~नर्मदेश्वर प्रधान~
कुनै पनि कृति, रचना, पाठ एक्लै उभिन सक्दैन । अरूबाट असम्बन्धित भई आफै पूर्ण हुन सक्दैन । भानुभक्तले रामायण लेखे । भानुभक्तले लेखनमा प्रतिभा, विशिष्टता देखाए तर रामायणका कथावस्तु उनले पूर्वजहरूबाट लिएका थिए । कतिपय कवि लेखकहरूका कृति, रचनाहरूमा मिथकीय, पौराणिक घटना, पात्रहरू प्रतीक बिम्बको रूपमा प्रयोग भएको पाइन्छ । ज्ञानका अनेक दर्शनहरूका सन्दर्भ भेटिन्छ । इतिहासका प्रसङ्गहरू बुझ्न पर्ने हुन्छ । पुस्तकहरू पढ्दा सम्बन्धित सान्दर्भिक ग्रन्थ, रचना, विचार, सिद्धान्तहरूबारे स्पष्ट हुनपर्ने हुन्छ । कुनै पनि पुस्तक रचनामा अन्य ग्रन्थ, विचार, सिद्धान्तका अन्तर्सम्बन्ध भइरहन्छ । कुनै पनि पाठ टापुझैँ अलग्ग रहन सक्दैन । जुलिया क्रिष्टिभाले आफ्ना अन्तरपार्ठीर्य सिद्धान्तमा यस विषय चर्चा गरेको पाइन्छ ।
‘मुनामदन’ खण्डकाव्य महाकवि देवकोटाको लोकप्रिय कृति हो । यसको रचना वि.सं.१९९२ मा भएको थियो । यस खण्डकाव्य अद्यापि उतिकै प्रिय छ । नेपाली साहित्यमा सबभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा यसले स्थान पाएको छ । यसमा सबैलाई छुने कविप्रतिभा मुनामदनमा अधिकतम प्रस्फुटित भएको पाइन्छ । मुनामदन झ्याउरे लयमा रचित खण्डकाव्य हो । यसको भाषा सरल छ । सरल शैलीका कारण मुनामदनले साधारण पाठकलाई पनि छुन्छ । गम्भीर पाठकलाई पनि मुनामदन उत्तिकै गहन रचना भइदिन्छ । मानववादी, प्रकृतिदर्शन, आध्यात्मिक चिन्तनका गहिराई ‘मुनामदन’ को विशेषता हो । यसभित्र डुब्न चाहनेहरूले यसभित्र अनमोल बौद्धिक रत्नहरू भेट्टाउन सक्दछन् । मुनामदन महाकवि देवकोटाको मौलिक रचना हो तर यसलाई पृथक टापुको रूपमा हेर्न मिल्दैन । यसको रचना क्रममा कवि देवकोटालाई अनेक ग्रन्थ, घटना, विचार, दर्शनले प्रभाव पारेको हुन सक्दछ ।
‘मुनामदन’ शास्त्रीय मान्यतामा आधारित खण्डकाव्य हैन । शास्त्रीय आधारबाट यस खण्डकाव्यमा विचलन देखिन्छ । ‘मुनामदन’मा महाकवि देवकोटाले नवीन प्रयोग गरेको पाइन्छ । महाकवि देवकोटा अङ्ग्रेजी साहित्यको धुरन्धुर विद्वान् हुनुहुन्थ्यो । अङ्ग्रेजी, रोमानी काव्य प्रवृत्तिको प्रचुर प्रभाव उहाँमा पाइन्छ । नेपाल साहित्यमा रोमानीवादी आन्दोलन उहाँकै नेतृत्वमा भएको देखिन्छ । संस्कृत काव्यशास्त्र, शैलीको पूर्ण प्रभावमा परेको नेपाली साहित्य वि.सं. १९९० बाट आधुनिक युगमा प्रवेश गर्दछ । पूर्वीय काव्यशास्त्र, पौराणिक, विषय, नैतिक उपदेशात्मक वृत्त तोढी विषय चयन, शैली प्रयोगमा यसपश्चात् कविलेखकहरूले बढी स्वतन्त्रता अपनाउन थालेको देखिन्छ ।
