~नवराज सुब्बा~
समान रुपमा
हामीले बोल्ने बुझने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरु
जब माकुराहरु जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
काखा पाखा लगाइन्छन् अर्थहरु
उभ्याइन्छन् भेदभावका पर्खालहरु
बन्दी बनाइन्छ शब्दावली
निर्वश्त्र चुटिन्छन्
छानी छानी शब्दहरु
न्याय नपाई शब्दहरु
सडक पाखा भौंतारिन्छन् ।
चपाइएका शब्दहरु
धरातलबाट धकेलिएका शब्दहरु
कविता, गीत र सडकमा
अर्टाई नअर्टाई ओइरिरहेछन्
संगीत र धूनमा पछारिएका छन्
मसीमा रुपान्तरित भएर
शब्दहरु पाना खोजिरहेका छन्
रगतमा अनुवाद भएर शब्दहरु
जीवन खोजिरहेछन्
शब्दहरु
खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।
– विराटनगर
(स्रोत : नेपालीकविता डट कम)