कविता : बिचलीत बर्तमान

~मिजास तेम्बे~

न्यानो राडीमा बसेर,
छिप्पेको मिठो तोङबाको चुस्की संगै
डोल्मा संग छक्का पञ्जा खेलेका यादहरु
ठिङ्ग उभिएका छन् मेरो अघि
छ्यादोङमा भोटे चिया मथे जस्तरी
बिश्रृङखलीत भएकाछन् सम्झनाका ज्वारहरु ।

पुसे मेलामा सोल्टेनीको न्यानो हात समातेर
पालाम गाएका थियौ,
एक साथ हाक्पारे घन्काएका थियौ ।
धान नाच रन्काएका थियौ,
ख्यालीमा हारेको कुङबाको अनहार जस्तै,
जुवामा घर खेत हानेको जुवाडे जस्तै,
आफै संग म अचेल नमिठो गरी बिरक्तीएको छु ।
बेहुलीको मजेत्रोमा युप्पारुङ बाँधे जस्तरी,
बेसरी गाँठो परेकाछन् अनुभुतिहरु ।
तातो चिसो छुट्याउदै हातहरु ।
सेतो कालो देख्दैनन् आँखाहरु,
जीउदो लासको यथार्त बोकेर,
ब्युख्याँचा जिजीबिषा उभ्याईरहे छु ।

फेदाङमाले अछेता मन्साएर,
जिन्दगीका अप्ठ्यारा कुइनेटाहरुमा अचेल,
माङगेन्नाले छेक्न छाडेको छ मलाई ।
सधैं सम्भाबित दर्घटनाको सन्त्रास च्यापेर,
सोझो रेखामा संबेदनाशून्य ।

हाल: ब्रुनाइ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.