~मनप्रसाद सुब्बा~
नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन् ।
त्यो आधुनिक युगलाई डोर्याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा रचनाहरूको नवोन्मेषले शारदा शारदीय भएको हुन्थ्यो । त्यसताक बालकृष्णशमशेरले कुनै समय आफू समताका उन्नायक ‘सम’ हुन्छु सोचेकै थिएनन् ।
पच्चीस–छब्बीस वर्षे लक्ष्मीप्रसाद देवकोटा, बीए बीएल, पनि ‘देवकोटा’ मात्रैले चिनिइने भइसकेका थिएनन् । हो, त्यै समय र त्यै शारदाको वर्ष २, संख्या २ मा हायमनदास राई (पछि ‘किरात’ मात्र) को कथा ‘शूर–वीर’ प्रकाशित पाइन्छ । किरात त्यसबेला सोह्र वर्ष मात्र पुग्दै थिए । सम्भवतः यही नै उनको पहिलो प्रकाशित कथा पनि हो ।
भारतीय नेपाली आधुनिककालीन कथाको पहिलो चरणका कथाकार इन्द्र सुन्दासभन्दा पाँच महिनाले कान्छा अनि शिवकुमार राईभन्दा दुई महिनाले जेठा हायमनदास राई तर कथा लेखन–प्रकाशनमा अघिल्लोभन्दा दुई वर्षअघि अनि पछिल्लोलाई दस वर्षैले उछिनेको तथ्य ‘शारदा’ वर्ष २ र अंक २ ले बताउँछ ।हायमनदास राई (शारदामा ‘हाईमन दास राई’) को ‘शूर–वीर’ प्रकाशित हुनुभन्दा अघिको पृष्ठभूमिलाई झलक्क मात्र हेर्दा– पहिलो आधुनिक नेपाली कथाको मान्यता दाबी गर्न खोज्ने ‘अन्नपूर्ण’ (रूपनारायण सिंह) ‘गोर्खा संसार’ मा प्रकाशित भएको सात वर्ष मात्र पुग्दैथ्यो अनि दस महिनाअघि मात्रै ‘शारदा’ (संवत् १९९१, जेठ) मा गुरुप्रसाद मैनालीको ‘नासो’ प्रकाशित भएथ्यो जसलाई अधिकतर समालोचकहरूले पहिलो आधुनिक नेपाली कथा मानेका छन् । यिनै पृष्ठभूमि र परिप्रेक्ष्यमा ‘शूर वीर’ लाई हेरे यस कथा र यसका कथाकारको ऐतिहासिक गुरुत्व बुझ्न सकिनेछ ।
कथ्यबारे चर्चा गर्नुअघि त्यो समयलाई फर्केर अलिकति चियाऊँ ः भारत ब्रिटिस औपनिवेशिकताभित्र छटपटाइरहेको थियो भने नेपाल निरंकुश राणातन्त्र र सामन्ती व्यवस्थामा निस्सासिरहेको थियो । ‘नब्बे साल’ (विसं १९९० र इ १९३४) को विध्वंसकारी भुइँचालोले नेपाल अनि विहारमा ताण्डव नाचेको थियो । अनि दार्जिलिङ पहाडमा पनि त्यो भयावह भुइँचालोको भूतको गाढा छाया राम्ररी मन्सिसकेको थिएन । जर्मनीमा हिटलर समग्र युरोप नै अँठ्ययाउने अति महत्त्वाकांक्षी हुंकारसित उठिरहेको थियो । यस्तो राष्ट्रिय तथा वैश्विक अवस्थामा आधुनिककालीन नेपाली कथा लेखनको आरम्भिक उठानले समातेको मूल प्रवाह थियो स्वाच्छन्दिक सामाजिक यथार्थवादी, अनि यौटा सानो भंगालो देख्छौं यौन मनोविज्ञानको (विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’बाट थालिएको) । यस्तो समयमा हायमनदासको ‘शूर वीर’ बेग्लै कथावस्तु र छरितो प्रस्तुतिसित निज जातीय सामरिक संवेदन ब्युँझाउन देखा पर्यो ।
