कथा : समय–अन्तर

~आन्विका गिरी~Anbika Giri

“ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर पनि तिघ्रा देखाउने कट्टु लगाएर हिड्छे। तँ जत्रो हुदा त हामी नानीका आमा भै-सकेका थियौँ” साइकलबाट लडेकी रोस्निलाई उठाउनु त कता हो कता सुवेदारनी वजैले ताली बजाइन। बाहिर देखाउँदा सुवेदारनी वजैले मार्छिन भन्ने डर भए पनि भित्र भित्र दार्हा किटिरहेकी रोस्निले एकै छिनका लागि त आफु लडेकै ठाउँमा सुवेदारनी बजैलाई उचालेर थचारी दिउँ कि भन्ने पनि सोची, सोचेर के गर्नु गर्न नसकेपछि त्यसैले त्यो कुरा धेरै बेर सोचिन उसले। ठुला आँखा अझ ठुला पारेर हेरी बरु एकछिन अनि साइकल उठाइ। घुडामा चोट लागेकोले रगत आइरहेको थियो। जीउभरी धुलो नै धुलो थियो, टकटकाइ। घर नजिकै थियो, त्यसैले साइकल डोर्याएर जान लागेकी उसको मनमा के आयो खै, “तपाईका कपाल चाँहि खुब ठुला, माउसुलिको पुच्छर जत्रो पनि छैन” भनेर रोस्नि साइकल चढेर भागि। रिसले होला घाउ पनि दुखेन उसलाई। सुवेदारनी बज्यै एकछिन फत्फताइन तर रोस्निले सुनिन।

टाँक भएको चोलो जसमा दुइवटा खल्ति हुन्थे। कम्मरमा पटुका र धोती लाएकी सुवेदारनी बज्यै होची र पातली काँटकी थिइन्, यस्तो लाग्थ्यो यउटा बाँसमा कपडा बेरिएको हो। उनको चोलोमा भएका खल्तिमा विडिं बनाउन काम लाग्ने सुर्ति हुन्थे र पटुकामा चाँहि यदाकदा पैसा नभए प्रायसो सलाइको बट्टा र सुर्ति बेर्न काम लाग्ने सखुवाका पात हुन्थे। झन्डै असि पार गर्न लागेकी उनी गाउँकी पाकी आइमाइ थिइन्। चौबिस घण्टामा उनि जति समय सुर्ति खान्थिन् त्यो सुर्ति खानका लागि त्यो भन्दा बढि समय बत्ति काट्थिन। वल्लो पल्लो गाउँका मान्छेहरु कपास लिएर आउँथे। एक हजार बत्ति काटेको तिस रुपैया लिन्थिन्। उनका बुढा सुवेदार थिए रे तर गाउँका केटाकेटी कोहि जान्दैनथे। सोध्ने हिम्मत कसले गर्ने खै किन हो उनका नाती नातिनी बाहेक उनको छउमा अन्य केटाकेटी विरलै जान्थे। उनी अलि ठाडो स्वरमा बोल्थिन् र कहिले काँहि उनको छोराको गुम्ति (पसल) को पछाडि बसेर बत्ति काति रहेको बेला केटाकेटी कुद्डा झक्किएर छोयो मात्र भने पनि निकै बेरसम्म कराँउथिन, “मर्न नसकेकाहरु”। दाँत सबै तगडा थिए, उनि मकै पनि चपाउँथिन तिनै दाँतले। खुम्चिएको अनुहार, ठूलो नाक, रातो वर्ण खासै उल्लेख गर्नुपर्ने कुरा नभए पनि पुरै सेतो छोटो कपाल, पछाडीबाट हेर्दा टाउको गोलो भएकोले होला, गोलो माटाको भाडामा चुन लाए झै देखिन्थ्यो।

