~राजन कोइराला~
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल
विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ
राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ
पश्चिमी संगीतको मोहले मादल र सारंगीको धुन हराउन थालेको छ तहाँ
नयाँ संस्कृतिले पालुवा गाड्दैछ, यो परिवर्तनको लहर अति साह्रो भो,
तिम्रो पालाको नेपाली पहिचानलाई जोगाई राख्न गाह्रो भो,
त्येसैले,
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
त्येसबेलामा जस्तो प्रकृतिको गुन्जयमान आवाज सुन्न पाइन्न अचेल
बरु बन्दुक र बारुदका ध्वनिमा समाज त्रसित र ससंकित देखिन्छ
तिम्रो प्रेरक घाँसीले खनेको कुवाछेउमा दाजुभाईको घाँटी रेटीन्छ
जनयुद्धमा होमिएका नेपालीहरुको लास नदि-किनारामा भेटिन्छ
अन्याय-अत्याचारले सीमा नाघ्यो, एउटा जीवन पनि यहाँ घाँड़ो भो,
तिम्रो मार्ग-दर्शनको खाँचो छ अहिले, तिम्रो जन्म अलि चाँडो भो,
त्येसैले,
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
तिम्रो कवितामा सजिएको सुन्दर मनोरम कान्तिपुरी नगरी
अहिले अव्यवस्थित बस्तीबिचको फोहोरको थुप्रो बनेको छ
हिड्न बाटो छैन, टेक्न माटो छैन, येसैलाई राजधानी भनेको छ
वाग्मतीमा ढल मिसाइन्छ, कच्ची-सडक त्योपनि जताततै खनेको छ
प्रदुषण र महामारीले हाहाकार मच्चाइरहेछ्, तिमी रमाउने ठाउँमा
तिम्रो नेतृत्वको सख्त जरुरी छ, यो गुजुल्टिएको अव्यवस्थित गाउँमा
त्येसैले,
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
तिमी जेल बँस्दा लामखुट्टेले गाउँथे, उपिंया नाच्थे भन्थ्यौ
अचेल जेल जाँदा ठूला-बडा, नेता-हाकिम मात्र भेटिन्छन
बाहिरभन्दा भित्र चर्को गुन्डागर्दी, सोझासाझा सधैं चेपिन्छन
कानूनको किनबेच हुन्छ यहाँ, गरिब दु:खी सधैं हेपिन्छन
तिमी कृति रच्थ्यौ, अहिले जेलभित्रै बन्दुक पड्कन थाल्यो
तिम्रो अनुपस्थितिमा अनुशासनको पाठ नै अड्कन थाल्यो
त्येसैले,
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
तिम्रो रामायणमा जस्तो रामको हैन, यहाँ बाबुरामको गुनगान गाइदैछ
सत्यको लागि लड्ने रामचन्द्रपथ हैन, यहाँ प्रचण्डपथको माग रुचाइदैछ्
संघिय गणतन्त्रको सिद्धान्त भन्दै, देशमा प्रादेशिक विभाजन मगाइदैछ
पृथ्वीनारायण शाहको एकताको सुत्रमा, नेपाल नै शायद नअट्ने भो
तिम्रो आगमनविना नेपाली साहित्यमा, यो द्वन्द अन्त: नघट्ने भो
त्येसैले,
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
राजन कोइराला
२०६८ असार २५, टेक्सास, अमेरिका
(स्रोत : रचनाकारको ब्लगबाट सभार)