~प्रेम राई परिक्षित~
मेरो कविता जस्तै
आज देश बोलेको भए
मेरो कविता जस्तै
आज देश बाँचेको भए
सायद, मेरो देश मेरो कविता जस्तै
आत्माबलका दुई खुट्टा टेकेर
स्वाभिमान उचाल्ने थियो
मेरो कविता जस्तै
देश सुन्दर बिम्बहरुले कुँदिएको भए
मेरो निरासाको
सुख्खा मरुभूमीहरुमा
सुन्दर सम्भावनाहरु फुल्ने थियो
मेरो छोराको जिज्ञासा भरि
भबिष्यका रङ्गिबिरङ्गी
ईन्द्रेणिहरु टाङ्ने थियो
हजुरबा र हजुरआमाको चाउरिएका
अनुहारभरि अनगिन्ती लालिमा कोर्ने थियो
किनभने
लोलोपोतो जान्दैन
मेरो शान्त स्निग्ध कविता
चाकडी र चाप्लुसी मान्दैन
मेरो बोधगम्य कविता
न घुस खान्छ
न नाताबाद मान्छ
न कृपाबादको पुच्छर समाउँछ
आकाश जस्तै खुल्ला छाती बोकेर
सधै घाम जून र ताराहरु
उमारिरहन्छ मेरा कविताहरु
मेरो सदाचारी बेदाग कविता
जान्दछ त केवल एक आदर्श देश
जहाँ शिशिरमा वसन्त ढकमक्क फुलोस्
जहाँ साच्चिकै म बाँचेको
एउटा आभास होस्
र त्यही सदैब अभ्यास होस्
र देश रातहरुबाट आजाद होस्
र देश मेरो कविता जस्तै
सधै सधै र फेरि सधै आवाद होस् !
(स्रोत : परिवर्तन खबर डट कम)