रोस्नि, उज्याली, गोरी, मोटी, ठूला ठूला आँखा भएकी, छोटा कैला कपाल भएकी हेर्दा केटा झै देखिन्थि। माथी सेन्डो गन्जि र तल घुँडा भन्दा माथि हुले कट्टु लाउँथि, “यी मेरो वडि हेर” खुला रहेका पाखुरा उचाल्दै साथीहरुलाई देखाउँथि। ७, ८ वर्षकी यो केटी सार्है चञ्चले थिइ तर सार्है साहसी पनि। राम्रो पद्थि, गाउँमा सबैकी प्यारी थिइ। केटाकेटीको त राजा नै थिइ। ठूला मान्छेसंग पनि नडराइ बोल्थि। रोस्नि ठुलो परिवारकी थिइ। उसको ठूलो दिदीलाई क्याम्पस जान किनिदिएको साइकल दिदीले बिदामा घर ल्याएको मौका पारेर यसपाली साइकल सिकेकी थिइ। भर्खर भर्खर सिकेको भएर होला, घाम छायाँ नभनी दिनभर साइकल कुदाइ रहन्थि। “मैले माथीबाट चलाउन सिके नी ल हेर” साथीहरुलाई बडो गर्वका साथ देखाएकी थिइ पहिलो पटक माथिबाट साइकल चलाउँदा। ब्रेक लगाउँदा पनि पर उछिट्टिएला झैँ बडो बेगले साइकल हकाउँथि, “म त रवि दाइलाई नी जित् न सक्छु” उ आफ्नो बेगमा प्रसन्न देखिन्थि।

“यो साइकल पनि न्यहि सुवेदारनीकै अगाडी आएपछि लड्नु पर्ने” घर आएपछि भतभताउँदै साइकल माथी रिस पोखि। साइकललाई उचालेर पछारी अनि फेरी उठाइ। कलमा गइ र घाउ धोइ, हात खुट्टा मुख धोइ। घर भित्र पसेर मुख पुछ्दै गर्दा ऐनामा नजर पर्यो। पहिला उसले आफ्नो कपाल हेरी, अनि कट्टु। “आफ्नो चाहि कत्ति न बार्ह फिटको कपाल भएजस्तो? मेरो जत्रोसुकै कपाल होस उनलाई के? आफू चाँहि त्यस्नी बुढि भएर पनि हेर न मेरो भन्दा पनि सानो छ कपाल। मलाई भन्नेले आफूले पाल्नुनी” ऐना अगाडी उभिएर सुवेदारनी वजैमाथि रिस पोखी। एक्कासी के सोची कुन्नि, कुद्डै कुद्डै बाहिर निस्कि। “हजुरबुवा, हजुरबुवा” एकोहोरो हजुरबालाई बोलाइ। “बुवा बारीमा हुनुहुन्छ। किन चिच्याएकी त्यसरी उसकी फुपुले भनिन। उसकी फुपुले उसलाई एकछिन हेरिरहेको देखेर, “हजुरले पनि मेरो कपाल र कट्टु त हेर्नुभएको होला नी, मलाई पाल्नुछैन ठूलो कपाल, जोसुकैले जेसुकै भनुन” यनि भनेर उ घर पछाडीको बारीतिर कुदि। फुपुले कुरा बुझिनन् र वाल्ल परिन, “के भा’को होला यो केटीलाई”

“हजुरबुवा के रोप्नुभा’को?” हजुरबुवासंग लेग्रो पसारेर बोल्थि, सार्है मिठो बोल्थि। हजुरबुवा ७५ को हाराहारीका मान्छे, प्रायसो दिन बारीमा नै बिताउँथे। तरकारी रोप्नु, गोड्नुमा खुब रुचि थियो बुढालाई। आफूले लगाएको तरकारी सप्रिदा गाउँका मान्छेलाई पनि ल्याएर देखाउँथे। बारीमा काम गर्दा पूरै ध्यान माटोमा हुने भएकोले मान्छेतिर नहेरी कुरा गर्थे र कम बोल्थे।

