~मनप्रसाद सुब्बा~
तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ?
यो जङ्गलको सास फेराइ सुनेनौ?
त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ ।
भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा
कान थापेर सुन त –
मेरो रगत कुदिरहेको थाह पाउनेछौ
तिमी बोल्छौ मशिनको भाषा
त्यसैले यो जङ्गललाई तिमी
ठीक बुझ्न सकिराखेको छैनौ
तिम्रो कर्पोरेट व्याख्याले त झन्
यो कथाको एक एक वाक्यलाई
शब्द/शब्द गिंडेर क्षत-विक्षत पारेको छ
तिमी पहिले आफूलाई परफ्युमहरूबाट मुक्त गर
अनि थाह पाउनेछौ
रूखहरूको सासमा कसको ढुकढुकीको सुगन्ध छ
तिम्रो विचारलाई आजै
पाल्सी कुराहरूबाट छुटकारा दिइहाल
अनि पो मेरो फेदाङमाको मुन्धुमले
तिमीमा बेस्सरी कम्प छुटाउनेछ
तिम्रा सारा कणहरू तरङ्गित हुनेछन्
र तिम्रो आँखाको रानीमा टाँस्सिएर बसेको सिसाको लेन्स
आफै उप्केर खस्नेछ
त्यसपछि
तिम्रो छ्याङ्ग उघ्रेको आँखाले देख्नेछ जङ्गलको ईश्वर
अनि किराँती बिजुवाले
लुइँचेको प्वाँखको धारले च्वाट् च्वाट् अदुवा काटेको पनि
तिमी देख्नेछौ
जीउमा कम्प छुटेपछि
तिम्रो दुवै कान बुच्च्याएर बसेको इयरफोन
उप्किएर खस्नेछ आफै
त्यसपछि
तिम्रो छ्याङ्ग खुलेको कानले सुन्नेछ जङ्गलको आदिम गीत
अनि सुन्नेछौ मेरो वनझाँक्रीको ढ्याङ्ग्रोको ढङढङ ढङढङ पनि
मेरो कथाको एक एक ध्वनिलाई देखिसकेपछि
तिमी यसरी मुखभरि आराको दाह्रा लिएर डरलाग्दो हाँस्नेछैनौ
जङ्गलको गीतको लयमा
तिम्रो ढुकढुकी चल्न थालेपछि
पातको प्यान्टी लगाएर निस्फिक्री हिँडिरहेका वनकन्याहरूलाई
तिमी राल चुहाउँदै पछ्याउनेछैनौ
(जङ्गल बचाउ आन्दोलनमा संलग्न पेरुका आदिवासी आन्दोलनकारीहरूमा समर्पित)
(स्रोत : “भुइँफुट्टा शब्दहरू” कविता सङ्ग्रहबाट)