~गोपाल अश्क~
मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर
विषले भरिएको जीवन तिमीले पनि जिएर हेर ।
मेरो जीवन जीवन नभई
भइहाल्यो एउटा सजाय
मर्न भयो पनि कठिन है
छैन जिउन कुनै उपाय
जीवन र मृत्युको जालमा तिमी पनि जेलिएर हेर
विषले भरिएको जीवन तिमीले पनि जिएर हेर ।
मैले ठानेँ फूल जसलाई
वेदना दिने निस्कियो काँडा
सँगसँगै हिँड्ने जीवन
साथी भयो निकै टाढा
च्यातिएको जीवनको जामालाई सिएर हेर
विषले भरिएको जीवन तिमीले पनि जिएर हेर ।
जलिरहेछ मेरो मधेश
आँसुले भरिएछ बाटो
जीवन भएछ मृत्युसरी
रक्तरञ्जित भएछ माटो
मैले जस्तो तिमी पनि अग्निपथ हिँडेर हेर
विषले भरिएको जीवन तिमीले पनि जिएर हेर ।
(स्रोत : नेपालीकविता डट कम)