कविता : बूढानीलकण्ठ

~अविनाश श्रेष्ठ~

भगवान् !
तिमी यहाँ आएर निदाइरहेका छौ !

उता सहरमा के-के भइसक्यो
थाहा छ तिमीलाई ?

खेतबारीहरूलाई त्यता घरैघरले ढाकिसके
धाराहरु त्यहाँ मरूहिटीमा फेरिइसके
विष्णुमती र बागमतीको ठाउँमा अचेल
फोहोर लेदोले लबालब
दुर्गन्धित दुइटा नालाहरू घस्रन्छन्
अजिङ्गर झैँ ।

भगवान् ! रिपभ्यान विङ्कल झैँ
कुनै दिन जब तिमी ब्युझनेछौ
यो सहरको ठाउँमा देख्नेछौ
पसारिएको एउटा मुर्दा सहर
खण्डहरै-खण्डहरको निर्जीव विस्तार ।

भगवान !
तिमी यहाँ आएर निदाइरहेका छौ !

असाम भारत,
हाल: काठमाण्डौ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.