कविता : जाडो र मान्छे

~गणेश राई~

सपनाहरुको जम्काभेट
या हृदयहरुको अपार सम्मेलन
यो स्ट्राटफोर्ड ओलम्पिक पार्कको चर्चहिल छातिजस्तै चिसो
युगौंदेखि कोरिएको भेद्भावको विषुवत रेखाको परिधिले बाँधिई
जाडोसँग जुझ्दै उभिरहेछु
समयले भुलेको यौटा पेन्सने बूढो म

जाडोको क्रुरता र त्यसको आक्रान्त बिरुध्द
धैर्यले तातिइरहनु मेरो नियति
युद्धमा निस्केको जोसिलो सिपाहीजस्तो
खोजिरहेछु म त्यही दुश्मन
जसले चकनाचुर पा¥यो चोमोलुङमा पुग्ने मेरो सपना

गोरा साहेबजस्तै अति चिसो
क्रिसमसको यो वेलायती जाडो
सम्वेदनाबिहीन निष्ठुर मुटुजस्तो
समयको यो निर्मम प्रहार

खसेको छ सेताम्मे तुषारो दृष्टिभरि
र, जमेको छ भावना निर्जिव लम्पसार
जस्तो कि सम्वेदना मरेको तानासाही पागल
बर्बरताको सनकमा मान्छे बिरुध्द खनिएजस्तो
मौन म सहन सक्तिनँ अब अरु
खुम्चिनुको पनि सिमा हुदोरहेछ
मेरो धैर्यताको खरपस भत्किन लागेको छ

मलाई थाहा छ
जाडोको क्रुरता कठाङग्रिदैं जीवनको रिक्ततासम्म चुलिनु हो
वातानुकुलित या न्यानो जडित कोठाको आयतनभित्र
सम्भवतः पीडा, कष्ट वा मृत्यु बनेर
त्यो किञ्चित छिर्न सक्तैन
बस् यति नै गुन छ जाडोको
कि त्यसले मान्छेको रगत, रङ्ग या पसिनाको जोखाना हेर्दैन

ए गोरा महासय
तिम्रो शालिन आवरणभित्रको बरफि ओढारमा
मान्छे मान्छे बीचको परिभाषा
किन फाफाल्टो हुन्छ ?

जाडो क्रुर हुँदाहुँदै पनि
त्यसको क्रुरताको सिमा छ
क्रुरतासँगै सम्वेदना छ कम्तिमा जाडोसित
पृथक पृथक छैन सम्वेदनाको परिभाषा

बस् ! फरक यतिनै छ
जाडोको आत्मा हुदैन
र पनि आत्मिय छ
शिशिर पछिको बसन्त
अटल आशा र भरोसा ठानिएजस्तो जीवनको

मान्छेको क्रुरतादेखि
क्रुरतासम्मको दूरि पार गर्न मान्छेले
कहाँ सक्दो रहेछ र !

जाडोले पराकाष्ठा नाघेको छ र पनि
आजकाल जाडो नै प्रिय लाग्छ मलाई
पत्थरले बनेको मान्छे भन्दा
जति नै जाडो होस्
जाडोनै आत्मिय लाग्छ मलाई।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.