“सागको बिउ छरेको नी” हजुरबुवाले बिस्तारै भने।

“के को साग रायो हो कि मुर्छा?” उसले पनि अलि अलि जाने झै गरेर भनि। हजुरबुवा बारीमा अनि उ चाँहि आलीमा तर हजुरबुवा जति जति पाइला बढाउँथे उपनि सर्दै जान्थी।

“रायो” हजुरबुवाले भने।

“हजुरबुवा बुढि आइमाइले कपाल काट्दा केहि पनि हुँदैन हो?” उसको यो प्रस्न सुनेर हजुरबुवाले अचम्म मानेर उनिर टाउको फर्काए। उसको घुडाको आलो घाउ स्पष्ट देखिरहेको थियो।

“के भयो खुट्टामा?”

“साइकलबाट लडेको, हेर्नुन केटीले साइकल चलाउन हुँदैन रे, मेरो कपाल पनि सानो भयो रे, अनि कट्टु पनि नराम्रो भयो रे, सुवेदारनी वजैले भनेकी, उनको कपाल चाँहि किन सानो नी? हजुरबुवा बुढि आइमाइ भएर झन कपाल काट्नु हुन्छ त? हेर्नुन मलाई सुवेदारनी वजैले गाली गरिन्” उसले एकै सासमा भनि। उसले आफ्नो घाउको भन्दा सुवेदारनी वजैको बढि कुरा गरी। उसको लागि हजुरबुवा सार्है प्रिय थिए। जे पनि सुनाउँथि। उ ढुक्क भइ अब सुवेदारनी वजैलाई हजुरबुवाले हप्काउनुहुन्छ मेरी नातीनीलाई हप्काउने भनेर, हजुरबुवालाई भनीहाले भनेर उ मख्ख पनि परी।

“तँलाई मैळे साइकल नहका भनेको हैन, हेर त कत्रो घाउ भएछ। तँ सार्है चकचके भइस, जा आमासंग औंषधि मागेर लिएर आइज म लाइदिन्छु” हजुरबुवाको कुरा सुनेर छक्क परी।

“लाउँदिन म दवाइ सवाइ, सबले मलाई नै भन्ने, आफ्नो नातिनीको माया भए पो? इस् कट्टि” भनेर त्यँहाबाट भागि। हजुरबुवाले सुवेदारनी वजैलाई गाली नगर्ने छाँट देखेपछि आफ्नो मनको बह कसलाई भन्ने भनेर सोच्दै थिइ कि परबाट बुवा आइरहेको देखि। नजिक आइसकेपछि टोपी फुकाल्दै बुवाले भने, “रोस्नि एक ग्लास पानी ले त, कस्तो गर्मी, यो बैशाखको गर्मी पनि सार्है गार्हो हुन्छ” रोस्नि ग्लास लिएर कलतिर जान लाग्दै थिइ, “ए एता आ’त, के भयो खुट्टामा? कँहा लडिस्?” बुवाले घउ देखीहाले र सोधि पनि हाले। बुवाको यो प्रस्नको पहिला त उसलाई उत्तर दिन नै मन लागेन तर फेरी बुवालाई भनेरसुवेदारनी वजैलाई गाली ख्वाउँछु, बुवाले त कसो नसुन्नुहोला मेरो कुरा भन्ने सोची।

“साइकलबाट लडेको। ति सुवेदारनी वजैले ………..”

“आफुभन्दा ठूला मान्छेलाई के भनेको त्यो ती वँहा भन्नुपर्छ” बुवाले उसको कुरा विचमै काटेर भने। उ निलि, काली भइ।

“झन कत्ति न बुवा भनेर भनेको उल्टै गाली मात्र खाएँ। इस् भन्छु वँहा, ति बुढिलाई” मनमनै रिसले मुर्मुरिइ।

“के भयो जा पानी लिएर आइज अनि दवाइ लाइदिउँला बुवाको कुरा सुनेर कल गइ र पानी ल्याएर अँध्यारो मुख लगाउँदै पानी दिइ।

“लाउँदिन म दवाइ सवाइ, मलाई दुखेको छैन” आफ्नो कुरा वुवाले नसुनेपछि उ रिसले रन्थनिदै उसकै घर अगाडी घर भएकी जुनेली दिदी कँहा गई। जुनेली दिदी एक्लै बस्थिन्। उनका कोहि पनि सन्तान थिएनन्। उनी रोस्निलाई खुबै माया गर्थिन्।

“ जुनेली दिदी आज के तरकारी पकाउनु भएको छ?”