शीर्षकले भनेअनुसार मूलपात्र साँच्चै शूरवीर रहेको यो एक युद्धकथा हो । जापान र रूसमाझ भएको एक युद्धको दृश्य छ । जापानी कप्तान ओसाका आफ्नो घरमा युद्धको समाचार पढ्दै बसिरहेको बेला हठात् फौजमा झट्ट फर्किजानुपर्ने आदेश टेलिफोनद्वारा आउँछ । आफू हाजिर हुनैपर्ने स्थिति बुझेपछि तरबार भिरी निस्कन तयार हुन्छ । निस्कनुअघि आमालाई भेटेर बिदा माग्दा ओसाकाको मुखबाट ‘अद्भुत तौरले’ यी शब्द निस्कन्छन्, ‘माता ! बिदा देऊ जन्मभूमिको रक्षाको निम्ति मलाई बलिदान गरिदेऊ…’ छक्क परेकी आमाले भन्छिन्, ‘यदि मेरो एउटा पुत्रले गर्दा सहस्र देशवासीको रक्षा भए जाऊ ! आशीर्वाद छ !’ त्यसपछि युद्धमैदानभन्दा पहिले आफ्नी नवविवाहितासित ‘भीषण प्रेमयुद्ध’ हुन्छ । अनि घोडामा सवार भई निस्कन्छ कप्तान । शक्तिशाली रूसी फौजसित पहिलो दिन हारेपछि दोस्रो दिन विशेष सोच लिई आफू तोपको मोहोरीभित्र पसेर लुक्छ ।
शत्रुहरूले त्यो पड्काउँदा रूखहरूभरि रगत लागेको देखी सबै भाग्छन् अनि जापान विजयी बन्छ । कथासार यत्ति हो ।
रूस–जापान युद्ध काल्पनिक नभएर यथार्थ हो, इतिहाससम्मत हो । फेब्रुअरी १९०४ देखि सेप्टेम्बर १९०५ सम्म चलेको रूस–जापान युद्धलाई बीसौं शताब्दीको पहिलो ठूलो युद्ध मानिन्छ । जमिन तथा समुद्रमा लडिएको यो उन्नाइस महिने युद्धमा दुई देशको फौजमाझ कैयौंपल्ट घमासान मुठभेड भयो । तर किरातले आफ्नो कथामा केवल यौटै मुठभेडको अति संक्षिप्त चित्रण गरेका छन् । कथाको कलेवरलाई उकास्न प्रशस्त ठाउँ छँदाछँदै पनि लेखकले कथालाई लघुरूपमै राख्न रुचाएका छन् । अर्थात् कलिलो किशोर लेखकले आफ्नो कल्पनाभिव्यक्तिको सीमिततालाई सश्रम तन्काउनपट्टि नलागेर आफ्नो अपरिपक्वताबारे बरु आत्मस्वीकृति दिएका छन् कथा भन्दाभन्दै बीचमा, यसरी– ‘…यो म आफ्नो भरखरको सिकुवा कलमले लेखी देखाउन सक्दिनँ…।’
