कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन

~इश्वरवल्लभ~

मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन
धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका
भार पनि छैनन्
म स्वतन्त्र छु,
ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा
मेरो ढाडमा आकाशहरु बोकेको छैन;
क्षितिज पनि छैनन्
म पहाडहरुलाई रुखका पातहरुमा सिंगारेर हेर्ने गर्नेछु,
सागरका सबै गहिराइलाई यिनकै उचाइमा सोच्ने गर्नेछु,
मेरा विरक्त स्वरहरु प्रतिध्वनित हुँदैनन् अब,
अब म मेरा स्वप्नहरू बकैनाका रुखहरु र
आरुका फूलबाट-ब्यूँझनेछु |
कति खोलाहरु बगिसकेका छन् यहाँ पनि
अब म मेरा क्रान्तिहरु बगरका शून्यहरुबाट बाँच्नेछु
अँजुलीका आगोहरु खोई
खोई शपथ र प्रणहरु हामीले गरेका
मेरा पुराना आँखीझ्यालहरुदेखिन् तिमीलाई हेर्ने गर्नेछु,
मैले नपाएका विदाईहरुलाई सधै संचयन दिनेछु
मलाई अब पुरानो हुन मन छ
पुराना खण्डहरहरु जस्तै
हामीले मरेका
शायद म दूबो छु जिउनेछु
मैले लगाएका दागहरु नपुछ्नू
त्यहाँ सृजना हेर्ने इच्छा छ भनेकै हुँ,
ओहो ! मैले ती दिनहरुलाई माया गरें भनेर
भनेकै हुँ
म अचेल सिसिफसको कथामा
ढुंगा बोकेर बसेको छु
र पहाड पर्खिरहेको छु |
ओहो ! यी उभिन खोजिरहेका आँखाहरु,
दृष्टिहरू
यी बलिवेदीमा बलि हुन पर्सिरहेका मेरा मासुहरू
टीका लगाइसकेका बाध्य काष्ठको सन्मुख मेरा टाउकाहरु
मैले लेखें
तैपनि मेरा सडकहरुलाई भनिदिनू,
त्यहाँ अरुलाई कुल्चन नदिनू,
यी पश्चिमबाट जाने यात्रीहरुको जहाज पर्खिरहुन्
तिनका गजुरहरुमा अर्कै नयाँ पतका हुने संभावना छ
हावा पनि त प्रतिकूल बग्ने छैन |
म त्यहाँ बिहान एक फेर ब्यूँझेको थिएँ |
यहाँ त्यसरी नै एकफेर ब्यूँझने कुरा गर्दै छु
त्यस बेला जहाज आइपुग्नेछ
पश्चिमबाट हावा बगिसक्नेछ
मैले हिंडेका पाइतालाहरुलाई
आउने यात्रीले फेरि गन्नेछ |
मैले मार्नेहरुलाई मैले चिनेको छैन
कहीं देखेको छैन
शायद मलाई कसैले मार्नेछैन ,
मारिहाले केहि हुनेछैन,
म मेरै संघारमा मर्नेछु
साथीहरु ! त्यसैले धरोधर्म,
कंचनजंघाको शपथ
अहिले मलाई संचै छ |

(स्रोत: कविता सङ्ग्रह “आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्”बाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.