“त्यति धेरै तरकारी एक्लै खानुहुन्छ?” खाना खाने बेलामा यदि रोस्नि त्यँहा पुगिहाली भने उ यसरी नै लेग्रो तानेर सोध्थि। जुनेली दिदी निकै मोटी थिइन्। जुनेली दिदी दिउँसो खाना खाएर ओछ्यानमा पल्टेकी थिइन्। नियाउरो अनुहार लिएर रोस्नि पुगि। ढोकामा उभिएराखी। जुनेली दिदीले आँखा खोल्न ढिलो गरेपछि छेउमा गइ र जुनेली दिदी उठ्नुन भनि।

“ए! रोस्नि के भयो किन यस्तो अँध्यारो अनुहार “ जुनेली दिदीले रोस्निलाई बोकेर खाटमा बसालेपछि सोधिन।

“झगडा गर्यौ कि लडेर बनाएको नी यो घाउ” जुनेली दिदीले औँलाले घुँडातिर देखाउँदै भनिन्।

“साइकलबाट लडेर बनाएको” आफ्ना बुवा र हजुरबुवाले आफ्नो कुरा नसुनेपछि उसले झट्टै जुनेली दिदीसंग सुवेदारनी वजैको पोल लगाउने साहस गरिन तर घुमाउरो पारामा सोधि, “हजुरको अगाडी साइकलबाट एउटा मान्छे लड्यो भने हजुर त्यसलाई गाली गर्नुहुन्छ कि उठाउनुहुन्छ? “उठाउँछु नि किन गाली गर्नु” जुनेलि दिदीको यो उत्तरले उ हर्षित भइ र अब तयार भइ सुवेदारनी वजैको पोल लाउन।

“हेर्नुन आज म साइकलबाट लड्दा सुवेदारनी वजैले मलाई गाली गरिन्, छाडा भनिन्” उसले लाडिएर भनि। “त्यस्तै हो वुढी मान्छे” जुनेली दिदीले यो कुरालाई सजिलो रुपमा लिइन।

“नाइँ हजुरले गाली गरिदिनु न, अर्कालाई कपाल छोटो रे उनको चाँहि कत्रो छ नी?” उसले विनयको स्वरमा भनी। “अब मैले कँहा त्यति ठूलो मान्छेलाई गाली गर्नु, बुढाबुढी त्यस्तै हुन्” जुनेली दिदीले भनिन्। उसले एककोहोरो जुनेली दिदीतिर हेरी, उनि बोलीरहेकी थिइन्, “बरु यो घाउमा औंषधि नलगाएर के हिडिरहेकी, घाउ पाक्छ जाउ घर औंषधि लगाउ” अब चाँहि उसले सहन सकिन, “इस हजुर पनि डरछेरुवा, सुवेदारनी वजैसंग डराउनु भयो, वुढि मान्छे भन्दैमा जे पनि भन्न पाइन्छ, खै त हाम्रो हजुरबुवाले कल्लाइ नी केहि भन्नु हुन्न त। अबदेखि हजुरसंग पनि कट्टि अबदेखि हजुर एक्लै तरकारी खानु, म आउँदिन के!” रोस्नि बड्बडाउँदै घर आइपुगि। आज उसलाई जुनेली दिदी पनि आफ्नो साइडको मान्छे होइन भन्ने लाग्यो।

