~निलन कुमार थेच्वमि~
म एउटा एक्लो पंक्षी
भविष्यका इच्छा आकांक्षाहरुका साथ
विभिन्न उदेश्य र सपनाहरु बोकी
अनन्त खुल्ला आकाशतिर उड्न खोज्थें…
त्यो समय मेरो सामु
घनघोर घटाले छाएपनि
मेरो पार्इला पाइलाहरुमा…
भूमरी र वतासले पछ्याएपनि
मसंग हजारौं बाधा अड्चनहरु तोड्ने
विशाल पहाड पर्वतहरु फोड्ने
आँट र भरोसाहरु साथमा थियो ।
तर अनायास एकदिन
यो एक्लो पन्छी
भविष्यका सपना र उदेश्यहरु संग
लुकामारी खेल्दै, सफलताहरुसंग
मितेरी गाँस्दै, हाँस्दै… रम्दै…
निश्चल अनन्त गगनमा
उमंगसाथ रहरले उड्न खोजेँ…
तर नियतीको बिडम्बनाले
उड्न नसकि जमिनमै बज्रिन पुगें…
बज्रिएको ठाउँबाट
मेरो अस्तित्व विस्तारै हराउँन थालेको रहेछ ।
जब म आफ्नो गन्तव्य चुम्न
खुला गगन तिर उड्न उन्मुख भएँ…
ती रहर, आशा र आकांक्षालाई
अनन्त क्षितिजमा भूमरीका झोक्काहरुले
उडाएर लगिसकेको रहेछन्…
यो एक्लो पन्छीको
हाँसो, उमंग र रहरहरु
साथमा,
संसार हेर्ने इच्छा र आकांक्षाहरु
आगोको ज्वालामा दन्किएर खरानी भैसकेको रहेछ…
मैले त पत्तो नै पार्इएको थिएन…
म उड्न खोज्छु …तर
खालि त्यही जमिनमा लड्छु पछारिन्छु…
जव मैले पत्तो पाएँ, म झस्केँ
किनकि, वास्तवमा समयले
मेरो प्वाँख नै काटिदिएको रहेछ..