका कुनै ठाउँमा लगाइराखेको भए अहिले २÷३ करोडको मालिक हुने थियौ । विनासकाले विपरित बुद्धि भनेको यहीँ त होला ।”
“हो मामा, तपाईंले भन्नु भएको ठीक थिएछ । तर मेरो विवेकले तपाईंको कुरो मानेन । आज पश्चाताप गरेर के गर्नु । म त प्रायश्चित भोग्नुको विकल्प देख्दिनँ । अब यो बुद्धि यो चेतना अर्को पुस्तालाई सुम्पिनु पर्ला । मामाको त आधा इच्छा पूरा भइसके छ । अब त अन्तिम इच्छा पुग्न मात्र बाँकी रहेछ होइन मामा ।“ अट्टहास निकाल्छ हस्ते ।
“हो त नि भान्जा । अब मेरो अन्तिम इच्छा पूरा हुनेवाला छ । व्याजको लोभले कही पैसा नाताहरूलाइ दिएका थिएँ फँसिरहको छ । पैसा नपुगेर बैँकबाट केही ऋण लिएको छु । त्यो ऋण तिरेर केही खर्च बनाएपछि म नेपाल निक्लिहाल्छु ।” धनसेर बोल्छ ।
धनसेरले अर्को तल्ला पनि थप्यो । बल्लभ्तल्ल ऋण पनि छिमल्यो । घरले मात्र भएन । काठमाडौंजस्तो महंगो ठाउँमा बस्नु परेपछि बसेर खाने पैसा त हुनै पर्यो । हुन त उसको पेन्सिन थियो जसले जेनतेन खान पुग्थ्यो तर मान्छेको मनमा लोभले बास गरेको हुन्छ । त्यसैले उसले अझ केही कमाएर जाने विचार गर्या । यसरी १२ वर्ष बित्यो । परिवार र आफन्तहरूको अनुरोधले अन्ततः उ नेपाल निक्लिने भयो, दशैँ र तिहार पारेर । हस्तेले पनि थाहा पाउँछ । फोनबाटै शुभयात्रा र अग्रिम बधाइको कामना दर्साउँछ ।
जब धनसेरका जाने दिन नजिक आइरहेको थियो पेट दुख्ने बिरामीले ऊ सिकिस्त हुन्छ । उसलाई हस्पिटल भर्ना गरिन्छ । पेट दुख्ने बिमार अचानक चाहि थिएन । पहिल्यै दैखि दुख्ने गर्थ्यो । तैपनि ऊ हस्पिटल भर्ना भएको थिएन । यसपालि चाहिँ निकै साह्रो पेट दुखेकोले ऊ अस्पताल जान्छ । ऊ हस्पिटल भर्ना हुन्छ । केही दिनपछि आन्द्राको अपरेशन हुन्छ ।
ऊ हस्पिटल पुग्दा ढोकाबाहिर उनका छोराछोरी नातिनातिनीहरू र अन्य पाहुना हुन्छन् । ऊ ढोकामा बसेका कर्मचारीहरूलाई अनुमति मागेर सरासर भित्र पस्छ । भित्र उनको श्रीमती, ज्वाइँ र एउटा गाउँले भाइ हुन्छन् । ज्वाइँ उनलाई सम्हालिरहेका हुन्छन् । श्रीमति र भाइ कतै सघाउन पर्छ कि भनी पर्खिरहेका हुन्छन् । उतानो परेर सुतिरहेको धनसेरको मुहार हेर्छ । पहिलाजस्तो थियो त्यस्तै देख्छ । पाइपबाट तरल पदार्थ खुवाइदै गरेको र अलिअलि गिलो भात पनि खान सक्ने भएको कुरो उसलाई थाहा हुन्छ । बुढेसकालले गालाहरू चाउरी परेकोबाहेक मुहारको कान्तिमा कुनै परिवर्तन आएको हुँदैन । निकै दुब्लाएको हुन्छ ऊ । उनको बोलीमा जुन दम थियो यथावत हुन्छ । सान्त्वना र ढाढस दिदै हस्ते बोल्छ, “मामा, नआतिनु होला । शरीर भएपछि रोग त गिहाल्छ नै । अब त धेरै राम्रो भइसक्न भएछ । खाना पनि खान थाल्नु भएछ । अब त तपाईं राम्रो भइसक्नु भएछ । खास डर भनेको अप्रेशन हो । अप्रेशन सफल भएपछि डराउनु पर्दैन ।”