साँझ परिसकेको छ। गाउँ सानो भएता पनि थुप्रै केटाकेटी छन्। सबैजना रोस्नि कै घरमा आउँछन् पहिला अनि कहिले ठूलो स्कूल (छेउको मा.वि) त कहिले बोर्डिङ्ग स्कुलको चौरमा खेल्छन्। प्राय बोर्डिङ्गको चउरमा जान्छन्। ठूलो स्कूलमा ठूला केटाहरु फुटबल खेल्छन्।

“नाँइ आज म खेल्दिन, तिमीहरु नै खेल” रोस्निले खेल्न मन गरिन।

“नाँइ हिड्न के भयो हिड्न” प्रविनले भन्यो।

“अबुइ रोस्नि के भयो खुट्टामा, कत्रो घाउ” रिताले डर मान्दै भनि र सब केटाकेटीले हेर।

“के भएर घाउ भा’को भनन किन नबोलेकी, तिमीलाई रिस उठेको छ हो?”फेरी रिताले नै सोधि, रोस्निले अघिल्लो प्रस्नको उत्तर नदिएपछि। रोस्नि चूप लागेर बसिरहेकी थिइ। हुन त उसलाई पनि साथीहरुसंग आफ्नो मनमा गुम्सिइको कुरा पोख्ने मन त थियो तर भनेर के गर्नु साथीहरुले सुवेदारनी वजैलाई केहि भन्न सक्ने हैन फेरी रिता त सुवेदारनी वजैकी नातिनी! डर पनि लाग्यो तर फेरी भनि, “साइकलबाट लडेको। हेरन मलाई तिम्रो हजुरआमासंग एकदम रिस उठिरहेको छ, मलाइ त कस्तरी गाली गर्नुभयो”

“अँ हो बाबै हाम्रो हजुरआमा त जसलाई पनि गाली गर्नुहुन्छ” रिताले रोस्निकै होमा हो मिलाइ।

“तिमीहरुको हजुरआमा त जसलाई पनि गाली मात्र गर्ने, छुच्चि है” रोशनले रोस्निलाई खुसि पार्न भन्यो। केटाकेटीले सुवेदारनी वजैलाई थुप्रै गाली गरे। रोस्नि केहि गरे पनि मानिन, जति गरे पनि उ अध्यारो मुख लाएरै बसिरहि। केटाकेटी हार मानेर खेल्न गए। आज पहिलो पटक रोस्नि खेल्न गएकी थिइन। “हजुरआमाले गर्दा रोस्नि खेल्न आइन, कस्ति छुच्चि” सबै केटाकेटीले अन्तिममा एकै स्वरमा भने।

सँधै हल्लाखल्ला गर्ने रोस्नि आज चुपचाप एउटा कुनामा बसि रहि। सबैजना घर आए, कुरा भए। तर रोस्नि सँधै जस्तो आज यस्तो भयो नी, आज उस्तो भयो नी भन्दै आइन। घर ने शान्त थियो।

“रोस्नि खाना खान आउ” आमाले बोलाएको सुनेर रोस्नि बिस्तारै उठि र भान्साभित्र छिरी। सोचेकी थिइ आमा एक्लै हुनुहोला र आमासंग दुखेसो पोखौँला अरुले नसुने पनि आमाले त कसो नसुन्लिन र! तर भित्र त सबजना खाना खान बसिसकेका रहेछन्। हजुरबुवाले मुछेर ठिक्क पारिदिएको खाना सानो थालमा नयार थियो। “आउ आउ बस” आमाले बोलाइन्। उ रुन मात्र आटेकी थिइ, फेरी किन हो रोइन। सबजना पकापक खाना खाइ रहेका थिए। उ टुक्रुक्क बसी र भातको गाँसमा टिपी तर मन भने थिएन। हजुरबुवाले खाना खाइसकेर उठ्न लाग्दा भने, “दुलहि अहिले सुत्ने बेलामा यो रोस्निको घाउमा औंषधि लाइदिनु”