कल्पनाको स्थूल रूपदेखि पर्तिर त्यसको सूक्ष्म तत्त्व लेखकभित्र विकसित भइनसकेको अवस्थामा लेखिएकाले कथाको जीउडाल पनि केही अविकसित देखिनु अस्वाभाविक होइन । तर कथामा भावुकतालाई लोभ्याउने खालका कति ठाउँहरू छन्, तथापि लेखक आफ्नो बैंसको कलिलो बिहानीमा पनि भावुकता पोख्ने लोभले खिँचिएका छैनन् । कथाका ती खाल्डाखुल्डी भावुकताले भर्दै गएको भए त्यो कथाको काया थिल्थिलाउँदो बोसोले अलिक अल्सीलाग्दो पनि देखिनसक्थ्यो । यस कथामा भावुकतालाई न्यूनतम भूमिका दिइएको छ । यही नै ‘शूर वीर’ को सकारात्मक पक्ष हो । प्रारम्भिक पंक्तिदेखि नै कथामा पाठक युद्ध परिवेशमा पर्छ । त्यै परिवेशलाई यथावत् राख्न लेखकले मूलपात्रको नववधूसितको रागात्मक प्रेमक्रीडालाई समेत ‘भीषण प्रेमयुद्ध’ भनेर पाठकलाई, यस्तो भावनात्मक स्थितिमा पनि ‘युद्ध’ शब्दसित अल्झाइराख्न खोज्छन् । कथनशिल्पको एक चम्किलो झिल्को मान्न सकिन्छ यसलाई । यो कोमल स्थितिमा भावनासित बग्ने पर्याप्त ठाउँ हुँदाहुँदै पनि लेखकले कप्तान अनि नवदुलहीलाई ‘सम्झाउनी–बिर्साउनी चुम्बन’ मात्र गराएर छुटाउँछन् । कथामा तर ती खाल्डाखुल्डी त्यत्तिकै रहेका छन् । तिनीहरूले माग गर्छन् सिर्जनशील सूक्ष्म कल्पना–तत्त्व जसले कथालाई एक सग्लो र बान्किलो रूप दिन सक्थ्यो ।
यो कथा र कथाकारबारे अर्को एक विवेच्य कुरा : साधारणतः किशोरावस्थाका धेरैले नै आफ्नो अभिरुचिको विधामा कुनै प्रिय अग्रजलाई प्रभाववश अनुसरण–अनुकरण गर्न खोज्छ, अनि केही समयपछि, सचेत सर्जकले, उनै अग्रजलाई उछिन्ने या उनीबाट अलग्गिने प्रचेष्टा चलाउँछ । हायमनदास राईका अग्रजहरू रूपनारायण सिंह, बालकृष्ण सम, मैनालीहरू अनि दौँतरीहरूले स्वाच्छन्दिक तथा सामाजिक यथार्थवादी ढाँचामा रागात्मक प्रेमका अनि सामाजिक विषयवस्तु नै टिपेर नेपाली कथा लेखनमा आधुनिक युगको पहिलो उठानलाई उठाइरहेका थिए । यस्तो समय सोह्रवर्षे हायमनदास राईले रूस–जापान युद्धलाई कुन प्रेरणाले आफ्नो कथाको विषय बनाए होलान्, ‘शूर वीर’ भन्दा अघि युद्ध नै विषय बनेको कुनै कथा नेपाली भाषामा लेखिएको छ–छैन, सांगोपांग शोधकार्य नभइन्जेल हायमनदास राईको ‘शूर वीर’ नै पहिलो नेपाली युद्धकथा हो भन्छौं ।
त्यसो त ‘शारदा’ को त्यही अंक (पृष्ठ ३–५) मा कुनै लक्ष्मीनारायण ठाकुरको ‘वीर छेत्रिनी’ पनि युद्धकथाकै ढाँचामा लेखिएको छ । स्त्रीलिंगी ‘छेत्रिनी’ लाई विशेषित तुल्याउने ‘विरांगना’ को सट्टा पुलिंगी ‘वीर’ लेखेर उक्त लेखकले यथोचित वीरताचाहिँ देखाएकै छन् । तर यस कथामा मूल युद्ध गौण रहेर यौटी नारीको प्रेम र प्रतिशोध नै बढी टड्कारो भई अग्रभूमिमा आएको छ अनि कथाको अन्त्यमा नारीहरूको सामूहिक सती गमनलाई गौरवीकरण गरिएको छ । तर ‘शूर वीर’ मा सुरुदेखि अन्त्यसम्मै पाठकलाई युद्धको चर्को गन्ध र आवाजले छोड्दैन । ‘शूर वीर’ पछि अर्को चर्चित युद्धकथा पढ्नलाई नेपाली पाठकले बाह्र वर्ष पर्खिनुपर्ने हुन्छ जुन बेला ‘युगवाणी’ (संवत् २००४) मा सुदक्ष कथाशिल्पी शिवकुमार राईको ‘फ्रन्टियर’ प्रकाशित हुन्छ ।
