कविता : नयाँ बुद्ध र घाम जूनलाई

~भवानी लिम्बू म्याङ्बो ~

रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै
धेरै नै टाढादेखि
कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर
घाम तिमी न्यानो उज्यालो लिई
हाम्रो आकाशमा झुलकी राख है ।

सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै
टिलपिल ताराको शहरबाट
चुपचाप अँधेरी रातमा घस्रिएर
जून तिमी शीतल छायाँ लिई
हाम्रो आँगनमा झुली राख है ।

सेतै हिउँको बाह्रै बसन्त मनाउँदै
हिउँ फूलहरूको अविशेख बर्सिएर
युगको भूकम्पलाई कुल्चेर
हिमाल तिमी माया लिई
तराई पहाडमा खुलिराख है ।

आगो, बारूद, धराप पन्साउँदै
नेपाली दाइ/भाइको फाटोमा
हत्या, हिंसा कोलाहललाई भुलेर
नयाँ बुद्ध तिमी शान्ति लिई
नेपाली मुटुमा फुलिराख है ।

( ताप्लेजुङ, नेपाल )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.