कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~

इश्वरद्वारा इश्वरहरूकै लागि
इश्वरकै स्पर्षले फुल्छन् फूलहरू
इश्वर कै इशारामा
सुगन्ध फैलाउँछन्
मनमोहक फूलहरू इश्वरकै देशमा ।
फूलहरू
इश्वरको स्पर्षमा फक्रन्छन्
फूलहरू
इश्वरकै स्पर्षले ओइलिन्छन्
तर मानव वस्तीमा
मानवका हुलहरू आज्ञाकारी भेटिँदैनन् कहिल्यै
स्वायत्तताविहीन मानवहरू
धेरै हदसम्म अनुशासनहीन हुन्छन्
अति आन्दोलित रहन्छन्
मानव वस्तीभित्रका मानवहरू
सदा विद्रोही रहन्छन्
युद्ध प्रेमीहरू, युद्धरत रहन्छन्
रूपान्तरण उनीहरूको नियती हो ।
फूलहरू
स्वयम् इश्वरकै प्रतिनिधिझैँ
सजाइन्छन् इतिहासमा
हटाइन्छन् इतिहासमै ओइलिएका
तर फुलिरहने छन् कालान्तरसम्म
चिसो, तातो, हावा, पानी सहेर
गतिशिल ती फूलहरू
हर रूपान्तरणहरूलाई स्वीकृति दिँदै
आस्थाको गर्भभित्र कैद हुन पुग्दछन्
उत्साहको सगरमा
महान उत्सव, महान यात्राको उद्घोष गर्न
र फेरि फूल बनेर फुल्न ।
फूलहरू
इश्वरको स्पर्षले फुल्छन्
ओइलिनेछन् इश्वरकै लागि…।

-भक्तपुर सल्लाघारी, नेपाल

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.