~नगेन्द्र शर्मा~
मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं ।
नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा साधिकार कलम चलाउन सक्ने थोरै नेपाली स्रष्टामध्ये एक । ‘नेपाली जनजीवन,’ ‘अन्डादेखि भ्यागुतासम्म,’ ‘तर्क–वितर्क,’ ‘कथा क्यानडा,’ ‘नेपाल ए टु जेड,’ ‘फोक टेल्स अफ नेपाल,’ ‘सिट अफ स्नो’ जस्ता कृति दिएका शर्मा ८८ वर्षको उमेरमा गत २०७४ फागुन २५ गते हामीबाट बिदा भए । शर्मालाई मैले २०६८ साउन १३ गते काठमाडौँमा भेटेको थिएँ । त्यति बेला उनको आत्मकथा ‘अनुस्मरण’ भर्खर निस्केको थियो र मलाई त्यसैमा लेखक हस्ताक्षर लिनु थियो । प्रवाहपूर्ण लेखन, त्यसमाथि कताकति हास्यको छोप हालेर निबन्ध लेख्नमा कहलिएका शर्मासँग त्यही बसाइका क्रममा यो कुराकानी गरिएको थियो । नेपाली भाषा–व्याकरणमा उथलपुथल चरममा पुगेको त्यो बेला यही र उनको पछिल्लो कृतिलाई केन्द्रमा राखेर गरिएको गफगाफको सम्पादित अंश :
नेपाली भाषा–व्याकरण कसैले भेउ पाउन नसक्ने अवस्थामा पुगिसक्यो भनिन्छ, किन होला ?
अर्को, अरूमा बढी डिपेन्डेन्ड भयौं । हामीले आफ्नो मौलिक व्याकरण निकालेनौं । हामीले हिन्दी वा संस्कृतको व्याकरण कपी गर्यौं । त्यसले गर्दा अन्योल बढ्दै गयो । हेर्नुस् न, त्रिभुवन युनिभर्सिटीका नेपाली विषयका प्रोफेसरहरूको भाषासम्बन्धी संगोष्ठी सधैँ चलिरहेको हुन्छ । के शुद्ध लेख्ने र के अशुद्ध लेख्ने भनेर मारामार परिरहन्छ । एउटाको टेक्स्टबुकमा एक थरी नियम छ भने, अर्काको टेक्स्टबुकमा अर्को थरी । घनटाउकेहरूको हानथापले भाषा बिग्रेको छ । वास्तवमा म जस्ता नेपाली भाषाका सिकारुहरूलाई धेरै अप्ठ्यारो परेको छ । यसले विद्यार्थीलाई झन् अन्योलमा पारेको छ । यही अन्योलले निकास पाओस् भनेर मैले एउटा लघुलिपि प्रस्तावित गरेको छु । लिपि मात्र लघु होइन कि त्यसको व्याकरणै लघु छ । व्याकरणका मुख्यमुख्य बुँदाहरूलाई मैले ‘अनुस्मरण’ मा पनि चार्टका रूपमा बुझाउने कोसिस गरेको छु ।
सबैले आआफ्नै नियम प्रस्ताव गर्दा पो यस्तो भद्रगोल भएको हो कि ? जस्तो : लघुलिपि प्रस्ताव त गर्नुभएको छ, तर आफैँले उति प्रयोग गर्नुभएको छैन ।
हुन पनि सबैले आआफ्नै डम्फु बजाउन खोज्दा पनि नेपाली भाषा–व्याकरणमा यस्तो बेथिति आएको होला । मेरो सवालमा चाहिँ, त्यो लघुलिपि आफ्नै लेखाइमा किन प्रयोग गरिनँ भने, त्यसले त्यति स्वीकृति पाएन । ‘सम्झाउनि–बिर्साउनि’ पुस्तकमा मैले त्यो प्रयोग गरें । सिक्किमको निर्माण प्रकाशनले निकालेको छ त्यो । तर प्रकाशकीयमा ‘यो भाषा प्रयोग हामीलाई त्यति जँचेको छैन, मान्यता दिँदैनौं, तर पनि लेखकको स्वतन्त्रताको रक्षा गर्नका लागि यो हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौं’ भनेर लेखे । डेमोक्रेसी भनेको त्यही हो ।
भाषा–व्याकरणमा जस्तै हाम्रा संस्कृति र परम्पराका मामिलामा पनि तपाईं विद्रोही देखिन खोज्नुहुन्छ । जनै धारण, ब्राह्मणवाद जस्ता विषयको ‘अनुस्मरण’ मा निकै खोइरो खन्नुभएको छ ।
बुझ्नुपर्ने पहिलो कुरा हो— हाम्रो संस्कृतिमा जनै कहाँबाट आयो ? जुन बेला कपडाको आविष्कार भएको थिएन, त्यस बेला हरिणको छालाको पनि जनै लाइन्थ्यो । त्यो खासमा इन्डिकेटिभ अफ ए कास्ट थियो, आर्मीले आफ्नो तह देखाउन लाउने फुली जस्तो । मतवालीले जनै लगाउँदैनन् । जनै नलाउने चाहिँ मतवाली हुन् भन्ने आइडेन्टिफाई गर्नलाई त्यसो गरिएको हो । जनै लाउनेजति खस बाहुन हुन् भनेर यता छुट्टियो । अब त्यसरी किन छुट्टयाउनुपर्यो ? जनैले मात्र जाति छुट्याउँछ भन्नेमा मलाई विश्वास लाग्दैन ।
तपाईं स्वयं कर्मकाण्डी ब्राह्मणका छोरालाई केले प्रेरित गर्यो होला यस्तो दृष्टिकोण बनाउन ?
