~तीर्थराज वन्त~
मेरो आँगनको डील सम्म
क्रान्तिका लहरहरू
आउँदै जाँदै गर्छन्,
अनि मेरा साथीहरू
इतिहासका पाना पल्टाउँदै भन्छन् –
अब त पर्खाल तोडिन्छ होला
क्षितिजमा नयाँ बिहान
ओर्लिन्छ होला,
तर मेरो छोरो
झोलाभरिको किताबमा
अलिकति सत्य असंख्य असत्य बोकेर
घर स्कूल ओहोर दोहोर गरिरहेको हुन्छ
अनि म
मेरा क्रुसिफाइड आस्थाहरूलाई
झ्याल खोलेर एकै छिन
स्वच्छ हावा र
शुद्ध उज्यालो देखाउँछु,
यसरी शोक कविताको अन्त हुन्छ
मेरो आँगनमा ।
-काठमाण्डौ, नेपाल
(स्रोत : नेपालीकविता डट कम)