आरम्भदेखि अन्त्यसम्मै यौद्धिक हावा हुँइकिरहेको कथा ‘शूर वीर’ मा इतिहासबाटै टिपिएको रूस–जापान युद्धलाई कथ्य बनाइएको भए तापनि तर त्यस युद्धबारे पर्याप्त अध्ययन–अनुसन्धान नगरी त्यस युद्धको यौटा मुठभेड (ब्याटल) लाई स्वच्छन्दतावादी प्रभावमा सरल रेखीय कथारूप दिइएको छ । देशमा स्वाधीनता संग्रामको आगो बलिरहेको समय थियो त्यो अर्थात् मातृभूमिको निमित्त त्याग र बलिदानको भाव उर्लिरहेको बेला थियो । अनि किशोर हायमनदासले आफ्नो बैंसालु बलिदानको भाव पोख्ने प्रतीक भेट्टाए सुदूर रूस–जापान युद्धमा । त्यसैले यो कथामा छ युद्ध र योद्धाको स्वाच्छन्दिक गौरवीकरण (रोम्यान्टिक ग्लोरिफिकेसन) । औपनिवेशिक बन्धनबाट मातृभूमि–मुक्तिको निमित्त सारा सचेत र स्वाभिमानी देशवासी जुर्मुराइरहेको बेला युद्धमा होमिने कृत्यलाई गौरवीकरण गर्नु अत्यन्त स्वाभाविक थियो ।
भौगोलिक आयतनमा धेरै सानो जापानले बृहदाकारको तथा शक्तिशाली रूसमाथि पाएको विजयगाथा सुनेर ठिटौले हायमनदासलाई गहिरो प्रभाव परेको थियो सायद । बृहदाकार र विजय दुई बेग्लाबेग्लै कुरा हुन् भन्ने प्रत्यक्ष ज्ञानको उदय उसबेला उनीभित्र भयो होला । अनि कहिल्यै घाम नअस्ताउने उसबेलाको बृहत् ब्रिटिस साम्राज्य र स्वाधीनता संग्रामको झन्डा लिई दृढतासित उठेको भारतमा उनले रूस र जापानकै सामन्जस्य पाए होलान् । अर्थात् यसो भनूँ, देशप्रतिको आफ्नो तीव्र भावानुभूतिलाई समुचित निकास दिने इलियटको शब्द सापट लिँदै उही अनुपातको वस्तुनिष्ठ समीकरण (अब्जेक्टिव् को–रिलेटिव) को रूपमा रुस–जापान युद्ध भेट्टाए । अनि तोपको मोहोरीभित्र पसेर आफ्नो ज्यान बलि चढाउने ओसाकाको त्रासद कथाले हायमनदासभित्रको भावावेगलाई उस्तै तीव्रतापूर्वक निकास दिन एरिस्टोटलीय ‘कथार्सिस’ कै काम गरेको अनुमान पनि लाउँदा अतिशयोक्ति नै चैं नहोला ।
