~टंक वनेम~
साँघुरी (साङगुरी)
इतिहासले भताभुंग पारेको
शान गडी त हो
तर आज भोलि
पदयात्रीहरूले टेकिने गरेको
एउटा भन्ज्याङ न हो ।
ऊसँग अब –
माया लाग्दा आँखाहरू मात्र छन्
ती माया लाग्दा आँखाहरूले
निकै पर –
कोशीको धार हेर्ने गर्छ
केही तल –
दन्त्यकथाको विजयपुर हेर्ने गर्छ
बराह क्षेत्र र विष्णु पादुका हेर्ने गर्छ ।
त्यही साँघुरीमा
बुढो सुब्बा धनुवाण बोकेर
साँघुरी उकालो
सिकार खेल्न आउँदैन
माटोको मूर्ति भएर
ढल्नु अघि
साँघुरीसँग रमाउने गर्दथ्यो
बुढो सुब्बा
साँघुरिका वरिपरि डुलेर
आस्थाका फूलहरू बटुली
सबैलाई चढाउने गर्दथ्यो बुढो सुब्बा ।
कोनि किन हरायो ?
कलिले छोएपछि बुढो सुब्बा
किंकर्तब्यविमुढ भई
ठिङ्ग उभिरहेछ साँघुरी
बुढो सुब्बालाई पनि
इतिहासले बिर्सेको सुन्दा ।
७ वैशाख २०६२
-तप्लेजुङ, हाल: बेलायत