~विवेक शर्मा चापागाई~
हे कवि,
लौन एउटा कविता लेखिदेऊ।
कृष्णले अर्जुनलाई भन्न छुटाएको
शिवले सति देवीलाई भन्न नभ्याएको
सारहरुलाई वर्णन गरी
एउटा कविता लेखीदिन्छौ होला नी?
म पढ्ने छु, उच्च स्वरमा
यी मानवहरुले सुन्ने गरी,
सबै प्राणीले बुझ्ने गरी,
देवताहरुलाई अचम्भित पारी।
यो जीवन के हो ? अनि सृष्टी के का लागी ?
यो संसार के हो ? अनि स्वर्ग के का लागी ?
म भोग्दैछु जीवन, यो कालखण्डमा
तर बुझ्नै सकिन सृष्टि
भन्छन्, कुनै शुन्यबाट आएको रे।
शुन्य क्षणभरमै, अनन्त भैदियो,
बने अरबौँ पृथ्वीहरु।
अनि ब्रम्ह अण्डमा तैरीएको
अरबौँ मध्येको एक यस पृथ्वीमा
अर्को शुन्यबाट जन्म लिईयो
कथाहरु पढियो
धर्म बुझियो
पञ्चतत्व देखियो
मोक्ष चिनियो
तर यी सब के का लागी ?
म सम्झिन्न समय,
यो कालखण्ड बाहेक।
आए म कहाँबाट ?
अनि जानु पर्ने छ कहाँ ?
म सक्दिन छोडी जान, यति आत्मिय सम्बन्धहरुलाई।
म विश्वस्त छैन,
गएर फेरी आईनेमा,
त्यसैले त,
वर्षौ देखी सगाँलेका, यी सुन्दर सम्झनाहरु
म सक्दिन आँखासगैँ चिम्लिनलाई।
के छ त कोही, त्यस्तो सृष्टिकर्ता ?
मलाई माग्नुछ, अलिक धेरै समय
यही कालखण्डको लागी
बरु होस् स-साना किस्ताहरुमा।
हुन त
म उत्सुक छु, आफ्नै मृत्यु देखी
सायद पालो कुर्दैछु भनौँ
म देख्दैछु,
आफ्नै आँखा अगाडी, पुस्ता हराएको।
अनि बाल मस्तिकमा, चरित्र उदाएको।
लौन एक चोटी भेटाई देउ,
के छन् र कोही त्यस्ता पालनकर्ता ?
मलाई मेरा समयहरु देखाईदिने ?
के सच्चाईदिन सक्छन् र उनले ?
केही क्षणहरु हिजोका, अनि केहि भोलीका।
लौ न! कवि
तिम्रो विराटरुप देखाइदेउ
अहिलेका शब्दहरुले नपुगे
शव्दका नयाँ सृष्टी गरिदेउ
मलाई सच्चाई देऊ, ज्ञान देऊ
मेरा यी जिज्ञाशाहरु शान्त पारीदेउ
तिम्रै भक्ति गरुला, तिमीलाई कृष्ण मानुला
एउटा कविता लेखिदेऊ॥
(स्रोत : रचनाकारले साहित्य सङ्ग्रहालयको फेस्बुक पेजमा प्रेषित )