~विप्लव प्रतीक~
आज ऊ फेरि आउनेछ तिम्रो घरमा
बाहिर उसको पदचापले नै
तिमीलाई थाहा हुनेछ
ऊ आइपुगेको कुरा ।
तिम्रा ढुकढुकी बढ्नेछन्
र, लाली छाउनेछ गालामा
जूनको उज्यालो आँखामा आउनेछ
शरीरलाई खहरेको चञ्चलताले बेर्नेछ
पाइलाले हरिणको चाल पाउनेछ
आँखीभौँ तिम्रा इन्द्रेणी बन्नेछन्
ओठमा परी मुस्कुराउने छिन्
बाँधिनेछौ दुवै अँगालोमा
र, अँगालो तिम्रो बन्नेछ
माया र न्यानोपनको अनुपम उदाहरण ।
एकछिन दुवैको अँगालोको न्यानोपन महसुस गरेपछि
तिम्रो काखमा सुत्नेछ ऊ
तिम्रा रेशमी केश उसको गालामा झर्नेछन्
र, कुतकुती लगाउनेछन् उसलाई
उसका हातहरू तिम्रा गर्धन, गाला र कान हुँदै
ओठमा पुग्नेछ
र, तिमीले म्वाइँ खानेछौ औँलालाई
अनि त्यो औँलालाई उसले
कुनै दिन मैलेझैँ चुम्नेछ
जुरुक्क बोकेर तिमीलाई फन्को मार्नेछ
र, दुवै बेरिएर एकअर्कामा
रुझ्नेछौ मायाको वर्षामा ।
यता म यी सबै कुरा महसुस गरेर
रुन्छु, कल्पिन्छु, जल्छु र खरानी हुन्छु
मेरा गरिब आँखाले बुनेका धनी सपनाहरू पनि
मसँगै खरानी हुन्छन्
आँधीबेहरी आउँछ सहरमा मेरो जीवनमा जस्तै
र, दयालु हावाले उडाएर लैजान्छ
म र मेरो सपनाको खरानीलाई ।
लहरिँदै, कावा खाँदै
प्याराग्लाइडिङ् एक्रोब्याट गरेझैँ
सहरको चारैतिर उडिरहँदा
हठात् झस्किन्छु म- तिम्रो झ्यालको करिब पुगेको रहेछु ।
आँधी चल्दा निश्चित रूपमा
अरूले झैँ तिमीले पनि झ्याल थुन्छौ
मेरो सौभाग्य
अलिकति त पस्न भ्याएको हुन्छु
र, टाँसिन्छु तिम्रा केश, ओठ र छातीमा
अनि बाँकी बचेको यो निष्ठुर सहरको
कुनै ठाउँमा छरिन्छु
तिमी फेरि अभिसारण गर्दैछौ न्यानो कोठामा
तातो चुम्बनको पोखरी र प्रीतिको अँगालोमा ।
धरान,
हाल-काठमाण्डौ, नेपाल