~गणेश शर्मा~
साहित्यले बाटो बिराउँदै गयो,
प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो ।
जोडी करान्जली दुवार वीच,
चाकडी मात्र हुन गो उदेक ।।
विद्धानको विद्धता कता गयो ?
मगन्तकोे झोली र थैली झैं भयो ।
छुटयो प्रतिबद्ध विधा विशेष,
फर्के हेर, अब बाँकी के छ ?।।
कुन वर्ग तिम्रो अनि को तिमी हौ ?
त्रिशंखु जस्तै कतई भएनौ ।
धरा नटेक्ने न नभ आधार,
सोच कवि के छ ? अव विचार ! ।।
निष्पट्ट निशाा वीच यात्रा जस्तो ,
श्रष्टा विगत बादल भित्र नै वित्यो ।
निद्रा छ कि बाँकी अझै पथिक हो ?
ब्युँझ उठ हिँड अबेर भैसक्यो ।।
टालेउ टाला कवि हो सुधारका,
काला पहेंला अनि केही राता ।
एकमाथि अर्को थपिंदै गईसक्यो ,
फेर्नु प¥यो यो परिवेश आजको ।।
चाकडीमा धेरै दिन हल्लिएर,
छिनेछ थुँगो त्यो लिँडे बनेछ ।
नदिन्छ शोभा न त उडछ माखो,
टेक कि भाँच लउरो सरी भो ।।
गणेश शर्मा, जोरपाटी काठमाण्डौ
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)