यसरी हायमनदास राईले हामीलाई हाम्रो आधुनिक (आधुनिकतावादी होइन) कथा लेखनको आरम्भिककालमै अनि आफ्नो कथालेखन–यात्राको थालनीमै यौटा युद्धकथा दिए । यस कथाको विषयगत ऐतिहासिक महत्त्वमाथि आजसम्म विज्ञ समालोचक तथा अनुसन्धाताहरूको दृष्टि परेको छैन कि या त परे पनि कथा संरचना उति पुष्ट नभएकाले बेवास्ता गरिएको हो कि, तर अघि भनेझैँ ‘यस कथाको विषयगत ऐतिहासिक महत्त्व’ सधैं स्मरणीय र उल्लेख्य छ । सामरिक स्वभाव हाम्रो पुरानो परिचय छ संसारमा । रणक्षेत्रमा गोर्खा फौजको छाया मात्रले पनि शत्रुको रौँ ठाडो हुन्छ भन्ने दन्तेकथा नै बनिसकेको लडाकु जाति । उन्नाइसौं शताब्दीको दोस्रो दशक (अंग्रेज–नेपाल युद्ध) देखि यता बीसौं शताब्दीका दुईवटा विश्वयुद्ध हुँदै आजपर्यन्त अनगिन्ती युद्ध लडेर उदेकलाग्दो शौर्यका तक्माहरू कमाउने यो जाति । त्यसैले, युद्धका हज्जारौं कथाहरू छन् हामीसित ।
युद्धका असंख्य अनुभव–अनुभूतिहरूको ठूलो भण्डार छ हामीसित । अहिलेसम्म हाम्रो युद्धसाहित्यको एक उदाहरणीय पुस्तकालय भइसक्नुपर्ने । तर संसारप्रसिद्ध यो सामरिक जातिको युद्धसाहित्य कति छ ? युद्धकथा, युद्धाख्यान, युद्धकविता, युद्धसंस्मरण हाम्रा लाहुरेहरूबाट कति लेखिएका छन् ? थोरै जे–जति छन् तीमध्ये पनि धेरजसो कहिल्यै युद्धभूमि नदेखेका अ–सिपाहीहरूले सुनेका–पढेका भरमा लेखेका छन् । (चर्चा गरिएको युद्धकथा ‘शूर वीर’ का लेखक अनि अघि माथि प्रसंगमा उल्लेख गरिएको ‘फ्रन्टियर’ का लेखक शिवकुमार राई दुवैमा फौजी जीवनको अनुभव थिएन ।) यौद्धिक अनुभव–अनुभूतिको सुनखानी छ यो जातिसित । तर त्यहाँबाट सुन निकाली आकर्षक गहना जति बनिसक्नुपर्थ्यो, त्यति बनिएकै छैन ।
उन्नाइसौं शताब्दीको अन्तिम दशकतिर केही सिपाहीहरूले लडाइँका सवाईहरू लेखे । लडाइँमा आफूले देखेका भोगेका कुराहरूलाई लोकलयमा विवरण गरिएका ती सवाईमा तर सूक्ष्म काव्यिकता खोज्नु अत्यापेक्षा नै हुन जाला । वर्तमान पुस्ताका केही सिपाहीहरू छन् ब्रिटिस गोर्खा फौजमा जसले अचेल आफ्निा युद्धानुभूतिहरूलाई धेरै आसलाग्दा किसिमले कवितारूप दिइरहेका छन् । यस बेला म सम्झिरहेछु एक ब्रिटिस गोर्खा सिपाही कुमार इस्बोका ती केही युद्ध कविताहरू : फकल्यान्ड, बोस्निया, कोसोवो र क्रोएसियाका यौद्धिक जर्जरताको मार्मिक अभिव्यक्ति ।उनको ‘हिउँद आउँदै छ’ का प्रारम्भिक पंक्तिहरू हेरौं—
‘आउँदै छ हिउँद
यसपालि पनि कुटिल मुस्कान छर्दै
गोलीले प्वाल पारेका भित्ताहरूबाट सिरेटो भई चियाउन
बमले लडाएका घरमाथि ताण्डव नाच्न
माइनले उडाएका अर्धखुट्टाहरूमा घनले ठोक्न
सिंगो बोस्नियालाई सेट च्यादरले ढाक्न’
बोस्नियाकै अवस्थामाथि उनको अझ प्रभावी अभिव्यक्ति छ कविता ‘अनुरोध’ मा । केही अंश हेरौं—
‘बोस्निया घुम्दा
केही अनुहारहरू रङ उडेको देखेँ
कलाकार !