ट्वाल्ल परेर धनसेरले हस्तेलाई हेर्छ । उसको बोलीमा निराशा, उदासिनताको भाव स्पष्ट रुपमा पाइन्छ । एकपल्ट कोल्टे फेरेपछि बोल्न थाल्छ, “भान्जा, खोई जीवनको के भरोसा र ! अझै पनि मलाई डर लाग्दैछ कि म मेरो अन्तिम इच्छा पूरा गर्न सक्छु कि सक्दिनँ । तर म यहाँबाट निको भइहालेँ भनेचाहिँ नेपाल गइहाल्छु । नेपाल जान्छु भन्दाभन्दै आज यो अवस्थामा आइपुगेँ । मलाई के ज्ञान भयो भने भरे भोलि भन्न नहुने रहेछ । जे गर्नु छ अहिलै गरिहाल्नु पर्दो रहेछ । तिम्रो पनि चाँडै ज्ञान छिपोस् र सफलताको उकालो चढ ।”
१५-१६ दिनको अन्तरमा हस्ते फेरि अस्पताल पुग्छ । धनसेरको अवस्था ठीक हुनको सट्टा बिग्रिँदै गएको आभास मिल्छ । अप्रेशन गरेको घाउ खाटा बसिसकेको थियो तर अहिल पाक्न थालेका हुन्छ । डाक्टरहरूद्वारा अन्य रोगको शंका गरिन्छ । त्यसको निम्ति अप्रेशन गर्नु पर्ने हुन्छ । तर धनसेरको शारीरिक अवस्था दुर्वल भएको कारण अप्रेशन गर्नु असम्भव हुन्छ । उनको बोली केही लर्बराएजस्तो भान हुन्छ । अहिले त उनी धेरै निराश, उदास, दुःखी देखिन्छन् । हतास मनमा हस्तेसँग बोल्छ, “भान्जा, हिजोअस्तिसम्म त बाँच्छु जस्तो लागेको थियो । अब म बाँच्न सक्दिनँ । डाक्टरहरूको भनाइ अनुसार मेरो अर्को अप्रेशन हुन सक्दैन । मेरो बुढेसकालमा नेपाल गई बिताउने जुन अम्तिम इच्छा थियो त्यो खतम भयो । मलाई यसमा मात्र धेरै दुः ख छ कि दुःखले बनाएको घरमा एक महिनामात्र पनि बस्न पाइनँ । केही दिन भए पनि आफ्नो कमाइको घरमा बस्न पाएको भए म साह्रै सन्तुष्ट हुने थिएँ । तर आफूले भनेजस्तो नहुने रहेछ । भावीले लेखेको कुरो नमिटिने रहेछ । अब मलाई बाँच्छु भन्ने रति आशा छैन ।”
हस्तेले सम्झाउने भरमग्दुर प्रयास गर्छ, “मामा, निराश नहुनुस् । तपाइ बाँच्न हुन्छ । तपाईंले आफ्नो इच्छा पूरा गर्नु हुन्छ । तपाईं अझ धेरैधेरै बाँच्नु हुन्छ ।”
हप्ता दिनपछि धनसेर मामा या चौतीस मामाको देहान्त भएको खबर सुनिन्छ । हस्ते मर्माहत र विक्षिप्त हुन्छ । उसले शून्यताको महसुस गर्छ । उसलाई पनि मृत्युबोधले अठ्याउँछ । उसको घोडा रेस जितेर धनी हुने सपना खरानी हुन्छ । ऊ मनमनै गुन्गुनाउन थाल्छ, “विपनामा सपना देख्नु बेकार रहेछ । विचरा मामा ! अन्तिम इच्छा पूरा नगरी जानु भयो । अलबिदा मामा !” धनसेरको मृतआत्माको शान्तिको कामना गछ र निरार्श निराश बसिरहन्छ ।
सामसइपो , हङकङ, २० मइ, २०१०
(स्रोत : एभरेष्ट साप्ताहिक – हङकङ)