~घनश्याम शर्मा पौड्याल~
मालिक ! हाजिर छ आज
तिम्रो अगाडि
तिम्रो धर्म र शास्त्रले
हजारौँ वर्षदेखि
रछानमा फ्याँकेको
यो अपवित्र अमानुष
तिम्रो आँखाको एक पापपात्र
एक जुठो टपरी ।
हजारौँ वर्षदेखि
जुत्ताको तलुवा बनायौ
टेक्दै र दबाउँदै आयौ
तिम्रा फोहरी खुट्टाहरूले
तर दूवो हुँ म
तिम्रा पुस्तौँ दरपुस्ताले
कुल्चिँदै र माड्दै आए पनि
कहिल्यै नमर्ने दूवो
रत शिर उठाइरन्छु र उठाइरहन्छु
तिम्रा हर कुल्चाइपछि ।
पिट्दै रातो फलाम वा
पोलिएर रातो बन्दै र कुटिँदै आफै
हरदिन खलाँती धुँदै वा
खलाँती बन्दै र सास फुक्दै आफै
फेरि पनि ज्यूँदै छु अझै !
आफ्नै हड्डीहरू गलाएर ठड्याएँ
यी तिम्रो घरका भित्ताहरू ?
आफ्नै करङहरू निकालेर तेस्र्याएँ
यी तिम्रा घरका डाँडा भाटाहरू ?
आफ्नै नसाका चोयाहरू बनाएर कसेँ
यी पालीका दाँतीहरू ?
तर बाजे ! जब घर तयार भयो
मलाई पिँडीमा टेक्न निषेध गर्यौ
घचेट्दै आँगनको डिलमा पुर्यायौ ।
मालिक ! थाहा छ तिमीलाई ?
भान्सामा चामल हैन
मेरै पसिनाका बुँदहरू पाकिरहेछन्
तिम्रो कसौँडीमा
मेरै पीडाको आवाज घन्किरहेको छ
तिम्रो पूजाकोे घन्टीबाट
नियालेर हेर त
मेरै पुर्खाको अनुहार त छ
तिम्रा देवताको मूर्तिमा
बिर्स्यौ बाजे ?
मैले नै त छिनाले खोपीखोपी
बनाइदिएको थिएँ
एउटा बगरको ढुङ्गालाई ‘भगवान्’
सुन मालिक !
म आमको कोखबाट जन्मेँ
तिमी पनि आकाशबाट खसेका हैनौ
तिम्रो रगत रातो छ
मेरो पनि कालो छैन
मेरो देह जसरी ढल्छ
तिम्रो पनि ढल्नेछ त्यसै गरी
मरेपछि म जसरी खरानी हुँला
त्यसै गरी खरानी हुनेछौ तिमी पनि ।
तिमी मेरा पसिना पिएर ‘पवित्र’ भयौ !
म तिमीलाई पसिना दिएर ‘अपवित्र’ भएँ !
म किन अछूत तिमी किन पवित्र ?
परार साल तिमी सिकिस्त हुँदा
मैले नै डोकामा बोकी लगेको थिएँ
पोहोर तिम्रो ज्यानमा रगत सिद्धिँदा
आफ्नै रगत हालेर बचाएको थिएँ
आज तिमी मरणान्त भई ढल्दा
आफ्नै किड्नी दिएर उभ्याएको छु
फेरि पनि म अछूतै छु भने
भो माफी भो
हजारौँ वर्षको पसिनाको मूल्य
भो माफी भो
हजार पुस्ताको रगतको मूल्य
बान्ता गरिदेऊ मेरो रगत
फिर्ता गरिदेऊ मेरो किड्नी !
किनकि मालिक !
म त फलाम खेलाउने जात
मजस्तै शान्त छैन यो हमर
मजस्तै निर्धो छैन यो खुकुरी
मैले जस्तै दवाब खप्दैन र
पड्किन्छ यो भरुवा बन्दुक
भर छैन मालिक ! यिनको
यी त जहाँ पनि बज्रिन सकछन्
जति बेलै पनि पड्किन सक्छन् ।
सानेपा, ललितपुर
२०६७ ।१ । १३
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)