कविता : भ्रमहरूको यथार्थ

~श्याम रिमाल~

भ्रममा बाँच्नु पो मीठो हुँदोरहेछ
यथार्थ त पीडादायी मात्र रहेछ
पानीमा देखिएको छाया
र ऐनामा देखिने आफ्नै प्रतिबिम्बसँग
सिङ्गै दिन बिताउन सकिन्छ
तिनसँग अनन्त जिस्कन सकिन्छ
जस्तो कि मरुभूमिमा एउटा मृग
मणिभ देखेर पानीको भ्रममा घण्टौँ कुदिरहनसक्छ

जसलाई हामी प्रेम भन्छौँ
त्यो वासना हुनसक्छ
त्यसैले त जीर्ण तन भ्रमित भएर तारुण्य मन बोकिरहनसक्छ
सौन्दर्य पनि एउटा भ्रम नै त हो
जो फगत उन्मादको कारण बन्न सक्छ
प्रेमी बहुलाउँदा किन त प्रेमिका मज्जासँग हाँसिरहनसक्छे ?

भ्रमैभ्रममा बाँच्न सक्नेले
आफैँलाई विश्वसम्राट् घोषणा गर्नसक्छ
यथार्थ – त्यो त पीडाको जननी मात्र हो
र हत्यारा हो स्वप्न, स्वैरकल्पना र स्वर्णमहलहरूको ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.