~परशुराम श्रेष्ठ~
हे नारायण विश्वरुप भगवान् संसारका मालिक ।
चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।।
नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो ।
दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।।
हे दामोदर मुरारी भगवान गोपाल हे केशव ।
हे गोविन्द मधुसुदन प्रभु हरे हे कृष्ण हे माधव ।।
चतुरभुज स्वरुप छिपाई नरमा मानिसको रुप धरी ।
दुष्टै जनहरु मारी साधु जनको संकट सारा हरी ।।२।।
यस्ता श्री प्रभुलाई दिन्दिन सदा अत्यन्तै भक्ति धरी ।
गर्छु बिन्ती सदा प्रभु हजुरको केवल चरणमा परी ।।
यस्ता श्री प्रभुको खटन हुन गई यो गर्भको बास लिएँ ।
दस मैना तक दुःख कष्ट सहदै यो जन्म लिंदो भएँ ।।३।।
मानिस जन्म लिएँ बडो कठिनले यो मत्र्ये लोकै महाँ ।
आमाबुबा थिए उसै बखतमा छोडेर गैगो कहाँ ।।
वालै काल महाँ सवैसंग तहाँ खेलेर भुल्दो भएँ ।
दुःखै सुखहरु भोगी क्यै दिन पछि यौवन अवस्था भएँ ।।४।।
जीवन साथी मिल्यो कुनै दिन पछि कृपा प्रभुको भई ।
प्रेममा भुलियो बहुत दिन तलक उनकै संगैमा रही ।।
माया गर्दथिन् मलाई बहुतै मनमा दया भै अति ।
माया मै पनि गर्दथें खुसी भई, उन्ले गरेकै जति ।।५।।
जीवन साथी थिई दयालु बहुतै माया सवैमा गरी ।
पालन पोषण गर्दथिन् ती सवमा अत्यन्तै तन्मन धरी ।।
मायाका बीचमा भुल्यौ अलिक दिन उन्कै बसैमा परि ।
सन्सारी सुखमा डुल्यौ अलिक दिन माया सवैमा गरी ।।६।।
कहीं जानु परे मलिन मुख गरी रुन्थिन् उदासी भई ।
हाँसी चित्त बुझाई दिन्थें मइले उन्कै नजिकमा गई ।।
पुत्रै दुई भया उसै उदरमा पुत्री दुवै ती भये ।
हर्षै हर्ष भयो उसै बखतमा सन्ताप मनको गये ।।७।।
खुसी साथ बित्यो दिन पनि तहाँ दुखै परेता पनि ।
चालिस बर्ष बित्यो दिनै पनि तहाँ हाँ पुत्रपुत्री भनी ।।
दुःखैदःुख परे पनि सुखैसंग बित्दै गए ती दिन ।
छोरा छोरीहरु लिएर संगमा बस्थ्यौं खुसी भै कन ।।८।।
(Exert from Pilgrimage and Elegy Poem Written by our Grandfather Mr. Parashu Ram Shrestha on the memory of our Grandmother Late Mrs. Ghana Kumari Shrestha 21 years back)
(स्रोत : लेखकपुत्रको ब्लगबाट सभार)