हो, म ज्यादै अर्थोडक्स परिवारमा हुर्केको मान्छे । मेरा हजुरबुबा, बुबा नै पुरोहित । उहाँहरूले ममा त्यो कर्मकाण्डी संस्कृति यति घुसाइदिनुभयो, त्यही भएर ममा त्यसप्रति विद्रोह जन्माइदियो । खुशवन्त सिंह (भारतका प्रसिद्ध लेखक) को जुन प्रकारले डेभलपमेन्ट भयो, झन्डैझन्डै त्यही प्रकारले मेरो पनि डेभलपमेन्ट भयो । उनको पनि फ्यामिली एकदम अर्थोडक्स थियो । त्यही भएर विद्रोही भए उनी । कहाँ म जस्तो फुच्चे, कहाँ खुशवन्त सिंहजस्ता महान् लेखक † मैले उनीसँग दाँजिन खोजेको चाहिँ होइन । दिनहुँ नुहाइधुवाइ र पूजापाठ नगरी भात खान नहुने !तपाईं ज्यादै संकुचित वातावरणमा हुर्किनुभयो भने तपाईंलाई विद्रोह गर्न मन लाग्दो रहेछ । मलाई त्यही भयो के । त्यतिखेरको खर्साङमा हाम्रो समाज एकदम गरिब थियो । दुईचार घर सम्पन्न थिए होलान्, तर धेरैजसो विपन्न थिए । तिनीहरूलाई पनि हामीले एक्सप्लोइड गर्ने के, राखी/डोरा बाँध्ने भनेर, नाग टाँस्ने भनेर † मलाई त्यति बेलै लाग्थ्यो— हामी छिमेकीहरूभन्दा अलि सम्पन्नै छौं, त्यसैले छिमेकीका घरमा मागेर डुलिहिँड्नु हुन्न । अर्को कुरा, नाग टाँस्दै हिँड्दा हामी विद्यार्थीको समय खेर गयो नि † उनीहरूले ‘मेरो घरमा आएर नाग टाँसिदिनुस् न’ भनेका त होइनन् । आफैं जबरजस्ती गएर टाँसिदिएपछि उनीहरूले मलाई पेमेन्ट गर्नुपर्यो । उनीहरूकहाँ दिनलाई केही छ कि छैन, उनीहरूको इच्छा छ कि छैन भन्ने जजमेन्ट भएन । अनि मलाई लाग्न थाल्यो— हामीले कर्मकाण्ड, धर्म, संस्कृति र संस्कारका नाउँमा समाजलाई धेरै एक्सप्लोइड गर्यौं । अब यसरी चल्दैन ।
तपाईंले लेख्न छुटाएका सायदै विषय छन् । यो कसरी सम्भव भयो ?
सबैजसो विधाका धेरै पुस्तक पढेर । पठनप्रति रुचि मलाई मेरा बुबाआमाबाटै सरेको हो । हाम्रो घरमा लाइब्रेरी थियो । बुबाले केटाकेटी बेलादेखि नै लेख्ने गर्नुभएको थियो । म सम्झिन्छु, ‘महाकाल जासुस’ भन्ने किताब पनि थियो । प्रतिमानसिंह लामाले लेखेको, जो मेरा बुबाहरूको लिडर हुनुहुन्थ्यो, कंग्रेसम्यान । त्यो उपन्यास खर्साङको गिद्दे प्रेसमा छापिएको थियो । म काठमाडौँ आएपछि थाहा पाएँ— यहाँ पनि गिद्दे प्रेस रहेछ, जंगबहादुरले बेलायतबाट झिकाएर स्थापना गरेको । त्यो उपन्यास अहिले कहीँ पनि पाइँदैन । द्याट वाज द फस्ट डिटेक्टिभ नोभल इन नेपाली, द्याट आई रिड । मेरी आमा पनि खुब पढ्ने । उहाँ नाइन्टी इयर्सको उमेरमा पनि चण्डीपाठ नगरी खाना खानुहुन्नथ्यो ।
नेपाली साहित्यिक परिवेशबारे यहाँको बुझाइ कस्तो छ ?
