~नारायण श्रेष्ठ~
म एउटा
प्रत्येक बिहान उदाउँदै साँझ ओइलिएर झर्ने घामको प्रतीक भएको छु !
सडकममा पोखिने धूवाँका अराजक पाईला टेकेर
गुमनाम बितेका दिनहरुको पदचाप केलाउने
समयको जबरजस्त साक्षी भएको छु !
नाघ्नुपर्ने पर्खाल र जित्नुपर्ने दूरीहरु छन्
कालो, पहेंलो र गहुँगोरो छालाको रङ्गामा टाँसिएका परिचयपत्रहरु छन्
‘अप्रिल आन्दोलन’ को चर्को आवाज र प्रतिगमनको डरलाग्दो भेल
चैतको हुरीमा झरेको सालको पात
सालाखाला एउटा नेपाली दैनिकी
जो कुपोषणको महासमर पार गरेपछि फेरि ग्याष्ट्रिकको भोकमरीमा परेको छ !
भीरै भीरको बाटो हिँड्नु जस्तो छ
लौरो समातेर समयको-खबर्दारी गर्नुपर्ने गौंडाहरुमा
हातेमालो गर्दैछन्-विजातीय नस्लहरु
“एकाकार” कठीन छ यो धमिलो अंध्यारोमा !
हामी हिंडेको यो गोरेटो
आदिकालको (प्लेटोनिक अंधकार हुंदै) भूमण्डलीकरणको ‘उत्तरआधुनिक’ जालोसम्म फैलिएको छ
यही बाटो हिंडेका हुन् साढे दुइ शताब्दी शासन गर्ने वंशजको खुकुरी
यही बाटो हिंडेको हो जङ्ग बहादुरको युरोप यात्रा गर्ने घोडा, गाई बाच्छी र पीपलबोट
र समुल नष्ट गरिएको अन्तिम राजाको अस्तित्व बोकेर हौदा कसेको हात्ति
यही बाटो हिंडेका हुन्
नामूद गुण्डागर्दीको नाईके डन
पुलिसको साईरन
शरदको बुकी फूल र पवित्र गंगाजल
… प्रत्येक पदचिन्हका साक्षीहरु छन् !
समयका यी प्रत्येक टुङ्गोहरु
नमेटिने रङ्गले अब लेखिने छ
चर्को घाम र प्रचण्ड गर्मीमा पनि
सडकमा बलेको टायर र धूवाँको बादलले नछोपीनेगरी
‘सेरेमोनियल’ गन्ध पखालिन झरि पर्छ-सायद
अब मलाई नयाँ नेपालको साक्षी हुने रहर छ !
‘सेरेमोनियल’ गन्ध पखालिने गरी झरि पर्छ सायद
अब मलाई नयाँ नेपालको साक्षी हुने रहर छ !
– काठमाण्डौ
(स्रोत : नेपालीकविता डट कम)