कथा : दृश्यान्तर

~महेश पौड्याल~

उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र गल्लीहरू प्रसस्तै छन् । कहिलेकाहिँ त पुरानै मान्छे पनि अल्मल्लिने सम्भावना हुन्छ ।

तरकारी बजारका वरिपरि, बसपार्कमा, मितेरी अस्पतालको प्राङ्गणमा, मन्दिरका छेउछाउ : हो जताततै देखिन्थिन् उनी । कहिले पर्खालका आडमा लुकेर रुँदै गरेकी, कहिले बसपार्कमा आँसु पुछेर लोकका अगाडि मुस्कुराउने प्रयार गरिरहेकी । उनका ओठ कलेँटी परेका थिए, कुर्कुच्चा चुर्चरी चिरिएका, जवानीमै गाला चाउरी परेका, ती चाउरीहरूकाबीच सुकेको आँसुका धाराहरूका थेग्रा स्पष्टै देख्न सकिन्थ्यो । ठाउँ–ठाउँमा च्यातिएर धुजाबाती भएका लुगा, छाला घोटिएर कालै भएको कुहिनाहरू, फुटेका ओठका धाँजाहरूमा दुःखका असङ्ख्य कारुणिक बिम्बहरू छरिएका स्पष्टै देखिन्थे ।

आज लक्ष्मीपूजाको रात । सहर मैन र रङ्गीचङ्गी बिजुलीबत्तीले प्रदीप्त । मणिपुरतिर त लक्ष्मीपूजा नगरी भैली खेल्नु हुँदैन भन्थे । हामीहरू भैली खेल्न जाँदा सँघारबाटै लक्ष्मी पूजेको–नपूजेको सोधेर मात्रै प्रवेश ग¥थ्यौँ । यहाँ काठमाडौँमा त दिउँसैदेखि सुरु हुँदो रहेछ देउसे–भैलेको ताँती छुट्ने क्रम् । हुन त चालचलन र परम्परा ठाउँ अनुसार भिन्न हुन्छ ।

एक हुल भैले आएर आँगनमा बसे । दिउँसोको चार बजेको हुँदो हो । बाहिरै उज्यालै थियो । आकाशमा एक जुवाजति घाम अझ बाँकी नै थिए । भैलेले मौखिक एकदुईवटा गीत गाएपछि क्यासेट प्लेयरको तार जोडे र मस्तसँग पपगीतमा नाच भर्न थाले । उनीहरूलाई कतिको लाज लाग्यो त्यो दैव जानोस्, तर हामीहरू भने देउसीभैलीका निहुँमा हाम्रो मौलिक संस्कृतिको यो विभत्स हत्या देखेर केही लज्जित भयौँ, र केही क्रोधित पनि । परिवर्तन आउनु पर्छ, त्यो जायज कुरा हो । तर त्यो वेलगाम हुनु हुन्न, त्यो पनि सर्वमान्य मान्यता हो ।

दुई–चारवटा पप गीत बजे । हामीले चाहेर पनि ध्यान दिन सकेनौँ । हामी पप गीत विरोधी हैनँैं, तर देउसीभैलीको न्यूनतम् मर्यादा पनि नरहने गरी बजेका बेमैसमी बाजालाई स्वागत गर्न सकिएन, त्यो पप होस् कि सप् होस् ।

घरबेटीले भैलीमा ध्यान नदिनु उनीहरूबाट त्यति प्रभावित नहुनु हो, र भैलीबाट घरबेटी प्रभावित नहुनु भैनेको भैलेका लागि निकै ठूलो चोट हो । सायद उनीहरूमध्ये कसैलाई यो कुराको भान परेको हुन सक्छ, “मोहनी लाग्ला है गाउँलेको बोलीले” भन्ने गीत बजाइयो । स्वभाविकरुपले त्यहाँको माहौलमा केही परिवर्तन आयो । हामीले पनि आनन्दको अनुभूति ग¥यौँ ।

