कविता : ओ सरकार !

~डी के वाइबा~

ओ सरकार !
तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो
तिम्रै कृषी विभागले वितरण गरेको हो
तिमीले देखेको आर्चरी
तिम्रै खेल विभागले वितरण गरेको हो
तिमीले देखेको हँसिया, मार्तोल र आरी
तिम्रै श्रम विभागले वितरण गरेको हो
अनि तिमी भन्छौ
हामी हतियार बोक्ने आतङ्ककारी?

तिमी कृषी विकासको कुरा गर्छौ
अनि कृषकलाई कोदालो दिन्छौ
तिमी खेल विकासको कुरा गर्छौ
अनि नानीहरूलाई आर्चेरी दिन्छौ
तिमी चियाको बुट्टा फाँड़्न हँसिया दिन्छौ
तिमी वोर्डको घर बनाउन मार्तोल र आरी दिन्छौ
अनि भन्छौ हामी आतङ्ककारी?

यदि तिमीले वितरण गरेको
कोदालो, आर्चरी, हँसिया, मार्तोल र आरी
विफोटक हतियार हो भन्छौ भने
यदि तिमीले दिएकै सामाग्री देखाएर
हामी हतियारधारी आतङ्ककारी ठान्छौ भने
तिमी विफोटक समाग्री निर्माण गर्ने कारखाना हौ सरकार !
यदि तिमीले दिएकै सामाग्री चलाउँदा आतङ्करी ठान्छौ भने
तिमी आतङ्ककारी जन्माउँने अड्डा हौ सरकार !

(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.