~नरेश शाक्य~
अन्धकारको आवरणमा
एकान्त प्रेमका इच्छाहरू विउँझन्छन्
एकान्तको परिवेशभित्र
वासनाका ज्वारहरू उर्लन्छन्
संभोगका कृयाकलापका प्रमाण स्वरुप
रात गर्भिणी हुन्छे
रातले गर्भधारण गर्छे
एउटा अलौकिक दिवाको
दिवसको ।
निद्राहरु तत्पर छन् – सचेत बिउँझन
सुषुप्तीहरू तत्पर छन् – जागृत हुन
म रातको पहिरन च्यातेर
धारिलो तरवारले
धारयुक्त हतियारले
सृजना गर्छु – नवोन्मेष
तुफानी चराको अमर गीतको
एउटा अमलेख पंक्षीको ।
मलाई रात्री कालिन स्थितिसँग
कुनै विमोह छैन
वैरभाव छैन
रात्री त प्रभातको सुसूचक हो,
मलाई अमावश्यको उपस्थितिसित
कुनै विरोध छैन
विग्रह छैन
अन्धकार त उज्यालोको पूर्वाभास हो
पूर्वाभ्यास हो
यसर्थ म रात्रीलाई अंकमाल गर्छु
प्रेयसी सरह
प्रेम पाशमा बाँध्छु ।
११।१२।२०६०
धरान,
हाल: काठमाण्डौ नेपाल