गेटमा बसेर भैलो नियालिरहेकी उनी सुस्त–सुस्त भित्रतिर घुस्रिइन् । आज उनको ललाटमा एउटा दुर्लभ प्रकृतिको खुसी टल्किइरहेको थियो । निधारमा घामजस्तै गोलाकारको ठूलो रातो टिको, सिउँदोभरी लालीगुँरासले पाखा ढकमक्क ढाकेजस्तै सिन्दूर, गलाभरी साउनमा लहराउँदै गरेका धानका गाभा जस्तो लहलह पोते, आङ्मा चौबन्दी र फरिया । हिँजो–अस्ति देखिएकी उनी र आजकी उनीमा आकाश–जमीनको फरक थियो ।

उनी डराउँदै भित्र पसिन्, र आँगनको एक कुनामा उभ्भिइन्, भर्खरै चिर्पट खाएको कुकुरजस्तै भयभीत् । उनलाई सायद थाहा थियो, गाउँका सभा–समारोहमा र सुखद मुहूर्तहरूमा उनको उपस्थितिलाई स्वागत गरिँदैन ।

गीत गुञ्जँदै गयो । नाच्नेहरू नाच्दै गए । मैले नाचभन्दा बडी चासो उनको प्रतिक्रियामा दिएँ । विना अवरोध भित्र प्रवेश पाएकोमा उनी दङ्ग थिइन् र अचम्भित पनि । उनका आँखाबाट हर्ष प्रज्वलित् भैरहेको देखिन्थ्यो । उनले ओठभरी लाली पनि लगाएकी रहिछन् । उनका आँखा र अनुहारहरूको बाटो बिर्सिएको खुसी आज वापस आएको उनको अनुहारमा बस्दा उनको सम्पूर्ण जीवन नै साँच्चै सुन्दर देखियो ।

मैले उनलाई अझ ध्यानपूर्वन नियालँे । गीतको बोलसँगै उनका ओठ फर्फराइरहेका थिए । ती ओठको फरफराहट र गीतको बोलमा अचम्मको तदात्म्य थियो । वास्तवमा उनलाई त्यो गीत कण्ठै थियो । सँगसँगै उनको जिउ गीतको तालसँगै झुम्दै गरेको आभास पनि सबैले पाए ।

गीत सकियो, र फेरि भैलेहरू पपमा फर्किए । उनको अनुहारमा पुनः सधैँको जस्तै विषाद दृष्टि फर्कियो । बसन्त पछि तुरन्त शिशिर … माझमा लामो शून्यता, कति नसुहाउँदो ! मैले भैलेलाई आग्रह गरेँ, “फेरि एकपल्ट मोहनी लाग्ला है ” नैँ बजाउनुहोस् न । उहाँ दिदीको नाच हेरौँ । ”
घरबेटीको आग्रहलाई भैलेले काट्नु हुँदैन । यो देउसीभैलोको अघोषित नैतिकता हो । बज्यो गीत । उनी उठिन र नाच्न थालिन् ।

कस्तो सजीव नृत्य ! जीवन्त नाच । शिवको ताण्डवमा पनि थिएन होला यो सजीवता । मैले धेरै नाचहरू हेरेको छु जीवनमा । विश्वप्रख्यात मणिपुरी, कथाकली, कुचिपुडीदेखि लिएर हाम्रै मारुनी, च्याब्रुङ्, सोरठी, कौडा, धाननाच, बालनलगायत थुप्रै नाच । तर कुनै पनि वर्गमा नपरेको त्यो नाचलाई मैले “जीवननाच” भन्नुभन्दा पृथक अन्य कुनै नाम जुराउन सकिनँ । ती ओठहरूमा लयबद्ध फरफराट, ललाटमा आनन्दको अभाष्य आभा, मन्द मुस्कानमा लोहित् गाला, हातगोडामा श्रष्टिको आदिम उत्तेजना । हेर्नेहरू हेरेकहेरेइ भए ।

गीत सकिन लागेको थियो । उनी एक्कासि रोक्किइन, र स्याँ–स्याँ भएको स्वरमा मलिन रुपले भनिन्, “गीत बन्द नगर ल, म आज धेरै नाच्छु ।”

