~नरेन्द्र के . सी .~
काँडैकाँडाको गोरेटोमा
फाटेका पैतलाहरु
निरन्तर लम्किरहन्छन्
एक तमासको लम्बे मार्च झैँ
पिठ् यूँमा भारी
पहाडको प्रतिलिपी बोकी
नदीको एक छालबाट
सापटी लिएका पसिना
चैतको धुलो मेटाउँदै
तरतरी बाटोभरि
एकल लम्बे मार्च कि
नियतिको यात्रा ?
होइन ,
उसको जीवनको अंशंवण्डा
यात्रा जारी रहन्छ
उकालीको पिपल छहारी
सँधैको जीवन विसौनी
निधारको नाम्लो झर्छ
सुस्केराले मुक्ती पाउँछ
साथमा च्यातिएको कमिज
त्यै आजीवन रुमाल पनि
नच्यातिएको छेउ तान्दै
सरक्क पसिना पुच्छ
जीवनको लम्बे यात्रामा
सिंगो बोटो हिड् न
बाँकी नै छ ।
उता , गरीवको आकाशमुनि
दासताको मियोबीचमा
जीवनको वरिपरि
फनफनि जाँतो घुमिरहन्छ
फाटेका पैतलामाथि
कोही मान्छेहरु उडिरहेछन्
गरीवी हाडको धुलोमा
शोषणको मसला मथेर
महलहरु ठडिरहेछन्
फाटेका पैतला
र च्यातिएका कमिजहरु
देख्दैनन् यस युगका
मान्छेहरु
गरीवी क्न्दन र रोदनका
सुस्केरा
सुन्दैनन् यहाँका निरोहरु
तर यता भने ,
फाटेका पैतला
र भारीको पहाडबीच
जीवनको यात्रा जारी रहन्छ
निरन्तर जारी रहन्छ