~मनप्रसाद सुब्बा~
उखरमाउलो गर्मी छ ।
हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन्
अनि फेरि मलाई तिम्रो याद आउँछ ।
थर्ममिटरका पाराहरु
मेरो अनुहारमा कोरिएका छन्
उमेरको डिग्री अङ्कित गर्दै ।
घाम अबिराम वर्षा छ ।
यो अग्निवर्षाको तापमा पग्लेर
दिनहरू/अझै हिँडिनसकिएको
यो बाटो बनेर बगेका छन् ।
यो बाटोछेउ कतै
सपनाका हाँसहरू खेल्ने
एक जोडी धाप थिए
ग्रीष्मको बलजफ्ती दखलमा
ति कहाँ हराए, ताहा छैन ।
(यस बेला फेरि मलाई
तिम्रो शितल आँखाहरूको संझना भइरहेछ ।)
यस्तरी रापिएर धापिएय पनि
यात्रा घिस्रिरहन सक्दो रहेछ ।
घामका लपलपाउँदा लप्काहरू जलेर
मेरो यो बाटो छटपटिरहेछ ।
यतिबेला म
यौटा रुखको एक अञ्जुली सियावल पिएर
शीतल हुन चाहान्छु ।
तर खै,
तिमी त्यहाँ जो रुख उभिएथ्यौ,
आज कहाँ छौ ?
टाढा कहाँबाट आइरहेको
न्याहुलको एकहोरो आवाज मात्र सुनिरहेछु ।
दार्जिलिङ, भारत
(स्रोत : नेपालीकविता डट कम)