रङ भरिदेऊ ती अनुहारहरूमा ।
बोस्निया घुम्दा
केही वृद्धहरूले बन्दुकको लौरो टेकेको देखेँ
कलीगढ !
बनाइदेऊ लौरो ती वृद्धरूलाई ।
बोस्निया घुम्दा
केही किशोरहरू निद्रामै हिंडिरहेको देखेँ
बतासको झोंका !
ब्युँझाइदेऊ निद्राबाट ती किशोरहरूलाई ।’
युद्ध र योद्धालाई हेर्ने पारम्परिक रोमान्टिक दृष्टिलाई विरुमानीकृत गर्दै युद्धको विभीषिकालाई नै आफ्नो काव्य लेखनको प्रमुख विषय बनाई उत्कृष्ट युद्धकविता लेख्ने अंग्रेज सिपाही–कविहरू विल्फ्रेड ओवेन, सिग्फ्राइड ससुन, एडवार्ड टोमसजस्ता कविहरूकै परिपाटीका देखिन्छन् कवि इस्बोका उक्त कविताहरू पनि । यी कविताहरूपछि तर कुमार इस्बोलाई फेरि पढ्न पाइएको छैन ।
युद्ध विषयक आख्यान र गद्य विधाको बाँझो फोर्ने काम समकालीन लेखनमा थोरै जे भएको छ त्यो नेपालको बाह्रवर्षे जनयुद्धको पृष्ठभूमिमा लेखिएका ‘छापामारको छोरो’ (कथासंग्रह/महेशविक्रम शाह), पल्पसा क्याफे, मयूर टाइम्स (उपन्यास/नारायण वाग्ले), उर्गेनको घोडा (उपन्यास/युग पाठक) र अन्य कतिपय कृतिहरूमा भएको छ । तर यी लेखकहरू पनि त्यस जनयुद्धका सिपाहीहरू थिएनन् । स्पेनी गृहयुद्धमा सक्रिय सहभागी बनेका अर्नेस्ट हेमिङवेको ‘फर हुम द बेल टोल्स’, ‘फेयरवेल टु आर्म्स’ तथा अरू अमेरिकी, युरोपेली सिपाहीहरूका युद्ध उपन्यास र कथाहरूका हाराहारीमा उभिन सक्ने युद्धाख्यानहरू (सिपाहीहरूद्वारा नै लेखिएका) हामीसित कति छन् विज्ञ अध्येताहरूले खोज्नुपर्ने यौटा कार्य छ ।
आफ्नो देशको इतिहासका पानामा ढुकढुकाइरहेका जातीय र राष्ट्रिय मान–अभिमानको शिर उठेको र ढलेको घटनाबाट प्रेरित–प्रभावित भएर पनि उत्कृष्ट युद्धसाहित्य लेखिएका छन् । बालकृष्ण समको ‘अमरसिंह’ त्यस्तै यौटा उल्लेख्य युद्धनाटक हो । २०१२ को नोबेल प्राइज विजेता चिनियाँ उपन्यासकार मो यानको ‘रेड सोरगम’ तत्कालीन असंगठित चीन र जापानमाझ लामो समयसम्म चलेको युद्धको एक अत्यन्त सशक्त युद्ध उपन्यास हो ।
दुई सय वर्षदेखि विश्वले चिनेको–मानेको हाम्रो सबभन्दा टड्कारो परिचय छ ः त्यो हो युद्धभूमिबाट पीठ फर्काउन नजान्ने इमानदार सामरिक जाति । अनि यही जातिको चाहिँ उन्नत सामरिक साहित्य आजसम्म किन हुन सकेन ? चिन्तनीय कुरो हो । आजका संवेदनशील तथा सिर्जनशील लाहुरेहरूले यस प्रश्नको जवाफ दिँदै जानेछन् युद्ध विषयक कविताले, आख्यानले, संस्मरणले । विश्वस्त रहौं ।
प्रकाशित : श्रावण ४, २०७६ १०:२०
(स्रोत : कान्तिपुर दैनिक)