गीत सकियो । फेरि देहो-याइयो । फेरि सकियो । फेरि देहो-याइयो । नाच जारी रह्यो । समय र अन्तरिक्षको व्यापकतालाई निरीह तुल्याउने त्यो असीमित उर्जामा ब्रह्माण्डको गतिनै स्तब्ध होला कि जस्तो प्रतीत हुन्थ्यो । त्यो नाचमा कुनै नटराजको केही जोर नचल्ने प्रष्ट थियो । अन्य नाचहरूमा कला होला, यस नाचमा जीवनको गतिलाई उसको स्वभाविक धावनमार्गबाट अन्यत्र मोड्न सक्ने दृढ इच्छाशक्ति र दम थियो ।
भैलेहरू सायद केही भन्न चाहन्थे । तर घरबेटीलाई नृत्यमा ध्यानमग्न देखेर केही बोल्न सकेनन् ।

निकैबेरसम्म निर्वाद नाचेपछि टक्क रोक्किइन उनी, र हृदयको गतिलाई थाम्न नसकी भैँमा लडिन् । केही ले उठाए र बसाए । उनी घोप्टो परिन् र केहीबेर उँधोमुण्टो लगाएर बसिरहिन् । हामी र भैलेहरू स्तब्ध भयौँ, र भयभीत पनि । केहीबेर पछि उनले टाउको उठाइन र भनिन् , “भोलि त तिहार सिद्धिन्छ हो?”
“अँ,” समूहिक जवाफ ।

अनि एक्कसि उनले डाँको छोडिन् । केही भैलेहरू छेउमा गएर सम्झाउन थाले । म पनि छेउतिरै तान्निए ।
“अनि त यसरी नाच्न पाइँदैन । ”

हामीले मुखामुख ग¥यौँ । सबैका अनुहारमा विषाद दृष्टि । सबैभित्र एउटा अनौठो प्रकृतिको सहानुभूति ।
“किन र ? नाच्नलाई तिहारै चाहिन्छ र?” कसैले सोध्यो ।

“अरुबेला नाच्दा मलाई सबैले कुट्छन् ।”

आसूँ बगि नै रहे । उनले गुन्यू माथि तानेर असङ्ख्य सुम्ला र डामले भरिएका तीघ्रा देखाइन् । चोलोका बाउला पनि तानिन् । त्यहाँ पनि निकै देखिए क्रूर डामहरू ।

कसैका मुख खुलेनन् । सबैको बाक्के रोकियो । केवल ती आँसूहरूको निर्वाद वहावमा तरङ्ति अव्यक्त कथामा अर्थ खोजिरहे उनीहरूले । एकछिन भए पनि नृत्यको आडमा कालो यथार्थबाट उम्कन चाहान्थिन उनी । एकछिन भए पनि बाँचेको अनुभूति गर्न चाहान्थिन उनी । तर शरीरको उर्जा सकिए पछि, र मुटुले आदेश दिए पछि क्रूर यथार्थका निष्ठूर पाउमा बज्रिन बाध्य भइन् अनि फेरि उही “बहुलाई” को बर्को ओढेर त्यहाँबाट हिड्न बाध्य भइन ।

काश, यो समयको अवधि त्यही नाचजति मात्रै भएको भए……..
.
भोलिपल्ट मैले फेरि देखेँ उनलाई, मितेरी अस्तपालको पर्खाल छेउ बसेर आकाशतिर हेरिरहेकी । उही विभत्स शरीर, उही थकित् अनुहार र उही विषाद दृष्टि । वरिपरी धेरै “मानिस” हरू थिए, म पनि थिएँ । सबै आ–आफ्नै सूरमा व्यस्त । मानिसहरूमाझ “मानिस” भेट्टाउन असमर्थ उनका आँखाभने माथि आकाशमा उडिरहेका बादलमा टुक्राहरूसित साक्षात्कार गरिरहेका थिए ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.