“औंषधि लाइदिनु भन्यो, भयो, कत्ति न माया गर्छु भनेको होला तर मलाई थाहा छैन” रोस्नि मनमनै बड्बडाइ।

“हजुरबुवा भान्सा गर्न हिड्नुस रे” रोस्नि सधैँ हजुरबुवालाई खाना चढाउनु हुन्थ्यो र अलिकति पानी हालेर मात्र खाना खान्थे तर आज उसले न त हजुरबुवालाई भान्सामा डाकी न त पात र पानी नै ठिक्क पारी। उ पनि थोरै खाना खाएर उठी। उसलाई पढ्न पनि मन लागेन। उसको हजुरबुवा रेडियो नेपालको घटना र विचार सुन्दै थिए। उ ओछ्यानमा पल्टि तर निद्रां लागेन। उसलाइ घाउ दुखेको छैण, मन दुखेको छ। उसका कोहि आफ्ना रहेन छन्, त्यसैले त कसैले पनि उसको कुरा सुनेन। कपालमा हात राखि, कट्टु छामी अनि सुवेदारनी वजैको कुरा सम्झि। एकै छिनमा टाउको दुखेजस्तो भयो, फेरी पेट पनि दुखेजस्तो भयो। सबैतिर दुख्न थाल्यो। तर यहिनिर यहि दुखेको भनेर उसले थाहा पाउन सकिन। तल आमाले धन्दा गर्दा आएको आवाज उसले सुनिरहेकी थिइ।

“रोस्नि सुतिसक्यौ कि क्या हो, आउ म घाउमा औंषधि लाइदिन्छु” एक्कासी आमाको बोली सुनेर उ झस्कि। आमा माथि आइसकेको उसले पत्तै पाएकी थिइन।

“म औंषधि लाउँदिन” उसले रुञ्चे स्वरमा भनि।

“ल के भनेको त्यस्तो ज्ञानी मान्छेले, घाउमा औंषधि लाएन भने पाक्छ र पछि आफैलाई दुख हुन्छ, उठ मेरी ज्ञानी छिरी” आमाले फकाउनुभयो। “इस्, हैन म ज्ञानी मान्छे, ज्ञानी मान्छेलाई त सबले माया गर्छन्, कसले नी गाली गर्दैन तर मलाई त सबले गाली गर्छन्, सुवेदारनी वजैले पनि ……..” उ रुन थाली।

“नानु के भयो ल ल नरोउ त के भयो भन त, मेरी ज्ञानी छोरीलाई कसले गाली गर्यो, तिमीलाई गाली गर्नेलाई म पनि गाली गर्छु” आमाको यो कुरा सुनेर सुक्क सुक्क गरिरहेकी रोस्नि उठि र आमातिर हँसिलो अनुहार बनाएर हेरी।

“सांच्चै” आँशु पुछ्दै भनि।

“साच्चै” आमाले काखमा राखेर भन्नुभयो।

“ल के भयो भन त,कस्ले के भन्यो मेरी छोरीलाई ” आमाको मायालु शब्दले रोस्निको जीउमा नयाँ ज्यान हाले झै भयो।

“ छ नी आमा आज म साइकलबाट सुवेदारनी वजैको घर अगाडी नै लडे, वजै पनि त्यहि थिइन। मलाई कस्तरी गाली गरिन, उत्ताउली रे म, मेरो कपाल केटाजस्तो भयो रे, केटीले कट्टु लाउनु हुन्न रे, साइकल पनि चलाउन हुन्न रे। आमा एउटा कुरा सोधौँ” रोस्निले अचानक प्रस्न सोध्ने विचार गरी

“सोधन” आमाको स्विकृति पाएपछि, “आमा छोरी मान्छेले साइकल चलाउनु हुंदैन?” रोस्निले सोधि।

“हुन्छ किन नहुनु”

“छोरी मान्छेले कपाल काट्नुहुन्न?”

