~बूँद राना~
गाई बाख्राहरुमाथि खुनी पञ्जा डामी ।
हेर आज चितुवाले ओढ्यो रामनामी ।।
जलथल चर्ने भ्यागुताको उर्दी हो यो–
‘गड्यौँलाले हिँडनु हुन्न माटो छामी–छामी ।।’
‘ठूलाठालुहरुलाई पुज्नु पर्छ’ भन्दै ।
भुद्रुङले चढाउँछ गिद्धमा सलामी ।।
मुनाल र मजुरको देखी लालजोडी ।
त्यो चमेरो कैले बोक्सी कैले धामी ।।
बल्लतल्ल उफ्री हिँडने फटेङ्ग्रोले भन्छ–
परेवाको तुलनामा मै छु अग्रगामी ।।
डकारेर माछोलाई दोष दिन्छ गोही–
झुक्याएर पेटभित्र पसेछ हरामी ।।
मुखभरि रगत छ भन्छे कुखुरीले–
ब्वाँसोलाई कसरी म भनूँ शान्तिकामी !।।
चितुवाको सेखी झार्न भन्छ खरायोले–
मर्नु परे लडी मर्छु सहन्न गुलामी ।।
गम्भीर भै भन्नु प¥यो आज नेपालीले ।
जीवजन्तुहरु माझ कहाँ छौँ त हामी ?
गन्हाएर सेरोफेरो बस्नु खानु छैन ।
कति कुर्छौ लासलाई भन है मलामी !।।