~भुवनहरि सिग्देल~
देश हिमाली व्हैन भनौँ
बाहिर बालौँ भित्र खनौँ
लेक र बेसी एक गरौँ
आपस हामी युद्ध लडौँ
खेतहरूमा द्रोह छरौँ
शत्रु फलाई टन्न भरौँ
प्रेम अफालौँ द्वन्द्व गरौँ
आपस हामी युद्ध लडौँ
आशन खोसौ“ मोज गरौँ
देश निचोरौँ भोज गरौँ
बन्धुहरूका श्राद्ध सकी
आपस हामी युद्ध लडौँ
बेत निगाला वा भरुवा
पानस ठेकी या करुवा
शस्त्र निकालौँ उग्र गरौँ
आपस हामी युद्ध लडौँ
यो रण जित्ने शक्ति मिले
उन्नत हुन्थ्यो देश हरे !
त्यै यदुवंशी चाल गरौँ
आपस हामी युद्ध लडौँ
हिन्दु भनौला या यवन
भिन्न हुनाको छैन मन
काँध मिलाऔँ भाइ भनौँ
आपस हामी युद्ध लडौँ
आरन बालौँ अग्नि फुकौँ
यी खुकुरी छन् धार झिकौँ
पाइन हालौँ तेज गरौँ
आपस हामी युद्ध लडौँ
जन्मनु पर्ने मृत्यु हुन
काल कुरेरै बस्नु किन ?
आज अकालै डङ्ग ढलौँ
आपस हामी युद्ध लडौँ
रक्त-नदीमा स्नान सकी
भूत पिशाचे नाच सिकी
हाडहरूका वाद्य सुनौँ
आपस हामी युद्ध लडौँ
जर्जरताको गीत सुनौँ
रोग अशिक्षा मित्र भनौँ
द्वेष घृणाका ढाल भिरौँ
आपस हामी युद्ध लडौँ
टायर बालौँ भस्म छरौँ
देश हमेसा बन्द गरौँ
बृद्ध विरामी किन्तु मरून्
आपस हामी युद्ध लडौँ
बुद्ध नमानौँ झूट भनौँ
आशय चोखो लूट भनौँ
शान्ति नमानौँ क्रान्ति गरौँ
आपस हामी युद्ध लडौँ ।