~भीमदर्शन रोका~
नील आकाशको यो तारालाई
हेरिरहेछु म मेरो सहारालाई
हेरिरहेकी होलिन प्रियतम मेरो
दूर प्रवासबाट यही तारालाई
नील आकाशको यो तारालाई ।
हमी जति टाढा भए पनि
दिउँसो दूर दूर गए पनि
सन्ध्या-समय फर्कन्छु सधैँ
बलिरहने उज्यालो किनारालाई
नील आकाशको यो तारालाई ।
हाम्रो मिलनस्थान कति अग्लो र महान् छ
कति मौन, कति गम्भिर, निश्चल छ
कि आउँदैन केही आवाज कहिले
तर बुझ्दछु म आँखा र इसारालाई
नील आकाशको यो तारालाई ।
(स्रोत : नेपालीकविता डट कम)