~धनप्रसाद सुवेदी ‘श्रमिक’~
आमाले पस्किएर दिएको खानेकुराले तोरेम्पालाई चित्त बुझ्दैनथ्यो । ऊ आफै पन्यु लिएर पस्किन अघि सथ्र्यो । मिठो मसिनो पाकेका बेला त झन् उसलाई आफै नपस्की हुँदै नहुने । मासु पकाएर बेलामा आफैँले छानेका दुई चार चोक्टा भागमा हालेपछि मात्र उसको चित्त बुझ्थ्यो । अरूले पस्किदिएको खानेकुरा मात्र खाएका दिन उसलाई खाए जस्तै लाग्दैनथ्यो । जति उमेर बढ्दै गयो त्यति नै तोरेम्पालाई आफैले पस्किएर खाने बानी बस्दै गयो । उसले बिहे ग¥यो, छोराछोरी जन्मे र पनि उसको बानी गएन ।
तोरेम्पा माझकिरात क्षेत्रको एक जना धनीमानी मानिस थियो । प्रशस्त धन सम्पत्ति भएकाले उसलाई खाने लाउने कुराको अभाव थिएन । उसको अरू बानी व्यवहार पनि राम्रो थियो । ऊ सहयोगी र दयालु पनि थियो । तर आफ्नै हातले नपस्केसम्म खाएको चित्त नबुझ्ने बानीले गर्दा ऊ आफै लज्जित पनि थियो । यस्तो बानी सुधार्न नखोजेको पनि होइन । नानीदेखि लागेको बानी सुधार्न गारो हुन्छ भने झैँ तोरेम्पाले आफ्नो बानी सुधार्न सकेन । उसको त्यही बानीले गर्दा ऊ इष्टमित्र र नरनाताकहाँ हत्तपत्त जाँदैनथ्यो । भोजभतेरमा गएर खानु पर्दा पेट भरिए पनि उसलाई अघाए जस्तो लाग्दैनथ्यो । मुख्य भाँडोबाट पस्केर भरसक हातै लगाएर निकालेको खाना नपाउँदासम्म उसलाई पटक्कै चित्त बुझ्दैनथ्यो । उसका जहान परिवारले कति कराए । उसका साथी र नलनाताले पनि सम्झाए । तर अँहँ, तोरेम्पाले आफ्नो बानी छाडेन । उसका जहान परिवार आजित भएर उसैलाई खाना पस्किन दिन थाले ।
एक दिन तोरेम्पालाई काम विशेषले आफ्नो सम्धीको घरमा जानुपर्ने भयो । ऊ सम्धीको घरमा पुग्यो । सम्धी सम्धिनीले भव्य स्वागत गरे । ढोगभेट चल्यो । आराम बिरामको खबर र शिष्टाचारपछि खानपान सुरु भयो । तोरेम्पा किराती जातिको मानिस थियो । किराती संस्कृतिमा पाहुनालाई अत्यन्त श्रद्धा गरिन्छ । पाहुनालाई श्रद्धापूर्वक स्वागत गरेपछि सन्चोबिसन्चो सोधिन्छ र मिठो मसिनो खानेकुरा दिइन्छ । खानपिनमा जाँड, रक्सी र मासुको परिकारले स्वागत गर्ने परम्परा पनि छ । तोरेम्पाका अगाडि पनि डबकाभरि जाँडका साथै मासु, अचार र अन्य परिकारहरू राखियो । तोरेम्पाका सम्धी पनि सँगै खानपिनमा सामेल भए । सामुन्नेमा बसेर सम्धिनीले खानेकुरा थप्न लागिन् । खानाका परिकारहरू अत्यन्त मिठा थिए । तर आफैले पस्किन नपाएका तोरेम्पालाई खानेकुरा स्वादिलो लागेको थिएन । नजिकै जाँडको घ्याम्पा ठडिएको थियो । तोरेम्पालाई त्यो घ्याम्पामै हात लगाएर जाँडका छोव्रmा निकालेर खान मन लाग्यो । अब उसको ध्यान त्यही घ्याम्पातिर गयो । सम्धी सम्धिनीले भनेका कुरामा उसको पटक्कै ध्यान गएन । ऊ घ्याम्पातिर एकोहोरो हेर्न थाल्यो ।
घरका मानिसहरू आआफ्ना काममा थिए । के कामले हो सम्धिनी माथिल्लो तलामा चढिन् । सँगै खानपिनमा गरिरहेका सम्धी पनि पिसाब फेर्नका लागि घरबाहिर निस्के । अब तोरेम्पाले मन थाम्न सकेन । ऊ जाँडको घैँटो नजिक गयो । उसले घ्याम्पाभित्र हात घुसार्न खोज्यो । भर्खरै किनेको कोटको बाहुला हातको पन्जासम्म झरेको थियो । बाहुलामा जाँडको छोव्रmा लाग्यो भने त बेइज्जत हुन्छ भनी उसले मनमनै सोच्यो । धेरै बेर सोच्ने र ढिलो गर्ने समय थिएन । उसले हतार गर्नु पर्ने थियो । त्यसैले उसले घ्याम्पामै मुख गाड्ने विचार ग¥यो । उसले तत्कालै घ्याम्पामा टाउको छिरायो र जाँड खान थाल्यो । केही बेरपछि तोरेम्पाले टाउको बाहिर निकाल्न खोज्यो । अँहँ जति गर्दा पनि उसको टाउको बाहिर निस्केन ।
तोरेम्पा घ्याम्पाबाट टाउको बाहिर निकाल्ने अनेक प्रयत्न गरिरहेको थियो । तर सफल भएको थिएन । त्यति बेलै सम्धिनी भ¥याङबाट तल ओर्लिन् । सम्धी पनि भित्र आए । अब तोरेम्पा लाजले पानी पानी भयो । उसलाई के गरूँ र कसो गरौँ भयो । ऊ छटपटियो । सम्धी सम्धिनीले के भएको हो र के गर्नु पर्ने हो भन्ने निधो गर्न सकेनन् । तोरेम्पालाई अब टाउको बाहिर निकाल्नु भन्दा बरु भित्र रहिरहनु ठिक जस्तो लाग्यो । ऊ हतास भयो, आत्तियो । उसको मुटु दुखेजस्तो भयो । उसलाई सास फेर्न गारो भयो र चाँडै उसको मृत्यु भयो ।
अहिले पनि किरात राई समाजमा पाहुना भएर जानेले आफूलाई दिएको खानेकुरा तत्काल खानुपर्छ अथवा जुठो लगाउनु पर्छ नत्र तोरेम्पा लाग्छ भन्ने गरिन्छ । तोरेम्पा अकालमा मरेकाले ऊ भूत भएर अझै पनि दुःख दिँदैछ भन्ने विश्वास माझ किरात क्षेत्रमा पाइन्छ ।
(स्रोत : कथालय – अङ्क १ – साउन–असोज, २०७४)