कविता : देश हामी र किसान आन्दोलन

~सुमिना अभिलाषी~

चिया र कफिको तातो बाफमा मजा लिदै
गुलिया परिकारहरू सँगै
रमाइरहेछन् कति मिस्ठान्न भण्डारहरूमा

त्यति नै बेला देखिन्छ
टेलिभिजनमा र टेबलभरी छरिएका पत्रपत्रीकाहरूमा
एउटा सनसनिपुर्ण खवर

आफ्नो अधिकार माग गरिएको ब्यानर बिछ्याएर
राजधानीका सडकमै पल्टिएको छ
एउटा वृद्ध उखु किसान

जसले छेडिरहेको छ
लुटेरा दलाल उद्योगपतिहरूमाथीको आन्दोलन

एक भारी संवेदना खनाउदै
सोखका साथ सेवन गरिरहेका छन्
थप अर्डर गर्दै चिया कफीका पारखिहरू

फ्याक्ट्री सन्चालकहरू
भागेको तथ्य खुलासा गर्दै
कतै हराइरहेको छ मन्त्री

अनगिन्ती सवालहरू अन्देखा गर्दै
कतै मौन गुप्तवास बसेका छन् सरोकारवालाहरू

आन्दोलित क्षेत्रमा पुगि
आन्दोलित किसानलाइ भावुक हुन आग्रह गर्दै
दुखी अनुहारको तस्विर खिचिरहेको छ
एउटा पत्रकार

अर्को भने भिडियो खिच्दै अपलोड गर्छ र युटुबमा
पटक – पटक गनिरहेको छ भ्युबर

आन्दोलनमा एक्यवद्धता जनाउन
आ – आफ्नो ग्रुप लिएर पुग्छन्
सम्बन्धित स्थानमा केही युवा अनुहारहरू

संवेदना मिसाउदै
पटक- पटक खिचिरहन्छन् मुस्कुराउदै
पोज- पोजमा आफ्नै सेल्फी
उनिहरूलाइ लाग्छ
(जसरिपनी भिडमा आफू देखिनुछ अग्र पंतिमा)
अनि अपलोड गर्दै सामाजिक संजालहरूमा
गरिरहेछन् आफ्नै बिज्ञापन

त्यति नै बेला पुन संवेदना थप गर्छन्
केही कार्यकर्ताहरूको बिचमा
विभिन्न पार्टिका प्रतिनिधिहरू
आ – आफ्नो पार्टीको नारा सहित

मात्र मूकदर्शक बनेर
केही संवेदना सहित
रमिता नियालिरहन्छौ कति म जस्तै रमितेहरू

अचम्म मान्दै
आखिर यतिधेरै संवेदनाहरूको विचमा
किन अधिकार विमुख बनिरहेको छ पीडित किसान

हो रहेछ
साँच्चिकै संवेदनाहरूमापनि
आफ्नो फाइदाको कुटनैतिक खेल खेल्न
माहिर रहेछ यो देश
र त पीडा र आँशुमा पनि
आ -आफ्नो फाइदाको व्यापार गरिरहेका छौं हामी !!

“सुमिना अभिलाषी”
बुटवल – रुपन्देही

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.