कविता : डढेलो

~विक्रम सुब्बा~

फागुनको वायुमण्डलमा
युद्धको बारुद झैँ धुलो भरिएको छ
मरुभूमिको इलाकामा… लडाइँको मौसमभित्र…
साता दिन पानी नपाएको सेनाको छातीजस्तै
पातपतिंगर सुकेर खरिएको छ
सेतीमा फाल्न मात्र बाँकी रहेको
कुनै बलात्कृत युवतीजस्तै
नाङ्गा रुखहरू वसन्त पर्खेर
लाउरेका बा-आमा र जहानजस्तै बसेका छन्
कुनै दार्शनिकको प्रवचनजस्तो
गम्भिर सुनकोशी निरन्तर बगिरहेछ… !

क्रन्तिको कुनै चरणमा
सहरलाई गाउँले घेरेजस्तै
जंगललाई डढेलोको मालाले बेरेको छ
तस्करहरू भरसक भाग्न नपाउन भनेर
गुरिल्लाजस्तो भँडारेघाटको माँझी दाइ नाउँ लुकाएर
आफ्नो भविष्य डढेलोकै लप्कामा हेरिरहेको छ !

तानाशाहजस्तो अँध्यारो-डढेलोमा सल्किरहेको छ
अँध्यारो सल्किएपछि उज्यालो उम्रिँदो रहेछ
यत्तिबेला डढेलोले टाढाटाढासम्म उज्यालो पारेको छ
बास बसेका परदेशीहरू… भरियाहरू…
उठेर…डढेलोकै उज्यालोमा
भोलिको आफ्नो बाटो हिरिरहेछन्
डढेलोको समर्थनमा आकास जूनमा मुस्कुराइरहेको छ
रसदपानी पु-याउँन सुनकोशीको फाँटबाट
एकनास मन्द मन्द बतास आइरहेको छ…

काठमाण्डु, नेपाल

(२०३९ फागुन, उदयपुर बलम्ता, कविता संग्रह सगरमाथा नङ्गै देखिन्छबाट)

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.