मुनामदन खण्डकाव्यमा लक्ष्मीप्रसादको विषय चयन शैलीमा नौलोपन छ । दक्षिणी अर्थात् भारतीय शिक्षा, साहित्य, संस्कृतिको प्रभावबाट निस्केर मुनामदनमा कवि देवकोटाले उत्तरतर्फको तिब्बतीय विषयलाई ग्रहण गर्न पुगेको छ । तिब्बतीय क्षेत्रलाई केन्द्र बनाएर मुनामदन रच्नु नेपाली साहित्यमा उनको नौलो कदम मान्न सकिन्छ । मुनामदनको भाषा, लय, शैली पूर्वीय छन्द शास्त्रमा आधारित छैन । यो झ्याउरे लयमा रचिएको छ । झ्याउरे लोक शैली हो । देशको माटोमा उब्जेको लोक शैलीमा यस्तो महìवपूर्ण ग्रन्थ लेख्नु महाकवि देवकोटाको आँटिलो निर्णय थियो । भनिन्छ झ्याउरे शैली प्रयोगमा ल्याउँदा संस्कृतवाज पण्डितहरूबाट कवि देवकोटाले ठूलो उपहास खेप्नु परेको थियो । स्वयं संस्कृत, अङ्ग्रेजी भाषा, साहित्यको विद्वान् भएरै पनि महाकवि देवकोटाले लोक शैली झ्याउरेलाई अपनाउन पुगे । मुनामदन लोकप्रिय हुनुको मुख्य कारण उनको यो निर्णयलाई लिन सहिन्छ ।
मुनामदन आख्यान काव्य हो । आख्यान र कविताको संयोगले यो खण्डकाव्य भएको छ । प्रस्तुत आख्यानको सीमित दायरा, घेराको कारण यो महाकाव्य नभई खण्ड काव्य भएको छ । महाकवि देवकोटाको मुनामदनको कथा नेपाल भाषाको ‘जि वया ला लाछि मदुनि'(म आएको एक महिना भएको छैन) नामको गीति नाटकमा आधारित देखिन्छ । ‘जि वया ला लाछि मदुनि’ करिब २०० वर्ष अगाडि राजेन्द्रविक्रम शाहका(वि.सं.१८७३-१९०४) पालामा नेपालभाषामा रचेको गीतिकथा हो । मुनामदनमा कवि देवकोटाले यसै रचनाको कथालाई गर्भकथाको रूपमा चयन गरेको पाइन्छ । कवि देवकोटाको आफ्नो अत्यन्त निकट सहपाठी चन्द्रबहादुर श्रेष्ठबाट यस गीतिकथाबारे सुनेका थिए । यसबाट अत्यन्त प्रभावित भई महाकवि देवकोटाले यस कथालाई मुनामदनको आधार कथा बनाए ।
नेपालभाषाको काव्य इतिहास ५०० वर्ष पुरानो छ । हालसम्मको खोजीअनुसार प्रथम कवि महेन्द्र मल्ल(वि.सं.१६१७-१६३६) देखि पछिका धेरै राजाहरूले असङ्ख्य स्तरीय गीतिकाव्य रचना गरेको पाइन्छ । मल्लकालपछि पनि नेपाल भाषामा गीति काव्य रचनाको प्रवाह रोकिएको थिएन । कोतपर्व(वि.सं.१९०३) पछि मात्र यसको विकास ठप्प हुन गयो । नेवारहरू व्यापार गर्न ल्हासामा जाने गर्थे । तिब्बतसँग नेपालको ब्यापार सम्बन्ध थियो । तिब्बत उत्तरतर्फको कठिन प्रदेश हो । ल्हासामा अन्य विदेशीहरू निषेधित थिए । नेपालीहरूले ल्हासामा व्यापार गर्ने विशेष अवसर पाएका थिए । नेपाल भाषामा ल्हासा व्यापारसँग सम्बन्धित विषयमा थुपै्र गीतिकथाहरू छन् । ल्हासामा उसबेला महिलाहरू जान पाउँदैन थिए । व्यापारीहरू ल्हासामा व्यापारको लागि जाँदा आफ्ना पत्नीहरूसँग विछोड खप्न बाध्य हुन्थे । वर्षौंसम्म पुरुषहरू ल्हासामा बस्दा महिलाहरूले ठूलो त्रासदिय नियति भोग्नु पथ्र्यो । आर्थिक दृष्टिकोणले लाभदायी भए पनि ल्हासा गई व्यापार गर्ने प्रथा दाम्पत्य जीवनको लागि ठूलो अभिशाप हुन्थ्यो । युवा रोजगारीको लागि ल्हासामा जाँदा विवाहित जवान महिलाहरू अत्यन्त पीडित हुन्थे । रातदिन आफूलाई दुःखको भुमरीमा परेको अनुभव गर्थे । गएका केही पुरुषहरू र्फकन्थे । पुनर्मिलन सम्भव भइदिन्थ्यो । कतिपयको दाम्पत्य जीवन वियोगान्तमा टुङ्गिन्थ्यो । ल्हासा व्यापार गर्न जाँदा श्रीमान्/श्रीमतीभित्र हुने विरह, विरक्ति विषयमा केन्दि्रत पुराना गीति कथाहरू नेपालभाषामा थुपै्र छन् । आधुनिक कालमा आएरै पनि ल्हासा विषयमा कवि धर्मरत्न ‘यमि’ ले ‘सँदेया लिसः'(भोट देशको उत्तर) नामको खण्डकाव्य रच्नु भएको छ । महाकवि चित्तधरका पनि ल्हासा व्यापारीहरूसँग सम्बन्धित कथा, गद्य रचनाहरू छन् । नेपालभाषामा रचिएको ल्हासा प्यापारसँग सम्बन्धित अत्यन्त मार्मिक ‘जि वया ला लाछि मदुनि’, गीतिकथा मुनामदनको कथावस्तुसँग अत्यन्त निकट छ । महाकवि देवकोटाले मुनामदनमा ‘जि वया ला लाछि मदुनि’ गीतिकथालाई स्रोत कथा वस्तुको रूपमा अपनाएको देखिए पनि मूल कथावस्तुमा हृदयस्पर्शी, कला, मार्मिक मोडहरू थप्नु भएको छ । फलस्वरूप मुनामदनको कथा संरचनाले आफ्नैपन उहाँले प्राप्त गरेको पाइन्छ ।
जि वया ला लाछि मदुनि गीतिकथाको सारांश
यसमा आमा, छोरा, बुहारी मूल पात्रहरू । विवाह गरेर एक महिना नबित्दै पतिले ल्हासामा व्यापार गर्न जाने निधो गर्छ । पत्नी रोक्न खोज्छे । छोरालाई ल्हासा जानबाट रोकिदिन बुहारीले सासूलाई अनुनय विनय गर्छिन् । ‘देशमा रोजगारी छैन । सासूको उत्तर हुन्छ । देशमा बसेर काम गरून् । आफ्नो दाइजो बेचेर लगानी जुटाइदिने प्रण पत्नी गर्छे तर पतिले जाने नै निश्चित गर्छ । पत्नी पतिसँग पारपाचुके माग्छिन् । पति उल्टो पत्नीलाई घर सम्हाल्ने जिम्मा दिन्छ । पति ल्हासातर्फ जान्छ । पत्नी विरहव्यथामा डुब्छिन् । बरोबर दुस्वप्न देख्छिन । एकदिन आफनो लोग्नेको मित्र भेट्छिन् । ऊ उनको पतिको मृत्युको खबर सुनाउँछे । प्रमाणस्वरूप उनको पतिको औंठी देखाउँछ । बुहारी सासूलाई यो खबर सुनाउँछ । सासु पत्याउँदैन । पत्नी पतिको मृत्युको खबरबाट मर्माहत हुन पुग्छिन् । पत्नी आफ्ना दिवङ्गत पतिको चितासँगै सती जाने निधो गर्छिन् । पतिको चिनो चित्तामा हालेर पत्नी चित्ताको अग्नि कुण्डमा आफूलाई समर्पित गर्छिन् ।
तीन वर्षपछि छोरा ल्हासाबाट फर्किन्छ । घरमा फगत आमा मात्र हुन्छ । पत्नी पाउँदैन । आमासँग प्रिय पत्नीबारे सोधपुछ गर्छ । आमाले छोरालाई सबकुरा बताउँछिन । गुण्डा मित्रको षड्यन्त्र, बुहारीलाई त्यसबाट परेको आघात, बुहारीको मृत्युबारे सुनाउँछिन् । पत्नीको मृत्युको खब्।र सुनेर पतिमा वैराग्यभाव आउँछ । ऊ फकीर भएर घरबाट निस्कन्छ । यसरी ‘जि वया ला लाछि मदुनि’ दुखान्तमा अन्त्य हुन्छ ।
(स्रोत: मधुपर्क २०६६ कात्तिक)