कविता : संकटकालमा सहवास

~श्यामल~

संकटकालमा म तिम्रा औंलाहरु चलाउन सक्तिन
संकटकालमा तिम्रा आँखाहरुतिर हर्न सक्तिन
सबै कुरा तय गरिएको हुन्छ माथिबाट
सबै सबै प्रेमीहरु ज्यान जोगाउन आतुर हुन्छन्
खाडीयुद्घको आकासमा भौंतारिएका पन्छीहरुजस्तै
तिम्रो मेरो आलिंगन अवैध हुन्छ संकटकालमा ।

हेर, चुपचाप छ टेलिफोन, तरंगविहीन
सडकहरु छन् तर निस्पन्द, सून्य र संवादरहित
रेडियो बौलाहा झैं एकसुरले ओकलिरहेको छ बुद्घवाणी
टीभीको समाचारमा देख्न पाइन्छ अद्भूत दृश्य
टोलका केही वदमास ठिटाहरु
मन्दिर धाइरहेका छन्
वर्षौदेखि मौनब्रतमा बसेका हुल्याहाहरु
भजन गाइरहेका छन्
तिनीहरु चर्कोसँग बजाउँदैछन् भक्तिसंगीत
हाम्रो सहवास भंग हुने गरी
सबै कुरा तय गरिएको हुन्छ माथिबाट
र हाम्रो प्रेम निगरानीमा हुन्छ संकटकालमा ।

संकटकालमा म तिम्रा सुन्दर ललाटमा म्वाइँ खान सक्तिन
सम्पूर्ण नांगिएर निसंकोच
म तिम्रै देह र आत्मामा एकाकार हुन सक्तिन
संकटकालमा
भर्याङमुनि जब दगर्न थाल्छ मुसो
भयभीत हुन्छ प्रेम
यसबेला मानिसहरुको हाँसो सोहोरिएर
पस्तछ हत्याराहरुको अनुहारमा
र निस्कन्छ शासकको अनुहारबाट
हाम्रो हाँसो पनि त संदिग्ध हुन्छ संकटकालमा ।
संकटकालमा डाक्टरहरु अप्रोनमै जान्छन् रत्नपार्कको पेटीमा
आफ्नो भविष्यको जोखना हेर्ने,
आफ्नो बुद्घिलाई सफा रेशमी रुमालमा राखेर
बुद्घजिवीहरु लाग्छन् शक्तिपीठहरुतिर,
विख्यात प्राज्ञहरु किस्तीमा राखेर आफ्नो आशुकाव्यकला
उपस्थित हुन्छन् मायामार्गको विशाल द्वारमा,
धुर्त हतियारधारी प्रसन्न हुन्छ र गर्व गर्नथाल्छ आफ्नो आभामण्डलको
प्रिय, यतिबेला हरेक पत्नी बलात्कृत विधवा झै विलाप गर्न थाल्छे
र नजरबन्दमा हुन्छ प्रेमगीत संकटकालमा ।

म तिम्रा स्तनहरुको पवित्रताको सम्मान गर्न थ्ााल्दछु
म तिम्रा प्रेमाप्त केशराशिहरुको संभार गर्न थाल्दछु
भन्छन् – मसानमा प्रेतहरु जाग्दछन् गाउँ वस्तीमा महामारी पसेपछि
म तिम्रा सपनाहरुको कविता सोच्न थाल्दछु संकटकालमा ।

(यो कविता २०६१को संकटकालको पहिलो रात लेखिएको थियो)

– काठमाण्डौ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.