~ललित बस्नेत “भीमाली”~
मकैको थाँक्रो सिधै
एकै छाक पार्छन्
कहिले यताका
कहिले उताका
बाघ छापेहरूले
हाम्रो गाउँमा !
टाँकीको मुन्टा
मान्छेलाई खान पुग्दैन
के खुवाउने पशुहरूलाई ?
भोकभोकै छन् वस्तुभाउहरू
हाम्रो गाउँमा !
छोरालाई विदेश पठाउन
खेतबारी बेचेको रकम
म्यानपावरले खाइदिएपछि
छोरो हतास छ
बूढा बा अलपत्र
हाम्रो गाउँमा !
सदा झैँ जुन उदाएकै छ
अँधेरी रात पनि आएकै छ
दिउँसो घाम लागेकै छ
तन्नेरीहरू जङ्गल पस्ने पसेकै छन्
चेलीहरू हराउने हराएकै छन्
हाम्रो गाउँमा !
खेत छ
कुलो छैन
हलो छ
गोरु छैनन्
खडेरीले अनिकाल
अनिकालले भोकमरी
निरन्तर नै चल्दै छ
हाम्रो गाउँमा !
सानो पाथीले दिएर
लिँदा ठूलो पाथीभर्नेले भरेकै छन्
एक मनको दाम दिएर
पचास किलो तौलेर
ठग्नेले ठगेकै छन्
बजारमा
सन खतमी दिएर सनपाट सबै
सन खाडीबाटै लगेकै छन्
बाली भित्र्याएर खाने सपना
टुट्नेको टुटेकै छ
लुट्नेले लुटेकै छ
हाम्रो गाउँमा !