कविता : म हत्केलाले घाम छेकेर कालो बादल खोज्दैछु

~समसेर अली~

विकृत अनुहारहरु
बिप्ल्याँटो बिश्वास
विकराल विडम्बनाहरू
दिशाहीन रेगिस्तान हिड्दै थिए
बर्षौं हिडीएका
कारवांका पाईतालाहरूले
कुल्चिएका उष्ण समयका कणहरू
एक छिटा-बाछिटा
पर्खिरहेथें मरुभूमिमा।
आकाशमा ढकमक्क फुलेका
सिरस बादलका अपुताली फुलहरू बिच
घडीका सुईहरू पछाडीदैथिए
समयका रफ्तार अघि।
क्रूर बादशाहको साम्राज्यमा
नपुंशक भाले बास्नै असमर्थ थिए
शोषित र बलात्कृत आँसुहरू
रानिदहको पछिल्तिर
ढोका थुनेर आत्म-हत्या गर्दैथिए।
-खोई कताबाट आए कोनी?
चारैतिरबाट कमिलाका ताँतीहरू
खोज्दै घर गुजुल्टो परेर,
खोज्दै आए गौंथलीका बथान पनि
गिलामाटाहरू पानी पँधेरीमा।
यो देखेर
ईर्ष्यामा छन् धोबिनी चरीहरू
सुनमाया, धनमाया, र बिरिमफुलहरूसितै
बिरानो आफ्नै आँगनमा
नपाएर रातो-कमेरो मातोहरू बलेसीमा।
आक्रोशित चित्कारहरूसित
पर्खिरहेछन् समर भुमीहरू
पञ्चतत्वमा विलिन हुनलाई
लम्पसार छन् आत्माहरू
सुत्नलाई निमग्न एउटा मिठो निन्द्रा,
लड्नु छ फेरी
अर्कै एउटा युद्ध शान्तिको
अहिंसाको पुरानो चिहानमा
आतुर छन् पुनरुत्थान
जिजस,बुद्ध र गान्धी
उसका अनुयायीहरू लिएर।
समयको अट्टहासपूर्ण हाँसोमा
थर्कमान छन् मनहरू
एउटा बादशाहको मृत्युशय्यालाई धिक्कारेर
महा-जुलुस भाग्दैछन्
जुम्राका ताँतीहरू
सडेको लासबाट निक्लिएर
जिन्दाबाद! मुर्दाबाद!-को आवाजमा
फेरी अर्कै बिहानीतिर।
फेरी अर्कै तातो रगतको मुहानतिर।
म हत्केलाले घाम छेकेर
कालो बादल खोज्दैछु।

– कालेबुङ

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.