“हुन्छ”

“छोरी मान्छेले कट्टु लाउनु हुन्न?”

“हुन्छ”

“म ढाडे भइसकें हो? म जत्रोमा त सुवेदारनी वजैको नानी थियो रे” यो प्रस्नले आमालाई अचम्मित तुल्यायो।

“नानु सुवेदारनी वजै भन्नुहुन्न त हजुरआमा पो भन्नुपर्छ ……” आमालाई विचमै रोकेर, “इस हजुर पनि अरु जस्तै मलाई त्यस्तो गाली गर्नेलाई म भन्दीन हजुरआमा” उसले भनी।

“झन ज्ञानी छोरी भनेको, हेर छोरी आफुभन्दा ठूला मान्छेलाई आदर गर्नुपर्छ। हजुरआमा पहिलाको जमानाको मान्छे, पढ्नु भएको छैन, नपढेको मान्छेलाई थाहा हुन्न नी। पहिला पहिला छोरी मान्छे पढ्दैनथे, घरको मात्र काम गर्थे, सानैमा बिवाह हुन्थ्यो। हजुरआमालाई आफ्नो जमानाको मात्र कुरा थाहा छ, समय परिवर्तन भइसकेको छ। बुढाबुढिलाई त सम्झाउनुपर्छ, वँहासंग रिसाएर के गर्ने? थाहा नभएको मान्छेलाई त थाहा दिनुपर्छ। अहिले छोराछोरी सब बराबरी। छोरी मान्छेले साइकल चलाउन पनि हुन्छ, कपाल काट्न पनि हुन्छ र मेरी छोरी ढाडे पनि भएकी छैन। हजुरआमाको समयमा छिटो बिवाह हुन्थ्यो तर अहिले त आफ्नो खुट्टामा नउभिइ बिवाह गर्नु हुँदैन, धेरै पढ्नुपर्छ” रोस्निको मनको कुरा बुझेकी आमाले सबैकुरा राम्ररी सम्झाइन्। “हो र आमा” रोस्निले छक्क पर्दै सोधि।

“ए पहिला छोराले मात्र पढ्थे त, हजुरआमाले नपढेर पो मलाई गाली गर्नुभएको पढेको भए गाली गर्नुहुन्नथ्यो त आमा” उसले सोधि। उसको वाल सुलभता देखेर मुस्काउँदै आमाले भन्नुभयो, “हो पढेको भए भन्नुहुन्नथ्यो तर साइकल बिस्तारै चलाउनु पर्छ, यो चाँहि नपढेकोले पनि भन्छ, तिमी नी छोरी साइकल बिस्तारै चलाउ, हेर त आज साइकल बिस्तारै चलाएको भए लड्दैनथ्यो नी”

“आमा घाउ दुख्यो औंषधि लाइदिनुस्न” उसले घुडा आमाको काखमा राखी। आमा औषधि लाइदिन थालिन्।

“आमा हजुरआमाको कपाल चाँहि किन सानो त?” उसले मनको अन्तिम गाँठो पनि खोली।

“बुढि मान्छे नुहाउन, कोर्न अप्ठेरो हुन्छ भनेर नी” आमाले यति भनेपछि रोस्निले ए मात्र भनि। उसलाई पहिला नै आमालाई भनेको भए हुन्थ्यो जस्तो लाग्यो। घाउमा पनि बिहान नै औंषधि लाएको भए यतिखेरसम्म कति विसेक हुन्थ्यो।

“आज खेल्न पनि पाइन, अबदेखि म साइकल बिस्तारै हकाँउछु, अनि हजुरआमाले पनि केहि भन्नुभयो भने सम्झाउँछु” मनमनै सोचि।

“रोस्नि, रोस्नि” आमाले एकछिनपछि बोलाउँदा उ सुति सकेकी थिइ।

*समाप्त*

(स्रोत: तन्नेरी डट कम – Issue 2 – Magh, 2061)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.