यहाँ भेस्टेड इन्ट्रेस्ट भएका धेरै छन् । गु्रपिजम छ । लेखनको गुणस्तरमा धेरै ह्रास आएको छ । कपीराइट टोटल्ली इग्नोर्ड भएको छ । जसको सिर्जनाबाट जसले फाइदा लिए पनि हुन्छ भन्ने मानसिकता हावी भएको छ । पाइरेसीले सर्जकहरूको ढाड सेकेको छ ।
अर्कातिर, हाम्रोमा पहिले जस्ता कमिटेड राइटरहरू अहिले देखिँदैनन् । दिशाहीन भएका छन् । कोही कमर्सियलाइज भएर गएका होलान् । कसैलाई साहित्यले खान नपुगेर अरू नै काम गर्नुपर्ने बाध्यता आइलागेको होला । यो कुरा रिसर्चवालाहरूले नै खोज्लान् । देवकोटाको जस्तो, शंकर लामिछाने आदिको जस्तो लगाव भएकाहरू अहिले त्यति देखिँदैनन् । उनीहरू कमिटेड हिसाबले साहित्यमा लागेका थिए । फेरि, अहिले इंग्लिसको डोमिनेसन बढ्ता भयो । अहिले सबै युवा अंग्रेजी नै पढ्ने भए । नेपाली साहित्य नेग्लेक्टेड हुनुको त्यो पनि एउटा कारण हो । तेस्रो कारण हो— फेडरिलिजम । यसले गर्दा पहिले नचलेका भाषाभाषिकाहरू अहिले प्रकाशमा आउँदै छन् । जस्तो : पहिलेदेखि आफ्नै व्याकरण भएका लिम्बू, नेवारी, मैथिलीबाहेकका भाषाभाषिकामा पनि साहित्य आउन थाले । हरेक जातिमा अहिले नेसनलिस्ट फिलिङ आएको छ । आफ्नो भाषासंस्कृतिको जगेर्नामा लाग्नुपर्छ भन्ने भावना सर्वत्र आएको छ । त्यसले गर्दा, ‘नेपाली हाम्रो भाषा होइन, खस भाषा हो, हामीले नेपालीलाई किन डेभलप गर्नुपर्यो, बाहुनछेत्रीले गरिहाल्छन् नि’ भन्ने भएको हो कि जस्तो पनि लाग्छ ।
उमेरको आठौँ दशकमा पनि लेखनमा केले सक्रिय पार्ने गर्छ ?
आइडल भएर कोही बस्नु हुन्न, कुनै उमेरमा पनि । झन् बुढ्यौलीमा त हुँदै हुन्न । मेरी श्रीमतीलाई जँचाउन जाँदा डाक्टरले भन्थे— ‘हाम्रो ब्रेन पनि फलाम जस्तै हो । जति चलायो, त्यति तिखारिँदै जान्छ । त्यत्तिकै राखे फलाममा झैँ खिया लाग्दै जान्छ ।’ नेपाल सरकारको कामु सहसचिवबाट रिटायर्ड भएपछि मेरी श्रीमती त्यत्तिकै बसिन् । उनको काम घर बस्ने र यसो डायरी लेख्ने मात्रै भयो । त्यसले गर्दा उनको ब्रेन युज पर्याप्त भएन । अनि उनलाई बिर्सने रोग लाग्दै गयो । आखिर उनी बितिन् पनि । ब्रेन प्रयोग गरिनँ भने आफू पनि त्यस्तै हुन्छु भनेर म सकुन्जेल सक्रिय भइरहन्छु ।
‘अनुस्मरण’ पढ्दा लाग्छ, वार्धक्यले गलाउँदै लगेपछि लेखनशैली चाहिँ बदलिँदै जाँदो रहेछ ।
बूढो हुँदो गएपछि रिफाइन्ड हुँदै गइँदो रहेछ । रिफाइन्ड भन्ने कि माइल्ड भन्ने !पहिले जस्तो एग्रेसिभ भइँदैन रहेछ । उमेरमा जोस जाँगर हुन्थ्यो र आफूलाई सही लागेको कुरा दायाँबायाँ नसोची लेखिन्थ्यो । यो उमेरमा आफ्नो गल्ती रियलाइजेसन पनि हुँदो रहेछ । पहिला एउटा दृष्टिकोणले हेरेर एउटा कुरा लेखियो, पछि त्यो दृष्टिकोण चेन्ज हुँदो रहेछ । मान्छेमा यो कुरा स्वाभाविकै होला । मैले पनि पहिला एउटा ओपिनियन फर्म गरें, त्यसैका बारेमा लेखें, पछि त्यो ओपिनियन त गलत रहेछ भन्ने लागेपछि फेरि चेन्ज गरेँ, गरेको छु ।
जीवनमा कुनै कुरा गर्न छुट्ने भयो भन्ने छ कि ?
आई एम सेटिस्फाइड । मैले जेजति गर्न सकेँ, योभन्दा बढ्ता गर्न सक्दिनँ । मैले जति गर्न सकेँ अथवा गरेँ, त्यो मेरो निम्ति काफी छ । योभन्दा बढी क्षमतै छैन, योग्यतै छैन भने सक्दिनँ । त्यस कारण मलाई केही पछुतो छैन । जीवनसँग मलाई कुनै गुनासो छैन ।
– पारस नेपाल
प्रकाशित : चैत्र ३, २०७४ १०:३६
(स्रोत : कान्तिपुर)